News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मीलाई छैटौं वार्षिक साधारण सभामा सम्मान गरेको छ।
- प्रसिद्धले एसिसी यु–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन ६ खेलमा २४६ रन प्रहार गरी महत्वपूर्ण भूमिका निभाएका थिए।
- संघले वर्षभरि ६ कार्यक्रम आयोजना गरेको र विभिन्न छनोट तथा कोर्सहरू सफलतापूर्वक सम्पन्न गरेको अध्यक्ष दिवाकर घलेले बताउनुभयो।
२१ साउन, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित गरेको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारण सभाका दौरान उनीहरूलाई सम्मान गरेको हो ।
काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतकसहित २४६ रन प्रहार गरेका थिए ।
सोहि अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । प्रसिद्ध र कृष्माले दुवैले समान जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले सम्मान गरेका थिए ।
अध्यक्ष घलेले संघले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताए ।
संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यु–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यु–१६ इस्ट जोन कप छनोट), आइसिसी यु–१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको थियो ।
प्रतिक्रिया 4