+
+
Shares
बागमतीका प्रदेश सांसद तामाङ :

गतवर्ष शपथ खानै लाग्दा मन्त्री खोसियो, अहिले बाजी मारे

मुखैमा आएको मन्त्री पद गुमाएको ठिक एक वर्षपछि उनै तामाङ शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । उनको एक वर्ष पुरानो घाउमा नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मल्हम लगाइदिए ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ भदौ १ गते २०:५५

१ साउन, हेटौंडा । रसुवाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सांसद प्रभात तामाङका लागि गत वर्षको साउन महिना खासै सुखद थिएन । १३ साउन २०८१ मा उनी मन्त्री नियुक्त भएका थिए । तर, प्रदेश प्रमुख कार्यालयमा साँझ ५ बजे तय भइसकेको शपथ लिनबाट उनी बिमुख बने । त्यसको ठिक एक वर्षपछि उनै तामाङ शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । तामाङको एक वर्ष पुरानो घाउमा नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मल्हम लगाइदिए ।

तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले एक वर्षअघि सांसद तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको नियुक्ति दिएका थिए । तामाङ बानियाँकै सिफारिसमा मन्त्री नियुक्त भएका थिए । तर, कांग्रेसभित्रको अन्तरसंघर्षले उनले शपथ खान पाएका थिएनन् ।

तामाङ प्रदेशसभाको अघिल्लो कार्यकाल पनि प्रदेशसभा सदस्य थिए । पहिलो कार्यकालमा दुई वर्ष अर्थ तथा विकास समिति र तीन वर्ष सार्वजनिक लेखा समितिको सदस्य भएर उनले काम गरेका थिए ।

२०७९ मंसिरमा तामाङ फेरि सांसद निर्वाचित भए । शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुँदा दल नेता बहादुरसिंह लामा आफैं आर्थिक मामिलामन्त्री भए ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै १७ असार २०८१ मा एमालेसँग नयाँ गठबन्धन बन्यो, बागमतीको नेतृत्व कांग्रेसको भागमा पर्‍यो ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा मुख्यमन्त्री बन्ने भएपछि तामाङले आर्थिक मामिलामन्त्री बन्ने चाहना राखे ।

‘मैले पहिलो कार्यकालमा प्रदेशको आर्थिक अवस्थालाई बुझ्न पाएकाले आर्थिक मामिलामन्त्री हुन खोजेको थिएँ । मन्त्री नियुक्त भएर पनि शपथ लिन पाइनँ,’ तामाङले अनलाइनखबरसँग भने ।

मन्त्री बन्नबाट यसरी रोकिएका थिए तामाङ

९ साउन २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका बहादुरसिंहले लामाले एमालेबाट ६ र कांग्रेसका तीन मन्त्री नियुक्त गरे ।

दुई दलको भागबण्डाअनुसार एमालेबाट मन्त्री भएकाहरूको जिम्मेवारी तोकेका उनले कांग्रेसका मन्त्रीहरुलाई जिम्मेवारी दिएनन् ।

कांग्रेसबाट काफ्लेसँगै श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठ विनाविभागीय मन्त्री बनेका थिए । १० साउनमा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्दै लामाले मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाटै सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी र मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

नवनियुक्त मन्त्रीहरूको शपथ त्यसै दिन ५ बजे तोकिएको थियो । शपथ समारोहमा सहभागी हुन सभामुख भुवनकुमार पाठक, प्रदेशसभा सदस्य र सचिवहरू प्रदेश प्रमुख कार्यालय पुगिसकेका थिए । तर नयाँ मन्त्रीहरू नआइपुग्दै शपथ बिथोलियो ।

कांग्रेसबाट मन्त्री बनेका कुन्दनराज काफ्लेले सामाजिक विकास मन्त्रालय लिन मानेनन् ।

उनले तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सपथ रोकिदन आग्रह नै गरेको शर्माको सचिवालय स्रोतले अनलाइनखबरसँग बताएको छ ।

‘प्रदेश प्रमुख कार्यालयमै आएर उहाँले आर्थिक मामिला चाहिने भन्दै शपथ कार्यक्रम नगराउन आग्रह गर्नुभएको हो,’ स्रोतले भन्यो ।

त्यसको दुई दिनपछि मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् विस्तार गरे, जसमा कुन्दनले रोजेकै आर्थिक मन्त्रालय पाए । प्रभात तामाङलाई रोकेर हरिप्रभा खड्गी मन्त्रिपरिषद्‌मा प्रवेश गरिन् ।

खड्गीले यसअघि कुन्दनलाई दिइएको सामाजिक मन्त्रालय पाइन् भने कुन्दनले तामाङको आर्थिक मामिला मन्त्रालय खोसे । मुख्यमन्त्री लामाले खानेपानी मन्त्री बन्न गरेको आग्रह तामाङले अस्वीकार गरेका थिए ।

बानियाँ र लामामा मिलेको एउटा संयोग

बहादुरसिंह लामाको नेतृत्व कमजोरीका कारण तामाङ मन्त्री बन्नबाट रोकिएपछि असन्तुष्ट बनेका बानियाँ शपथको कार्यक्रममा उपस्थित नै भएनन् । बानियाँसँगको त्यो संयोग लामाको हकमा अहिले मिलेको छ । नेपाली कांग्रेस बागमती प्रदेशको एक वर्षमा उथलपुथल भयो । यही साउनमै लामालाई दलको नेता र पछि मुख्यमन्त्रीबाट हटाएर बानियाँ दलको नेता र मुख्यमन्त्री बने ।

त्यतिबेला रुष्ट बानियाँ शपथमा नआए जस्तै अहिले आफ्ना ३ सांसदलाई मन्त्री नबनाएकोले असन्तुष्ट बनेका लामा शुक्रबारको सपथ कार्यक्रममा उपस्थित भएनन् ।

गत २० साउनमा मुख्यमन्त्री बानियाँको शपथमा भने लामा उपस्थित थिए । हात मिलाएर बधाई पनि दिए ।

अनियमित र त्रुटिपूर्ण बजेट सच्याउँछुः मन्त्री तामाङ

नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट सच्याउने बताएका छन् ।

मन्त्रीमा पदभार ग्रहणपश्चात् अनलाइनखबरसँग मन्त्री तामाङले चालु आवको बजेटमा देखिएका समस्या समाधान गर्नेगरी बजेट सच्याउने बताए । ‘चालु आवको बजेटमा त्रुटि छन् । ती त्रुटिहरूलाई सबै दलसँग बसेर कानुनअनुसार परिमार्जन गर्नेछौं,’ तामाङले भने ।

प्रदेशभित्रको कार्यान्वयन इकाइहरूको पुनर्संरचना गर्दै चालुतर्फको दीर्घकालीन असर पर्ने खालको दायित्व कटौती गरिने उनको भनाइ छ ।

‘प्रदेश सरकारलाई आर्थिक रूपमा सबल बनाउने र जनताले चाहे जस्तो विकासको लक्ष्य पूरा गर्नेगरी काम गर्नुपर्छ,’ उनले भने ।

आर्थिक अनियमिततालाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने आफ्नो उद्देश्य रहने मन्त्री तामाङले बताए ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?