
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जेनजीको प्रदर्शनलाई लक्षित गर्दै सोमबार बिहानैदेखि मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
- प्रदर्शन शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले आवश्यकतानुसार प्रहरी परिचालन गरिएको बताए।
- प्रदर्शनका लागि माइतीघर क्षेत्रमा करिब ५ सय जेनजीहरू उपस्थित भएका छन् र सुरक्षा समितिको निर्देशनमा सुरक्षा रणनीति लागू गरिएको छ।
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहरा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘संख्या यति नै भन्ने भन्दा पनि आवश्यकता अनुसार प्रहरी परिचालन गरेका छौं । प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागि परेको छ’ उनले अनलाइनखबरसँग भने ।
काठमाडौंका मुख्य चोकहरूमा नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । नयाँ बानेश्वर क्षेत्र लगायत निषेधित क्षेत्रजस्ता ठाउँहरुमा भने सशस्त्र प्रहरीलाई खटाइएको छ ।
यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ ।
जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।
प्रहरी स्रोतका अनुसार माइतीघर क्षेत्रमा अहिले करिब ५ सयको हाराहारीमा जेनजीहरू उपस्थित भएका छन् । ११ बजेबाट प्रदर्शनका समय राखिएकाले आउनेक्रम जारी रहेको देखिन्छ ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण बताएका छन् ।
जेनजीले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षा समितिको बैठकमा सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । अहिले सोही अनुसार प्रहरी परिचालन भएको बताइएको छ ।
प्रतिक्रिया 4