
प्रिय जेनजी पुस्ता, हृदयदेखि धेरै धेरै धन्यवाद। तिमीहरूले मेरो, हाम्रो, धेरैको आँखा खोलिदियौ। जब देख्नुपर्ने आँखामा बादल लाग्छ, सुन्नुपर्ने कानमा जाली लाग्छ र बुझ्नुपर्ने विवेकमा बिर्को लाग्छ, त्यही बेला हो बोल्नुपर्ने, टालिएको पर्दा खोल्नुपर्ने।
तिमीहरूको पुस्ताले जे गरेर देखाइसकेको छ, त्यसका लागि यो धन्यवाद अर्पण गरिरहेको छु। कतिपयले त बुझ्नै चाहेनन्, तिनलाई हार्दिक बिदाइ। धेरैले बुझ्ने कोसिस गरेर पनि बुझ्न सकेनन्, तिनलाई कठैबरा र जसले बुझेर पनि नबुझेझैं गरिरहेका छन्, तिनलाई समयको मिठो झापडले पक्कै सम्झाउनेछ।
नेपालको राजनीतिक इतिहासमा नयाँ पुस्ताको सार्थक प्रयास सधैं परिवर्तनको मूलप्रवाह बन्दै आएको छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरूलाई जेन-जी भनेर चिनिन्छ। हाल उनीहरू १३ देखि २८ वर्षका छन्। यो पुस्ता कम्प्युटर, ल्यापटप, ट्याब्लेट, स्मार्टफोन र तीव्र गतिको इन्टरनेटसँगै हुर्किएको छ। उनीहरूको जीवनशैली, सोचाइ र कार्यशैली परम्परागत पुस्ताभन्दा निकै फरक रहेछ।
नेपालमा २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि यो पुस्तालाई ‘जेनजी’ मात्रै भनेर सीमित गर्नु अन्यायपूर्ण हुनेछ किनभने यो देशको जिम्मेवारी लिन तयार भएको नयाँ पुस्ता हो। उनीहरूले देखाएको अदम्य साहसले नेपालको राजनीतिक परिदृश्यलाई नयाँ दिशा प्रदान गरिसकेको छ।
हिजोका दिनहरूमा जेनजी पुस्तालाई सुन्न वा बुझ्न नचाहने र बेवास्ता गर्नेहरू आज ‘प्रिय जेन-जी’ भनेर सम्बोधन गर्न थालेका छन्। दशकौं लामो राजनीतिक संघर्षबाट आएका दलका नेताहरू, निजी क्षेत्र, सरकारी कर्मचारीदेखि मजदुरसम्मले यो पुस्ताको साहस र पहिचानलाई नजिकबाट महसुस गरेका छन्।
यो पुस्ता अब आफ्नो गुणसहित देशव्यापी रूपमा परिचित भएको छ। पहिले यो पुस्तालाई देशप्रेम नभएको, विदेश पलायन हुने मानसिकता बोकेको, कक्रोच (साङ्ग्ला) देखेर डरले चिच्याउने कमजोर पुस्ताका रूपमा चित्रण गरिन्थ्यो। तर, अब ती धारणाहरू बदलिएका छन्।
जेनजी पुस्ताले भदौ २३ र २४ गते देखाएको आँटले पुराना धारणाहरूलाई परिवर्तन गरिदिएको छ। मलाई यो पुस्ता नजिकको र प्रिय लाग्छ। मेरो छोरोले यस वर्ष एसईई उत्तीर्ण गरेको छ। घरमा जेनजी पुस्ता छ। उनीहरूसँग संवाद गर्ने अवसर छ। यो पुस्ताले अधिकार र देशको परिवर्तनका लागि चालेको कदम तथा देखाएको साहसको म हृदयदेखि सराहना गर्छु।
आन्दोलनका क्रममा होस् वा त्यसपछि, मैले पटक-पटक यो पुस्ताको साहसको सम्मान गरेको छु। नातावाद, भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध आवाज उठाएर सुरु भएको प्रदर्शनहरूमा दर्जनौं युवाहरूले जीवन आहुति दिए। यसले युवा आवाज दबाएर, उनीहरूलाई ढालेर आफू उभिन चाहने हठी शासकलाई उठ्नै नसक्ने गरी ढालिदिएको छ। यो पुस्ताले हरेक घर, समुदाय र राजनीतिक दलहरूमा नयाँ बहस सिर्जना गरेको छ।
यो विद्रोहले विगतमा आफूसमेत संलग्न संघर्षका दिनहरू झल्झली सम्झिएँ। एउटा पुरानो तर चल्तीको कथाको याद आयो। एकपटक आफ्नो समुदायमा बिरालाबाट ठूलो क्षति भएपछि मुसाहरूको सम्मेलन भएछ। सम्मेलनले समुदायको मुख्य शत्रु बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने निर्णय गरेछ। यसो गर्दा बिरालो आएको थाहा पाइने र सबै मुसा बच्ने विश्वास थियो।
तर कसले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने? विचार त राम्रो थियो, तर कार्यान्वयन गर्ने साहस कसैमा थिएन। सबैले एकअर्कातिर मुखामुख गरे। अन्ततः बिरालोको घाँटीमा घण्टी झुण्डिएन। कथा त्यहीं सकियो। यो कथाले पुष्टि गर्छ चाहनाले मात्र हुँदैन, आँट र योजना पनिसँगसँगै अनिवार्य छ।
नेपालको राजनीतिक इतिहासमा पनि यस्तै भएको छ। हिजोको राजतन्त्रात्मक, सामन्ती र एकात्मक व्यवस्थामा अरूहरूले पनि जनाधिकारका कुरा त गर्थे, तर कार्यान्वयन गर्ने आँट कसैमा थिएन। बोल्नेहरूलाई राज्यले पक्राउ गर्ने, मुद्दा चलाउने, बेपत्ता पार्ने वा हत्या गर्ने गर्थ्यो। तर, नेकपा माओवादीले २०५२ साल फागुनमा राजतन्त्रको अन्त्य गरी जनतामा सार्वभौम अधिकार भएको समावेशी, विभेदमुक्त र जनमैत्री शासन व्यवस्था स्थापनाका लागि जनयुद्धको उद्घोष गर्यो। त्यतिबेला म सिन्धुपाल्चोक जिल्लाको कुविण्डे गाउँमा कक्षा ७ मा पढ्थें।
गाउँ गाउँमा संगठित भएका विद्रोही आवाजहरु दबाउन तत्कालीन हठी सरकारले गाउँलेहरूलाई जिल्ला सदरमुकाम लगेर यातना दिन्थ्यो। पक्राउ, बेपत्ता, हत्या हुन्थ्यो तर, साहसीहरू कहिल्यै झुकेनन्। त्यसको प्रभावले म पनि १४ वर्षको उमेरमा आन्दोलनको आँधीबेहरीमा होमिएको थिएँ।
इतिहासको त्यो कालखण्डमा हामीले राजतन्त्र रूपी बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने गफ मात्र गरेनौं, आँट पनि गर्यौं। त्यो आँटले संसार हल्लायो। त्यसैको जगमा २०६२/६३ को १९ दिने जनआन्दोलन भयो, त्यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनायो। समावेशीता, समानुपातिक प्रतिनिधित्व र आवाजविहीनहरूको आवाज सुनिने अवस्था सिर्जना भयो। जेनजी पुस्ता पनि यी कुराहरूबारे राम्ररी जानकार छ भन्ने लाग्छ।
नेकपा माओवादीको त्यो संघर्षले नेपाललाई नयाँ युगमा पुर्यायो। पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो। संविधान निर्माणका क्रममा हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरेका थियौं। तर, पहिलो संविधानसभाबाट संविधान निर्माणको टुंगो लागेन। दोस्रो संविधानसभामा माओवादी खुम्चियो।
हामीले फरकमत राख्दै सम्झौता गरेर संविधान जारी गर्ने बाटो रोज्यौं। २०७९ को चुनावी घोषणापत्रमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको माग गरेको थियो। राजनीतिक स्थिरता र समृद्धिका लागि यो आवश्यक थियो। हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकताबारे निरन्तर बोलिरह्यौं।
पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको साहसिक अभियानबाट डराएर बनेको नयाँ गठबन्धनको जग नै विचौलियाहरूबाट प्रेरित थियो। प्रचण्डले संसदमा पटक-पटक गरेको सम्बोधनमा जनआक्रोशबारे सचेत गराउनुभएको थियो। ती सबै चेतावनीहरू संग्रहित छन्।
तर, हठीहरूले त्यसलाई पत्याएनन्। अंकगणितको बलमा सबैथोक आफूले भनेजस्तो हुन्छ भन्ने घमण्ड प्रदर्शन भयो। हामी संसदभित्र थियौं, संसदमा अंकहरूको सीमा छ। आवाज सुन्नुपर्नेहरूले सुनेनन्। तर हामीले बोल्न भने छोडेका थिएनौं।
मेरो व्यक्तिगत अनुभवमा, प्रतिनिधिसभा सदस्य हुँदा मैले ३३ महिनामा ९८ पटक सम्बोधन गरें। ती अधिकांश सम्बोधनहरू युवा पुस्ताका मागहरूमा केन्द्रित थिए।
मैले बारम्बार हाम्रा संवैधानिक निकायहरू रिटायर्ड क्लबजस्ता भए, नयाँ पुस्तालाई अवसर दिनुपर्छ भनें। तर संसदका सीमाहरू छन् र हामी दलमा आबद्ध छौं, दलका पनि आफ्नै सीमाहरू छन्।
अहिले जेनजी पुस्ताले आफूलाई यी सबै सीमाभन्दा माथि राखेर साहस देखाएको छ। हामीले २०५२ देखि २०६२ सम्म गरेको आँटजस्तै, उनीहरूले तानाशाहको घाँटीमा घण्टी झुण्ड्याउने साहस गरेका छन्। देशभर उर्लिएको जनआक्रोशलाई नेतृत्वको खाँचो थियो । यसपटक जेनजी पुस्ताले त्यसको नेतृत्व गर्न सफल भयो। त्यसैले म पटक-पटक यो पुस्तालाई धन्यवाद भनिरहेको छु ।
विगतको तितो अनुभवसहित एउटा विडम्बनाको कुरा राख्न चाहन्छु । विद्रोहपछि अघि बढ्ने बाटो कस्तो हुने? यो विषयमा स्पष्ट हुन सकिएन भने फेरि उही पुरानो खेल दोहोरिन्छ। एउटा सिस्टममा प्रवेश गरेपछि मात्र सहज हुन्छ। व्यक्तिगत होइन, विषयहरू संस्थागत हुनुपर्छ। फागुन २१ का लागि चुनावी मिति तोकिएको छ, तर उही सीमाभित्रको संसदका लागि। अहिलेको संसदीय व्यवस्थाले फेरि यस्तै बेथिति दोहोर्याउँछ।
यहाँका सामाजिक संरचनाहरू राज्य संरचनासँग जोडिएका छन्। यति ठूलो उथलपुथल हुँदा पनि जेनजी पुस्ताको प्रतिनिधित्व सरकारमा देखिएको छैन। पहिलो कुरा प्रतिनिधित्व हो, त्यसपछि निर्णय प्रक्रियामा सहभागिता। यो अहिलेसम्म देखिएको छैन। आफू उपस्थित भएमात्रै आफ्ना कुरा राख्न सकिन्छ, नत्र आग्रह वा मागमा सीमित हुन्छ। निर्णय प्रक्रियामा हस्तक्षेप हुँदैन। अनि जेनजी पुस्ताले चाहेजस्तो पक्कै हुँदैन ।
आन्दोलनको रापताप रहँदै शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक छ। संघमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुख कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित हुने व्यवस्था हुनुपर्छ। यो माग अहिलेको आन्दोलनको रापतापमा उठ्यो भने मात्र युवाहरूको बलिदानले सार्थकता पाउनेछ।
विगत १० वर्षका उदाहरण हेरौं, स्थानीय तहहरू सफल छन्। त्यहाँ प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रमुख चुनिन्छन्। कसैले ढाल्ने वा फाल्ने हुँदैन। स्थिरता छ। जनविरोधी काम गरेमा जनताको खबरदारी हुन्छ र अर्को पटक अवसर पाउँदैनन्।
मैले संसदमा पटक-पटक बोलेको छु, सांसदले मन्त्री हुन नपाउने र मन्त्री हुन सांसद हुन नपर्ने व्यवस्था गरौं। यो कुरा रेकर्डमा छ। हाम्रो अनुभवले पनि यही भन्छ। परिवर्तनको चाहना हुँदा पनि अवसर गुमेपछि चाहेको कुरा गुम्छ, जसरी पहिलो संविधानसभाबाट पनि गुमेको थियो।
अहिले जेनजी पुस्ताको माग पनि सम्बोधन नहुने खतरा देखिँदै छ। कारण हो उही पुरानो बाटो। पुरानो बाटो हिँडेर उही संसदीय गोलचक्करमा पुगिन्छ। अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीले पुर्याउने ठाउँ त्यही हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएमात्र नयाँ मार्गचित्र बन्छ। नत्र, पुरानै बाटोमा परिवर्तन सम्भव छैन। प्रत्यक्ष निर्वाचनले हङ्ग पार्लियामेन्टको समस्यालाई समाधान गर्नेछ। यो विषय अहिले नै बुझ्न जरुरी छ।
अहिलेको खर्चिलो निर्वाचन प्रणालीले निकै हैरानी दिएको छ। सांसद भएपछि कानुन बनाउन छोडेर मन्त्रीको दौडमा निस्कने परिपाटले कानुन निर्माणमा समस्या आएको छ। त्यही भएरै शासकीय स्वरूपमा परिवर्तन आवश्यक छ। आजका दिनसम्म युवाका आवाज सुनिएका छन्। जहाँ टेकेर नयाँ सरकार निर्माण भएको छ, त्यहीँ टेकेर निर्वाचन कानुन र शासकीय स्वरूपमा परिवर्तनका लागि मिलेर बल गरौं।
नत्र, निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्कर दोहोरिन्छ। आफूले नेतृत्व गरेर प्राप्त परिवर्तनले कता लाँदैछ भनेर सुझबुझपूर्ण तबरले नहेर्ने हो भने, जेनजी पुस्ता पनि हेरेको हेर्यै हुने निश्चित छ। जेनजीले यो आँट गर्न सकेन भने, परीक्षण हुन बाँकी युवा पुस्तालाई पनि पत्याउने ठाउँ रहँदैन। टेस्टेडहरूबाट काम भएन भन्ने भाष्य बनिसकेको छ। नयाँ भाष्यका लागि नयाँ बाटो चाहिन्छ।
नयाँ गन्तव्यका लागि नयाँ बाटो अर्थात् शासकीय स्वरूपमा परिवर्तन अनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संसदका सदस्यलाई मन्त्री नबनाउने र मन्त्री वा सांसदका लागि पनि समयसीमा तोक्ने व्यवस्था आवश्यक छ। यो भएन भने युवाले माग गरेको नयाँ ठाउँमा पुग्न सकिँदैन।
आन्दोलनको रापताप छँदै बल गरिएन भने, अलमल र पुरानै स्थानमा पुगिन्छ, जुन जेनजी आन्दोलनको माग होइन। जेनजी पुस्ता नेपालको भविष्य हो। उनीहरूको साहसले हामीलाई प्रेरित गरेको छ। तर, परिवर्तन संस्थागत हुनुपर्छ। त्यसका लागि मार्गचित्र बनाएर अगाडि बढौं।
प्रतिक्रिया 4