
१२ भदौ, काठमाडौं । निजामती कर्मचारीमा नायब सुब्बा (नासु)मा खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुने व्यवस्था राख्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । तर, यसको प्रतिशत कति राख्ने भन्ने विषयमा भने कुरा मिल्न बाँकी छ ।
संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटाएको हो ।
विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार नासुमा खुला प्रतिस्पर्धा कति प्रतिशत राख्ने भन्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव आएपछि निर्णय हुनेछ । उनले भनेका छन्, ‘नासुमा खुला प्रतिस्पर्धा राख्ने सैद्धान्तिक सहमति जुटेको छ । तर, कति प्रतिशत राख्ने भनेर मन्त्रालयले एउटा प्रस्ताव ल्याउँछ । त्यसपछि ठोस निर्णय हुन्छ ।’
प्रतिनिधि सभाले नासुमा शतप्रतिशत बढुवाबाट पदपुर्ति हुने प्रावधान राखेको थियो । यसलाई उल्ट्याएर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नासुमा पनि खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको हो ।
सहसचिवमा पनि १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको छ । प्रतिनिधि सभाले सहसचिवमा पनि बढुवाबाट मात्रै पदपुर्ति हुने प्रावधान राखेको थियो । प्रतिनिधि सभाको निर्णयलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निणय गरेको हो
विधायन समितिकी सभापति तुलसीकुमारी दाहालले सरकारले सुरुमा विधेयक ल्याउँदा गरेको प्रस्ताव अगाडि बढाइएको बताइन् । प्रतिनिधिसभाले गरेको निर्णय चलाएर यस्तो निर्णय गरिएको उनले बताइन् ।
प्रतिक्रिया 4