
News Summary
Generated by OK AI. Editorially reviewed.- पिके पिक ४ हजार ६५ मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको यस्तो शिखर हो जहाँबाट विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू एकैपटक देख्न सकिन्छ।
- सर एडमण्ड हिलारीले पिके पिकलाई 'सगरमाथा हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु' भनेका थिए र यो पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्ने बताइएको छ।
- स्थानीय युवालाई गाइड, होमस्टे सञ्चालन र कृषि उत्पादनमा तालिम दिएर पिके पिक पर्यटनसँगै रोजगारी र आयस्रोत बढाउन सकिने उल्लेख गरिएको छ।
हिमाल हेर्न कहाँ जाने ? सगरमाथा आधार शिविर नै पुग्नुपर्दैन । वा, हिमालमी क्षेत्रमै उक्लिनुपर्छ भन्ने छैन । सोलुखुम्बुको दक्षिणी भेगमा अवस्थित पिके पिक पुगे हुन्छ । यो ४ हजार ६५ मिटरमा उचाइमा अवस्थित एउटा त्यस्तो पिक हो, जहाँबाट विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको श्रृंखला एकैपटक नियाल्न सकिन्छ ।
यही कारणले हुनसक्छ, सर एडमण्ड हिलारीले समेत यसलाई ‘सगरमाथा हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु’ भनेका थिए ।
काठमाडौंदेखि सोलुखुम्बुको सदरमुकाममा अवस्थित फाप्लु विमानस्थल पुग्न ३५ मिनेट लाग्छ । त्यसपछि यात्रा सुरु हुन्छ पिके पिकतर्फ ।
काठमाडौंबाट गएको दिन सल्लेरी बास बसियो । समुन्द्री सतहबाट ३ हजार ५५० मिटर उचाइमा रहेको बुद्ध पुग्न फाप्लुदेखि मोटरसाइकलमा हामीलाई करिब ५ घण्टा लाग्यो । पहाडी यात्राका कारण ज्यान थाकेको थियो । चिसो मौसम तथा छिन-छिनमा बादल लागिरहने र फाट्ने भएका कारण हाम्रो थकान मेटियो । हामी त्यहीँ मोटरसाइकल बिसाएर लाग्यौँ, गन्तव्य तर्फ ।
पदमार्गमा देखिएका दृश्यहरू अत्यान्तै मनमोहक थिए । फराकिलो फाँटमा चरिरहेका चौरीको वथान, ठाउँ-ठाउँमा बस्ती, गुम्बा । रैथाने जीवनशैलीसँग साक्षतकार गर्दै अगाडि बढ्दा फरक अनुभव भइरहेको थियो ।
वर्षायामको बेला । जंगलको बाटो । सिमसिम पानी परिरहेको मौसम । जंगलको बीचबाट हिँडिरहँदा रुखका पातमाथि पानी परेको मधुर आवाजले बेग्लै माहोल सिर्जना गरिरहेको थियो । एक घण्टाको पैदल यात्रापछि हामीले भेट्यौं, पासाङ नुर्बु । उनी टुङ्ना बाजे लजका सञ्चालक हुन् । पिके आधर शिविरमा ३ वटा होटल छन् । ती मध्ये सबैभन्दा पुरानो होटल हो, टुङ्ना बाजेको लज ।
पासाङ नुर्बूसँगको भेटपछि हाम्रो यात्रा झन् रोमाञ्चक बन्यो । उनीसँग गफिदै हामी अघि बढ्यौँ । नुर्बूले विगतमा विदेशी पर्यटकरू निकै आउने गरेको सुनाए । उनीसँग कुरा गर्दै हिँड्दा पिके आधार शिविर पुगेको पत्तै पाएनौं । थकान निकै थियो खाना खाएर सुत्ने योजना बनायौं ।
बिहानको करिब चार बजे नै उठेर गनेतव्यतिर लाग्यौँ । पिके पिकमा पानी र खानेकुराको व्यवस्था नहुने भएकाले पानी र चियाको जोहो गरेर यात्रा सुरु गरियो । हाम्रो यात्रामा साथ दिनका लागि लजका सञ्चालक शेर्पा पनि तयार भए ।
अँध्यारोसँगै चिसो हावा र उकालो बाटो, यात्रा त्यति सहज थिएन । सोलुदुधकुण्ड नगरपालिकाले ढुंगा छापेर बनाएको बाटो र सिढींले केही सहज बनाएको थियो हामीलाई । पिके आधर शिविरबाट करिब सवा घण्टाको यात्रापपछि बिस्तारै उज्यालोको अनुभूति हुन थाल्यो । उज्यालो भएपछि वरिपरि हेर्दा लाग्यो भयो-हामी त बादल भन्दा माथि पो हिँडिराखेका छौँ । पिके पिक पुग्नै लाग्दा ढपक्क ढाकेको कुहिरोबाट घामका मधुरा किरणहरू छिरेर हामीलाई स्पर्श गर्दै थिए ।
जब पिके पिकको शिखरमा पुग्यौँ, तब आफूलाई हिमश्रृखलाहरूको बीचमा पायौँ । प्रकृतिसँग रमाउने मान्छे, खुसीको सीमानै भएन । एकछिन सोचमगेन भएँ । म कहाँ छु अहिले ? के धर्तीमा यस्तो ठाउँ साँच्चै छ ? दृश्यहरू यस्ता थिए, जुन जीवनभर मानरपटलबाट हटाउन नै नसकिने ।
पिके पिकमा हावाको चाप धेरै थियो । छिनछिनमा बादल लागिरहने र फाट्ने गर्थ्यो । जब बादल फाट्यो पूर्वतर्फ कञ्चनजंघा, बीचमा मकालु, ल्होत्से र सगरमाथा अनि पश्चिमपट्टी गणेश हिमाल, मनास्लु र अन्नपूर्ण श्रृंखला स्पष्ट देखियो । हामीले सबै हिमाल एकै पटक हेर्न पाएनौँ किस्ता-किस्तामा हेर्ने अवसर जुट्यो ।
हामी पिके पिक पुगेर फोटो, भिडियो खिच्दै थियौँ । त्यतिखेर लजका सञ्चालक शेर्पा भेषभुषामा पिक पुग्नुभयो । उनलाई शेर्पा भेषभुषामा देख्दा मन नै प्रफुल्लित भयो । सँगै तस्बिर पनि खिचियो।
हामी भन्दा पछि केही चिनियाँ र युरोपियन पर्यटकहरू पिके पिक आइपुगे । उनीहरू पनि निकै खुसी देखिन्थे । सगरमाथा क्षेत्रमा पुग्न कठिन हुनेले यहाँबाट नजिकैजस्तो गरी संसारकै अग्लो हिमाल नियाल्न सक्ने भएकाले पिके पिकलाई वैकल्पिक गन्तव्यरूपमा लिने गरेका छन् पर्यटकहरूले । पिके पिक यात्रा केवल हिमाल हेर्ने माध्यम मात्र होइन यो प्रकृति, संस्कृति र आत्मशान्तिको अनौठो संगम हो । यस यात्राले भौगोलिक सौन्दर्यसँगै मानवीय आत्मीयता र आध्यात्मिक शान्तिको अनुभव दिन्छ।
सस्तो लागत, छोटो दूरी र अनुपम दृश्य हेर्न सकिने पिके पिक यात्रा केवल विदेशी पर्यटकका लागि मात्र होइन, नेपाली यात्रुहरूका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य हो । सोलुखुम्बुको यो शिखरले नेपालको पर्यटन सम्भावनामा नयाँ आयाम थपेको छ।
जो कोहीले हिमाल नजिकैबाट नियाल्ने सपना देखेका छन्, उनीहरूका लागि पिके पिक यात्रा जीवनकै अविस्मरणीय अनुभव बन्न सक्छ ।
पिके पिक सगरमाथ हेर्ने आगन हो भनेर सरएडमण्ड हिलारीले त्यसै भनेका होइनन् । उनको यो भनाइले बुझिन्छ कि पिके पिकको महत्व कति छ । एकै पटक आठहजार मिटर भन्दा अग्ला धेरै हिमालहरू हेर्ने सबैभन्दा उपयुक्त स्थान यही नै । यसले जति चर्चा पाउनु पर्ने हो त्यो पाइरहेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा पिके पिकलाई ब्रान्डिङ गर्दै डिजिटल प्लेटफर्म, वृत्तचित्र, मिडिया टुर, ट्राभल ब्लगर र प्रदर्शनीमार्फत प्रचार–प्रसार गर्न सके यो धेरै पर्यटकको गन्तव्य बन्ने निश्चित छ ।
स्थानीय युवालाई गाइड, होमस्टे सञ्चालन, हस्तकला र कृषि उत्पादनमा तालिम दिई आत्मनिर्भर बनाउँदा पर्यटनसँगै रोजगारी र आयस्रोत पनि बढ्छ ।काठमाडौं वा धरान–सोलुखुम्बु हुँदै सडक र आन्तरिक उडानको पहुँच सुधार गरी यातायता सेवाको सुधार गर्न सके यसमा थप बल पुग्छ ।
प्रतिक्रिया 4