+
+
Shares
एमाले विधान महाधिवेशन :

ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला

विद्याको सदस्यताको प्रसंग समूहगत छलफलमै सीमित

एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २२:१४

२२ भदौ, काठमाडौं । गत शुक्रबार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको छ ।

विधान महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय बनेको थियो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले उनको सदस्यता नविकरणको विषयमा कुनै निर्णय गरेन । यो सँगै विद्याको सदस्यता नविकरण नहुने केन्द्रीय कमिटीको निर्णय सदर भएको नेताहरूले बताएका छन् । तर, प्रतिवेदनमा भने यो विषयमा केही बोलिएको छैन ।

बरु एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।

सबै प्रतिवेदन गत शुक्रबार प्रस्तुत भएका थिए । शनिबार १० वटा समूह बनाएर छलफल भएको थियो । आइतबार समुहगत छलफलमा आएका सुझाव प्रस्तुत भएका थिए ।

समुहगत रुपमा प्रतिवेदन पेश गर्दै सुदूपश्चिम  प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निश्कर्ष सुनाएका थिए ।

कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय’ रहेको बताएका थिए ।

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने बताएका थिए । यसका निम्ति पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरूले प्रष्ट दिशा निर्देश गरेको बताएका थिए ।

बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको उल्लेख गरेका थिए । केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको पनि सुनाएका थिए ।

मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताएका थिए ।

‘पार्टीमाथि देशी/विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट पुन: नेतृत्व दिनुपर्छ’, मण्डलले भनेका छन् ।

कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरिएको बताए ।

‘राष्ट्रपति, उपराष्ट्रपति र संबैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनुपर्ने’ सुझाव रहेको सुनाएका थिए ।

समूहगत रूपमा भएको छलफलमा उठेका विषयबारे नेतृत्वले जवाफ दिएपछि महाधिवेशन सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?