
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकता दिइएको बताएका छन्।
- जोशीले बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिमार्फत नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन ध्यान केन्द्रित गरेको बताए।
- डा. सुशील अवालेले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति र नीतिगत कमजोरीबारे विस्तृत तथ्यांक प्रस्तुत गरेका थिए।
५ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकता दिइएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपलिज मार्केटिङ एसोसिएसनका सचिव डा. सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधिको अनुसन्धानबारे छलफलमा बोल्दै सीईओ जोशीले यस्तो बताएका हुन् ।
‘बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ,’ उनले भने ।
पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडेलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सहित काम गर्दै आएको बताए ।
‘बोर्डले विगतमा रेजिलियन्स बिल्डिङ, रिभाइभल तथा एग्रेसिभ मार्केटिङ जस्ता रणनीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ,’ उनले भने, ‘बजार प्रवर्द्धन केवल प्रचार–प्रसारमा मात्र सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’
बोर्डले नेपाललाई ‘प्रिमियम भिजिटिङ डेस्टिनेसन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजना अघि सार्ने जोशीले बताए ।
पर्यटन बजारमा दीर्घकालीन प्रतिस्पर्धा गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको उनले बताए । जोशीले डा. अवालेको अनुसन्धानलाई सम्पत्तिका रूपमा राखिने र रणनीति बनाउन अध्ययन गरिने समेत बताए ।
सोही अवसरमा डा. अवालेले नेपालको पर्यटन आगमन, खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ र नीतिगत कमजोरी लगायत विषयमा विस्तृत तथ्यांक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले नेपालको पर्यटनलाई दिगो विकासको दिशामा अघि बढाउन अनुसन्धान अत्यावश्यक भएको बताए ।
प्रतिक्रिया 4