
११ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की अनुसार बिहान करिब साढे ८ बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा फार्ममा रहेका ८५ बाख्रामध्ये ५० बाख्रा जलेर मरेको ६ वटा घाइते तथा २९ वटाको उद्धार गरिएको छ ।
आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेकाले चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4