
२४ भदौ, काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।
यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ ।
सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।
देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।
यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।
सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’
प्रतिक्रिया 4