+
+
Shares
उच्च अदालत विराटनगर : :

जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ । बचेका केही कागजात पनि काम लाग्ने अवस्थामा छैनन् । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ २८ गते १३:३४

२८ भदाै, विराटनगर । जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन ।

जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको तर्फबाट रिट दर्ता भएको हो ।

उनी गत साउन १ गते लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनीविरुद्ध ४ पटक म्याद थप भइसकेको छ ।

अनुसन्धान जारी रहेका बेला अदालतमा आगजनी भएका कारण प्रहरीले उनीविरुद्ध म्याद थप गरेको थिएन ।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सञ्जीवकुमार साहले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।

रिटको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उनका अनुसार रिट दर्ता हुँदा अदालत जलिरहेको थियो ।

जलेर खण्डहर भएको अदालतमा रिट दर्ता हुनुले कानुनी अधिकारको बाटो खुला रहेको सन्देश दिएको उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव अधिवक्ता विनोदकुमार तिमल्सिनाले बताए ।

जलिरहेको अदालतमा रिट दर्ता हुनु र सुनुवाइका लागि पेसी तोकिनुले संरचना जलेपनि कानुनी उपचारको बाटो खुला रहेको सन्देश दिएको उनले बताए ।

खण्डहर भयो अदालत

भट्टका अनुसार उच्च अदालत विराटनगर खण्डहर भएको छ । अदालतको भुइँ तालामा रहेका कार्यालयकाे कक्ष र फाँट जलेर नष्ट भएका छन् ।

अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ । बचेका केही कागजात पनि काम लाग्ने अवस्थामा छैनन् । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा छन् ।

अराजक समूहले अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चार पांग्रे सवारी जलाएका छन् । जलेको मोटरसाइकलको संख्या यकिन भइसकेको छैन ।

आगजनीको क्रममा ३–४ वटा मोटरसाइकल चोरी भएको थियो । उनका अनुसार अदालतमा नजलेका सामग्री चाेरी भएकाे थियाे ।

उनका अनुसार अदालतकाे सरसफाइ र क्षतिकाे विवरण संकलन भइरहेकाे छ । अभिलेख शाखामा रहेकाे ६५ हजार बढी मुद्दाकाे मिसिल जलेकाे उनले बताए ।

अदालतमा हाल १ हजार हाराहारी मुद्दाकाे मिसिल मात्रै बाँकी छ । मिसिलकाे यकिन विवरण आइतबार थाहा हुने भट्टले बताए ।

आगजनीका कारण जिल्ला अदालत माेरङ पनि खण्डहर भएकाे छ । दशैं-तिहार अघि जिल्ला अदालतले सेवा प्रवाह गर्न सक्ने अवस्था छैन ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?