
२४ भदौ, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै इन्सेकले जेनजी युवाहरूको प्रदर्शनमा राज्यले नरसंहार मच्चाएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा दिएर न्यायिक छानबिन सघाउन माग गरेको हो ।
साथै इन्सेकले १९ जनाको मृत्यु र ४०० जना बढी घाइते हुनेगरी भएको प्रहरी दमनको न्यायिक छानबिनको माग गरेको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सोमबारदेखि जेनजी युवाहरूले सडक प्रदर्शन गरिरहेका छन् ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा राज्यले गरेको नरसंहारको न्यायिक छानबिन हुनुपर्ने उल्लेख छ ।
सोमबार मन्त्रिपरिषद्ले गरेको छानबिन समिति गठन गर्ने निर्णय मान्य नहुने भन्दै इन्सेकले अब बन्ने नयाँ सरकारले नै शक्तिशाली आयोग गठन गरी निष्पक्ष न्यायिक छानबिन गराउनुपर्ने बताएको छ ।
विज्ञप्तिमा विगतमा जस्तै आयोगहरू बन्ने तर तिनका सिफारिस कार्यान्वयन नहुने प्रवृत्ति नदोहोरियोस् भन्ने कुराको सुनिश्चितताको माग गरिएको छ ।
प्रतिक्रिया 4