
२९ साउन, काठमाडौं । अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिएका छन् ।
नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सन/एनप्याब्सनले आन्दोलन घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर दिएको हो ।
संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन । विद्यालय बन्द नगरियोस् ।
संघले विद्यालय बन्द गरेर गरिने कुनै पनि आन्दोलनप्रति असहमति रहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो हुन नदिन सरोकारवालाको ध्यानाकर्षण पनि गराएको छ ।
विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ भने प्याब्सन/एनप्याब्सनले आजैदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
आन्दोलनका कार्यक्रम घोषणा भए पनि अहिले नै विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम भने तय भएका छैनन् । त्यसअघि नै वक्तव्य जारी गर्दै अभिभावक संघले उक्त अवस्था आउनै नहुने भन्दै चेतावनी दिएको हो ।
प्रतिक्रिया 4