News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा प्रदेशसभा सञ्चालनमा अन्यौलता देखिएको छ।
- सभामुख पदमा सहमति नभएसम्म प्रदेशसभा बस्ने छैन भन्ने संवैधानिक प्रावधान अनुसार सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिनुभयो।
- प्रदेशसभा सचिवालय भवन र नवनिर्मित सभाहल जेनजी प्रदर्शनका क्रममा आगलागीबाट पूर्ण क्षति पुगेपछि नयाँ बैठक स्थलबाट सभा सञ्चालनको तयारी भइरहेको छ।
२४ कात्तिक, हेटौंडा। बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा प्रदेशसभा सञ्चालनमा अन्यौलता देखिएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो। सभामुखमा तीन दलले नै दाबी गर्दै आएका छन् । तीन दलकै संसदीय दलको बैठकले औपचारिक निर्णय गरेर सभामुखमा दाबी गरेका थिए ।
जेनजी प्रदर्शन चर्किएकै समयमा २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त छ । पाठक दलीय भागबण्डाका आधारमा राप्रपाबाट सभामुख बनेका थिए । उपसभामुख एमालेकी अप्सरा चापागाईं बनेकी थिइन् ।
नेपाली कांग्रेस र एमालेबीच गत असोज अन्तिममा भएको संयुक्त संसदीय दलको बैठकमा नै सभामुख चयनका विषयमा औपचारिक संवाद भएको थियो। उक्त बैठकमा कात्तिक पहिलो हप्ताभित्रै प्रदेशसभा सञ्चालन गरेर सभामुख चयन गर्ने सहमति भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।
प्रदेशसभा बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । आर्थिक मामिलामन्त्री तामाङले सभामुख पदमा सहमति भए लगत्तै प्रदेशसभा सञ्चालन हुने जानकारी दिए। ‘सभामुखमा सहमति भएको छैन। त्यो टुंगिएपछि प्रदेशसभा बस्छ ।’ उनले भने ।
मन्त्रिपरिषद्मा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले कांग्रेस र एमाले दुवै दलको राजनीतिक व्यस्थताका कारण सभामुखमा सहमति गर्न ढिलाई भइरहेको बताए । उनले प्रदेशसभाको भवन जेनजी प्रदर्शनका क्रममा क्षति भएकाले नयाँ बैठक स्थल व्यवस्थापनमा ढिलाई भएकाले पनि बैठक बस्न नसकेको बताए।
कांग्रेस प्रदेश सभाको ठूलो दल भएको र एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने भएकाले सभामुख पदमा दाबी गरिएको कांग्रेसका एक मन्त्रीको दाबी छ । एमालेले भने हाल सरकारको नेतृत्व कांग्रेसले गरिरहेको र उपसभामुख अप्सरा चापागाईंलाई सभामुख बनाएर जान सकिने प्रस्ताव अगाडि सारेको छ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सदन सञ्चालन गर्न सरकार बाहिरको दललाई दिनुपर्ने तर्कसहित सभामुख पदमा दाबी गरेको प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । माओवादीलाई सभामुख नदिए सरकारलाई प्रतिपक्षको रुपमा पुर्याउन सकिने रचनात्मक सहयोग प्राप्त नहुने पनि ढकालले चेतावनी दिएका छन्।
‘संविधानको रक्षा र लोकतन्त्र बचाउन तीन दल मिल्नुपर्छ । माओवादी सरकारमा जाँदैन। त्यसो हुँदा सभा सञ्चालनको जिम्मेवारी हामीले पाउनुपर्छ । नत्र सरकारलाई सहयोग हुँदैन।’ उनले भने।
बागमती प्रदेशसभाको छैठौं अधिवेशनअन्दर्गत गत १७ भदौपछि बैठक बसेको छैन। २४ भदौमा जेनजी प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालयको भवन र नवनिर्मित प्रदेशसभा बैठक भवन दुवै आगलागीबाट पूर्ण क्षति भएको थियो । त्यस यता प्रदेशसभा अनिश्चित बनेको हो।
सरकारले हेटौंडा–२, स्थित हेटौंडा उपमहानगरपालिका पछाडिको सभाहलबाट प्रदेशसभा सञ्चालनको तयारी गरिरहेको छ । नवनिर्मित सभाहलमा पनि जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति पुगेको थियो।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरले १९ लाख लागतमा सभाहलको मर्मतसम्भार गरेको कार्यालयका इन्जिनियर राजन गौतमले जानकारी दिए । सभाहलमा कुर्सी र विद्युतीय उपकरणको व्यवस्थापन भएको छैन ।
प्रतिक्रिया 4