+
+
Shares

संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ : सांसद सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन्।
  • सापकोटाले निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको र यसले व्यवसायी र उद्योगी मात्र उम्मेदवार बन्न सक्ने अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन्।
  • उनले सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने जोड दिएका छन्।

८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताए ।

निर्वाचन प्रणालीलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी उनले दिए ।

‘प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा छ । यसमा सबै जातजाति, भाषाभाषिलाई समेत समावेश गरेर पूर्ण समानुपाति बनाउनुपर्‍यो,’ सापकोटाले भने, ‘वर्गीय, क्षेत्रीय, लैंगिकका कुरा साथै वित्तिय क्षेत्रका कुरा पनि आउन थालेको छ । अहिलेको निर्वाचन प्रणाली यति धेरै खर्चिलो छ ।’

वडा अध्यक्षका उम्मेदवारले मात्रै डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था अवस्था रहेको उल्लेख गर्दै उनले खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउनसक्ने बताए ।

त्यसप्रति सबै राजनीतिक दलहरू सजक हुन आवश्यक रहेको सांसद सापकोटाको भनाइ छ ।

‘वडा अध्यक्षले नै डेढ करोड खर्च गर्नुपर्ने छ । यसलाई नियन्त्रण गर्न सकिएन भने भोलिको दिनमा व्यवसायी र उद्योगीले मात्रै उम्मेदवारी दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसकारण हामीले समग्रतामा संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख बनाउनुपर्छ ।’

निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा सांसद सापकोटाको जोड थियो ।

‘अहिले सरकारले भन्छ यो गठबन्धन ०८४ सम्म जान्छ । जाओस् नत्र भने यो प्रणालीमै अविश्वास बढ्छ । हामीले अगामी दिनमा संविधान संशोधनमार्फत  पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाएर अस्थिरता हटाउने गरी अगाडि बढाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?