
२४ भदौ, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ ।
हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।
संसद भवन परिसर भित्र र बाहिर नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको टोली पनि खटाइएको छ ।
हिजो जेनजीको प्रदर्शनमा संसद भवनको पर्खाल तोडफोड भएको र केही प्रदर्शनकारीभित्रै प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति सम्हाल्ने क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा मात्रै १७ जनाको ज्यान गएको थियो ।
स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन भइरहेको छ ।
सुरक्षाकर्मीहरु भने हिजो पर्खाल भत्किएको ठाउँमा काँडेतार लगाएका छन् । एक नम्बर गेटमा समेत काँडेतार राखेर बन्द गरिएको छ ।
कर्फ्यु लागेपछि स्थानीय प्रशासनले सिंहदबार, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायतका क्षेत्रमा पनि सेना खटाएको छ ।
प्रतिक्रिया 4