
३ साउन, विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा १० वर्षपछि पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जिल्ला अध्यक्ष अजम्बर राई र सचिव सोम थापा लगायतले स्वागत गरे । पार्टी प्रदेश नेतृत्वको निर्देशन अवज्ञा गर्दै उनीहरुले भण्डारीलाई स्वागत गरेका थिए ।
यद्यपि, पार्टी कार्यालय पाञ्चालीमा भण्डारी पुग्दा संस्थापन पक्षधरको सहभागिता थिएन । तर जिल्ला र महानगर नेतृत्वमा संस्थापन इतर भएकाले भण्डारीले खुशी भएरै फर्कने बातावरण बन्यो ।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले त स्वागतमा पूर्वराष्ट्रपति भण्डारीलाई गुलाफको फूल नै दिए । स्वागतमा पाएको गुलाफको फूललाई भण्डारीले शिरमा सिउरिइन् । र भनिन्, ‘सागरले माया गरेर दिएको लगाउन पर्यो ।’
अपमान सहेर अघि बढिन् विद्या
दुई दिने बसाइमा विराटनगरका नेताहरुबाट राम्रै सम्मान पाएकी भण्डारीको कुराकानी भने नेतृत्वबाट भएको अपमानसँग सम्बन्धित थियो। ‘मदन भण्डारीको व्यक्तिगत चरित्रमा आक्षेप लगाउने काम भयो,’ भण्डारीसँग भेटेपछि एमालेका एक नेताले भने,‘ आफैलाई नेता बनाएको मदन भण्डारी फाउन्डेशनलाई कमाइ खाने भाडो भएको आरोप लगाउनु भयो, यसले उहाँ (विद्या भण्डारी)लाई पिन्च परेको छ, अपमानित महसुस गर्नु भएको छ ।’
अध्यक्ष ओलीले अभिव्यक्तिको विषयमा भण्डारीले सार्वजनिक रुपमा बोलेकी छैनन् । तर भेटघाटका क्रममा नेताहरुसँग गुनासो गरिरहेकी छन् । सोमबार बेलुका एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग वान टु वान छलफल गरेकी थिइन् ।
‘अध्यक्ष ओलीज्यूको व्यावहारले अपमानित भएको महसुस गर्नुभएको रहेछ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘अध्यक्षको व्यवहारकै कारण राजनीतिमा फर्किएको भन्नु भएछ, अब पछि नहट्ने भन्नु भएछ ।’ कार्कीले भने भण्डारीलाई सक्रिय राजनीति फर्कने निर्णय सच्याउन सुझाव दिएका थिए ।
भण्डारीसँग भेट गरेका अर्का एक नेताका अनुसार विद्या भण्डारीसँग अध्यक्ष ओली डराएका छन् । आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफ्नोबाट क्लियर गर्न विद्या भण्डारीलाई रोक्ने पक्षमा छन्, जसका लागि केन्द्रीय कमिटीले सदस्यता नविकरण नगर्ने निर्णय गरिसकको छ । तर भण्डारी अब रोकिने पक्षमा छैनन् । अध्यक्ष ओलीले गरेको अपमानलाई व्यावहारबाटै जवाफ दिने भन्दै भण्डारी सक्रिय राजनीतिमा होमिएकी छन् ।
पार्टीले सदस्यता नविकरण नगर्ने निर्णय गरेपनि भण्डारी भने आफू ४५ वर्षदेखि पार्टीको सदस्य भएको दाबी गर्दै आएकी छन् । केन्द्रीय कमिटी बैठकको निर्णयप्रति अनविज्ञता प्रकट गर्दै मंगलबार उनले पार्टी सदस्यता नविकरण गरिसकेको बताइन् ।
‘अहिले पार्टीको विशेष जिम्मेवारीमा म छैन, तर राष्ट्रपतिबाट निवर्तमान भइसकेपछि मैले पार्टीको मेरो सदस्यता नवीकरण गरेको छु, ४५ वर्ष भइसक्यो म पार्टी सदस्य भएको,’ एमाले पार्टी कार्यालय पाञ्चालीमा जुटेकाहरुलाई सम्बोधन गर्दै उनले भनिन्,‘एउटा सुखद संयोग के छ भने, पार्टी सदस्य पनि म विराटनगरबाटै भएको, अनि सपथ पनि यहीँ खाएको र यहीँबाट २०४६ सालको जनआन्दोलनमा पनि भाग लिएको ।’
२०४६ सालको जनआन्दोलनपछि काठमाडौं फर्किएको बताएकी उनले राष्ट्रपतिको कार्यकालपछि राजनीतिमा फर्कदा कार्यकर्तालाई सम्बोधन गर्न पनि विराटनगरलाई नै रोजिन् । पार्टी संस्थापन पक्षको निर्देशन बिपरीत पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले पछि नफर्कने संकेत गरिन् ।
‘सबै हिसाबले विराटनगर, मोरङ चाहिँ हाम्रो गृह जिल्ला, प्रिय नगर जस्तो भएर जोडिएको छ ।’ उनले भनिन् ‘म नेकपा (एमाले) को संगठित सदस्य हो, त्यस्तो जिम्मेवारी चाहिँ विशेषै छैन ।’
‘यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ र फेरि राष्ट्रिय एजेन्डामा काम गर्नको लागि नेकपा (एमाले) नै उपयुक्त पार्टी हो भनेर फर्कें,’ उनले भनिन् ,‘म तपाईंहरूकै परिवारमा आबद्ध भएको छु ।’
प्रतिक्रिया 4