+
+
Shares

मापदण्ड विपरीतका २७१ खानेपानी जार नष्ट

एक साता अवधिमा विभिन्न क्षेत्रमा गरिएको अनुगमन क्रममा मापदण्ड विपरीतका २ सय ७१ थान जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १४:०७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोग जोखिम न्यूनीकरणका लागि प्रशोधित पिउने पानीको जार अनुगमन तीव्र बनाएको छ।
  • महानगरले असार र साउन महिनामा ४ सय ५६ मापदण्ड विपरीतका जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिएको छ।
  • पानीको गुणस्तर सुनिश्चित गर्न नमुना प्रयोगशालामा पठाइएको र कम्पनीहरूलाई मापदण्ड पालना गर्न कडा निर्देशन दिइएको छ।

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जार अनुगमन तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमन तीव्र बनाएको हो ।

एक साता अवधिमा विभिन्न क्षेत्रमा गरिएको अनुगमन क्रममा मापदण्ड विपरीतका २ सय ७१ थान जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै महानगरले असार र साउन महिनामा गरी १ सय ३९ गाडीबाट ४ सय ५६ थान जार बरामद गरी नष्ट गरेको छ ।

साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशाला पठाइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल-चुच्चेपाटी, माछापोखरी-बालाजु, कोटेश्वर लगायत स्थानमा अनुगमन गरेको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।

‘हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिम मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौं, मापदण्ड विपरीतका जारले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ,’ न्यौपानेले भने,  ‘त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौं ।’ उनका अनुसार जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।

विभागले २० साउनमा काठमाडौं महानगरपालिका–१४ बल्खु क्षेत्रमा गरिएको अनुगमन क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारीसाधन जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जार कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए ।

त्यसैगरी २१ साउनमा वडा नम्बर ७ चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ सवारीसाधन अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जार बरामद गरिएका थिए । ती जार पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जार भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

त्यसैगरी २३ साउनमा वडा नम्बर १६ माछापोखरी–बालाजु क्षेत्रमा २० सवारीसाधन अनुगमन गरिएको थियो । यस अनुगमनमा ६८ वटा जार मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको महानगरले जनाएको छ ।

१८ साउनमा वडा नम्बर ३२ कोटेश्वर क्षेत्रमा १५ सवारीसाधन अनुगमन गर्दा ७७ वटा मापदण्ड विपरीतका जार बरामद गरिएका थिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

अनुगमन क्रममा मापदण्ड विपरीत जार बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारीसाधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभाग प्रमुख न्यौपानेले बताएका छन् ।

नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने उनको भनाइ छ ।

यस्तै फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको गुणस्तरबारे भन्छन्, ‘प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ, हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौं । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’

आगामी दिनमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ ।

विशेषगरी बल्खु, कालीमाटी र टंकेश्वरजस्ता क्षेत्रमा विगतमा हैजा रोगका बिरामी भेटिएकाले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाइ छ ।

महानगरले जारमा राखिएको पानीलाई वर्षायाममा विशेषगरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?