
१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा केही दिनअघि सूचना आयो- गोंगबुको एउटा घरमा ठूलो मात्रामा रकम र सुन लुकाएर राखिएको छ ।
प्रहरीलाई भरपर्दो स्रोतबाट सूचना आएपछि थप पुष्टि गर्ने काम सुरु भयो । काठमाडौं महानगरपालिका-२६ गोंगबुमा पर्ने तीनतले गोल्डेन कलरको त्यो घरमा प्रहरीले रेकी सुरु गर्यो ।
त्यस घरमा मान्छे सुटुक्क छिर्ने, आउने-जाने क्रम चलिरहन्थ्यो । प्रहरीले सूचनाअनुसार नै अवैध तरिकाले सुन र रकम लुकाएर राखेको हुनसक्ने विश्लेषण गर्यो ।
ठूलो मात्रामा रकम र सुन हुनसक्ने निष्कर्ष निकालेपछि एआईजी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीलाई जानकारी गराउँदै घटनास्थलमा आफैं गएर अपरेसन गर्न निर्देशन दियो ।
मंगलबार दिउँसो करिब ३ बजेतिर उपत्यका प्रहरी कार्यालय रानीपाखेरी र परिसरबाट एसएसपी अधिकारीसहितको टोलीले गोंगबु पुगेर ‘रेड’ गर्यो ।
प्रहरीले अपरेसन गर्न लागेपछि घरधनी ७७ वर्षीय विनोदकुमार श्रेष्ठले सोधे- कहाँबाट आउनुभएको बाबु ?
त्यतिबेला उनी सिसाको कपमा ब्ल्याक टी पिउँदै थिए ।
सेतै फुलेका श्रेष्ठ त्यतिबेला निलो कलरको टि-सर्ट, हाफ पेन्ट, चप्पल लगाएर घरमै बसेका थिए ।
आफूहरू प्रहरी भएको बताउँदै अवैध रकम र सुनबारे सोध्नुपर्ने भएकाले आएको बताएपछि उनी छक्क परे ।
जब प्रहरीले अपरेसन चलाएर रकम बरामद गर्न थाल्यो- प्रहरी नै चकित परे । चामलका बोरादेखि सेफ, दराजमा पैसाका बिटा भेटिए ।
घटनास्थल पुगेर अपरेसन गरेका एसएसपी भन्छन्, ‘चामलको बोराभित्र पनि पैसा लुकाइएको रहेछ, सेफबाट पनि बरामद गर्यौं । दराजमा पनि बिटैबिटा भेटिए ।’
प्रहरीले नगद र गरगहना बरामद गर्दा श्रेष्ठ हेरिरहे । हराउला है भन्दै एकटकले नियाले ।
ठूलो मात्रामा रकम भेटिएपछि प्रहरीले बैंकबाट मेसिन मगाएर गणना गर्यो । राति ९ बजेतिर घटनास्थलको मुचुल्का गरेर यकिन गर्दा बरामद रकम चार करोड २५ लाख ५० हजार रहेको खुल्यो ।
बरामद सुनका गरगहना तौल गर्दा ९ किलो ८३७ ग्राम भयो । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भए ।
प्रहरीले नगद र चाँदीसहित श्रेष्ठलाई परिसर भद्रकालीको हिरासतमा राख्यो । प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार उनी मिटरब्याजी हुन् । सुन धितो राखेर उनले मिटरब्याजमा रकम लगानी गर्ने गरेको पाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनाल बताउँछन् ।
‘अहिलेसम्मको अनुसन्धानबाट उनले अनुचित लेनदेन गर्ने गरेको देखिन्छ,’ एसएसपी खनाल भन्छन् । पक्राउ परेका श्रेष्ठले पनि ठूलो रकम कारोबार गर्न बैंकमा झन्झटिलो हुने भएकाले घरबाटै कारोबार गर्ने गरेको बताएको एक अनुसन्धान अधिकृत बताउँछन् ।
‘१० लाखभन्दा बढीको बैंक कारोबार पनि निकै झन्झटिलो छ । त्यही भएर घरबाटै कारोबार गर्दै आएको हुँ । यो सुन पनि ऋण लिएर गएकाहरूको हो,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।
रकम लिन प्रहरीकै हाकिम भन्दै आफ्नो घरमा आउने गरेकोसमेत श्रेष्ठले बताएका छन् । ‘पहिला पनि प्रहरीकै ठूला मान्छे भन्दै रकम लिन आउँथे । सुन धितो राखेर लान्थे,’ एक अनुसन्धान अधिृकतले श्रेष्ठको भनाइ उद्धृत गर्दै सुनाए । धितो राखेको सुन रकम तिरेर फिर्ता लिन तोकिएको भाखामा नभएको अवस्थामा भने उनले बेच्ने गरेको पाइएको छ ।
७७ वर्षीय श्रेष्ठको गोरखामा पनि घर । प्रहरीले रकम बरामद गरेको गोंगबुस्थित तीनतले घर पनि श्रेष्ठकै रहेको पाइएको छ । उक्त घरमा श्रेष्ठ दम्पती मात्रै बस्ने गरेको पाइएको छ ।
प्रहरीले मंगलबार अपरेसन चलाउँदा उक्त घरमा श्रेष्ठ मात्रै थिए । श्रीमती भने गोरखा गएको उनले प्रहरीसमक्ष बताएका छन् । गोरखाको आफ्नो घरमा एनसेलले भाडामा टावर राखेको त्यसको पनि केही आम्दानी हुने श्रेष्ठले प्रहरीलाई बताएका छन् ।
श्रेष्ठले प्रहरीलाई बताएअनुसार उनका तीन छोरा छन् । एक छोराको कार सोरुम छ भने अर्का छोराको कारकै रिकन्डिसन हाउस छ । सोही कारोबारको रकमसमेत आफैंले राख्ने गरेको दाबी श्रेष्ठले प्रहरीसमक्ष गरेका छन् ।
पुर्ख्यौली सम्पत्ति, छोराहरूको कम्पनीको कमाइ, एनसेल टावर भाडाबाट आउने रकम लगायतबाट आर्जन भएको सम्पत्ति बरामद भएको दाबी श्रेष्ठले गरेका छन् ।
उनले दाबी गरेजस्तो सम्पत्ति स्रोतको प्रमाण जुटाउनुपर्ने भार पनि श्रेष्ठलाई नै छ । बरामद ९ किलो बढी सुन, ३ किलो बढी चाँदी, ४ करोड २५ लाख बढी नगदको स्रोत श्रेष्ठले जुटाउनुपर्ने हुन्छ । तर अहिलेसम्म बरामद नगद तथा सुनचाँदीको स्रोत उनले जुटाउन नसकेको एसएसपी अधिकारी बताउँछन् ।
यदि बरामद नगद तथा सुनचाँदीको स्रोत जुटाए पनि कसुरबाट उम्कन भने श्रेष्ठलाई गाह्रो पर्ने देखिन्छ । १० लाख रुपैयाँभन्दा बढी नगद कारोबारलाई अवैधानिक मानिन्छ । यसको अर्थ भनेकै १० लाख रुपैयाँभन्दा बढी रकम भण्डारण गर्न वा बोकेर हिँड्न र नगद कारोबार गर्न नहुने रहेको कानुनका जानकार बताउँछन् ।
तर, श्रेष्ठको घरबाट भने ४ करोड २५ लाख भन्दा बढी नगदै बरामद भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ४४ (ग) बमोजिम कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा नेपाली रुपैयाँ १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद-बिक्री तथा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने उल्लेख छ । यो नियम भने २०७४ को साउन १ देखि लागु भएको हो ।
तर, पक्राउ परेका श्रेष्ठले भने १० लाख नभई करोडको कारोबार नगद गर्ने गरेको पाइएको छ ।
पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अहिले भने राजस्व अनुसन्धान विभागको जिम्मा लगाउने भएको छ । यसअघि टोखाबाट २५ करोड बरामद गर्दा पनि प्रहरीले राजस्वमै बुझाएको थियो ।
एसएसपी विश्व अधिकारीले बरामद रकम र सुनसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाउने लागेको बताए ।
श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताए ।
प्रतिक्रिया 4