
News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका मागपत्र प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार अनलाइन पोर्टलबाट हेर्न मिल्ने व्यवस्था मिलाएको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसंसार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो जसले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण गर्ने विश्वास विभागले जनाएको छ।
- वैदेशिक रोजगार ऐन अनुसार पूर्व स्वीकृति प्राप्त भएपछि कम्तीमा सात दिनको अवधि दिएर विज्ञापन राष्ट्रियस्तरको दैनिक पत्रिका र वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
२३ साउन, काठमाडौं । अबदेखि मेनपावर कम्पनीहरूले गर्ने पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार अनलाइन पोर्टलबाटै हेर्न सकिने भएको छ ।
वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका डिमाण्डहरू मागपत्र प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाट हेर्न सकिने व्यवस्था मिलाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसंसार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । मागपत्रहरू त्यसमा राखेपछि सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण हुने विभागको विश्वास रहेको छ ।
हाल केही सामाजिक सञ्जालबाट अनधिकृत रूपमा वैदेशिक रोजगारका डिमाण्डसम्बन्धी विज्ञापन गरेर भ्रम सिर्जना गर्ने गरेको देखिन्छ ।
विभागले सरकारी संयन्त्रबाट प्रकाशित/प्रसारित सूचना यकीन गरेर मात्र वैदेशिक रोजगारीको आवश्यक प्रक्रिया सुरुआत गर्नका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । सरकारी संयन्त्रको प्रयोग गरेर जानकारी लिएको अवस्थामा सम्भावित ठगीबाट बच्न सकिने विभागले जनाएको छ ।
विभागका निर्देशक टिकाराम ढकालले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले विदेशस्थित रोजगारदाताबाट प्राप्त मागपत्र नेपाली राजदूतावासबाट प्रमाणीकरण गरी विभागबाट पूर्व स्वीकृति लिइसकेपछि मागपत्रको विवरण श्रमसंसार पोर्टलबाट पनि हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको बताए ।
वैदेशिक रोजगार ऐन अनुसार पूर्व स्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिएर नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
मेनापावरले माग गरेअनुसार विभागले पूर्व स्वीकृति प्रदान गरेपछि त्यसको लिंक स्वचालित रूपमा श्रमसंसार पोर्टलमा जानेछ । श्रम संसारलाई नागरिक एपमा समेत आबद्ध गराएको छ ।
प्रतिक्रिया 4