+
+
Shares

‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै अर्को मुखर्जी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २८ र २९ गते ललितपुरको होटल हिमालयमा चौथो काठमाडौं कलिङ्गा साहित्य महोत्सव हुँदैछ।
  • महोत्सवमा चर्चित बंगाली गायक अर्को मुखर्जी र अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता बानु मुस्ताक सहभागी हुनेछन्।

९ भदौ, काठमाडौं ।  यही भदौ २८ र २९ गते (सेप्टेम्बर १३ र १४) ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन् ।

यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रूपमा रहेका छन् । महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन् । २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति रहनेछ।

बंगाली चलचित्रहरूमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपाली संगीतप्रति विशेष लगाव छ । उनले हिट नेपाली गीतहरूलाई कभर भर्जनमा ल्याएर नेपाली दर्शकहरूको मन जितिसकेका छन् । लोक संगीतमा झुकाव राख्ने उनले उकालीमा हजुर, भैँसी लड्यो, लाहुरेको रेलिमै, मोहनी लाग्ला है, सिन्धुली गढी, ए कान्छालगायत थुप्रै नेपाली हिट गीतलाई कभर भर्जनमा सार्वजनिक गरेका छन् ।

यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन् । उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।

यस पटकको संस्करणको मूल विषय ‘सीमापारि : बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ । महोत्सवमा भारत, नेपाल, भुटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ।

महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?