
१७ भदौ, काठमाडौं । ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्।
‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ,’ उनले भने ।
नवारोले सोमबार भारतीय ब्राह्मणहरूले रूसी तेल किनेर नाफाखोरी गरिरहेको आरोप लगाएका थिए । ‘भारतले रूसबाट तेल किनेर उसलाई युक्रेनमाथि आक्रमण गर्न पैसा दिइरहेको छ। यसको सबैभन्दा ठूलो भार भारतीय आमजनताले व्यहोर्नुपरेको छ, न कि रूस वा अमेरिकाले,’ उनले भनेका थिए ।
नवारोले भारतलाई ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिंदै भारतले व्यापार घाटा बढाइरहेको मात्र नभएर अमेरिकी हितविपरीत गठबन्धनहरू पनि मजबुत पारिरहेको आरोप लगाएका छन् ।
उनले केही समयअघि ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रूस–युक्रेन युद्धलाई मोदी वार (मोदीको युद्ध) भनेका थिए। उनका अनुसार, भारतले रूसबाट सस्तो तेल किनेर रिफाइन गरी महँगोमा बेचिरहेको छ, जसले रूसलाई युद्धका लागि पैसा दिन्छ र उसले युक्रेनमाथि आक्रमण गर्छ।
उनले अझै भनेका थिए, ‘यदि भारतले आजै रूसबाट तेल किन्न बन्द गरिदियो भने भोलिदेखि नै अमेरिका भारतमाथि लगाएको २५ प्रतिशत भन्सार शुल्क हटाइदिनेछ।’
को हुन् नवारो ?
पीटर नवारोलाई ट्रम्पले आफ्नो सबैभन्दा नजिकको सल्लाहकार मान्छन्। उनले ट्रम्पको अघिल्लो कार्यकालमा व्यापार नीतिहरू बनाएका थिए।
सन् २०१६ मा उनी ट्रम्पसँग जोडिएका थिए। त्यसअघि सन् १९९४ देखि २०१६ सम्म उनले डेमोक्र्याटिक पार्टीका लागि नीतिगत काम गरेका थिए। भनिन्छ, उनी पूर्वराष्ट्रपति बिल क्लिन्टन र बाराक ओबामाका अनौपचारिक सल्लाहकार पनि थिए।
नवारो पहिले भूमण्डलीकरण र खुला व्यापारका समर्थक थिए, चुनावमा उठ्ने गर्थे र धार्मिक दक्षिणपन्थको आलोचना गर्थे। सन् १९८४ मा उनले लेखेको पुस्तकमा खुला व्यापारको समर्थन गरिएको थियो।
तर ट्रम्पसँग नजिकिएपछि उनले भूमण्डलीकरण आलोचना गर्न थाले। नवारोले प्रायः अमेरिकाको पुरानो औद्योगिक शक्ति पुनर्जीवित हुनुपर्ने धारणा राख्छन्। अमेरिकाको वास्तविक गौरव यहाँ ठूलो मात्रामा सामान उत्पादन हुने बेला मात्र रहेको उनको बुझाइ छ ।
उनको दृष्टिमा चीनलाई विश्व व्यापार संगठनमा प्रवेश दिइएको क्षण नै अमेरिकाको लागि संकटको सुरुवात थियो। उनले यसलाई सर्वनाश भनेका छन् । ट्रम्प मात्र यस्तो नेता हुन् जसले अमेरिकालाई बचाउन सक्छन् भन्ने उनी विश्वास गर्छन्।
‘एससीओ सम्मेलन देखावटी मात्रै‘
अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले भारतले रूसबाट कच्चा तेल किनिरहेको विषयमा प्रश्न उठाउँदै भने, ‘यसले मस्कोको युद्ध मेसिनलाई बल पुर्याइरहेको छ।” उनले भारतलाई खराब खेलाडीको संज्ञा दिए ।
फक्स न्युजसँगको अन्तर्वार्तामा बेसन्टले प्रधानमन्त्री मोदीको हालैको एससीओ बैठकलाई देखावटीको संज्ञा दिए। ‘अमेरिका र भारत दुवै बलिया लोकतन्त्र हुन्, र मतभेद समाधान गर्न सक्छन्,’ उनले थपे ।
प्रतिक्रिया 4