
५ भदौ, काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालय भित्रबाटै दैनिक अनुगमन हुने भएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदबारभित्रै बनिरहेको संघीय संसद भवन, नवलपुर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरुलाई मन्त्रालयको कोठाभित्र बसेर अनलाइनमार्फत् प्रत्यक्ष अनुगमन गर्न सकिने छ ।
अनलाइनमार्फत अनुगमन गरे पनि भौतिक अनुगमनको कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अनलाइन अनुगमन कक्ष उदघाटन गरे । सो क्रममा उपप्रधानमन्त्री सिंहले आयोजनाहरुको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न अनलाइन अनुगमन कक्षबाट सहज हुने विश्वास व्यक्त गरे । ‘शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरु समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु,’ मन्त्री सिंहले भने ।
उपप्रधानमन्त्री सिंहले अनुगमनका लागि फिल्डमा जाने पुरानो शैलीसँगै कामलाई सहज बनाउन र समस्याहहरु तत्कालै हल गर्न प्रविधिको प्रयोग गरिने बताए ।
उनले शुरुबाट नै गम्भीर रुपमा अनुगमन गर्दै दिइएको निर्देशन पालना गरे समयमा काम सक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अनुगमन कक्ष औपचारिकता मात्र नभएर समयमा काम सम्पन्न गराउन यसको अधिकतम उपयोग गरिनुपर्नेमा पनि उपप्रधानमन्त्री सिंहले जोड दिए ।
मन्त्रालयका सचिव गोपाल सिग्देलले आगामी दिनमा अरु आयोजनाहरु पनि अनलाइन अनुगमन प्रणालीमा जोडिने बताए ।
प्रतिक्रिया 4