
३ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको यातायात व्यवस्था कार्यालय मिनभवनमा युवाहरुको समूहले सरसफाइ थालेको छ ।
सरसफाइ कार्यक्रमको सुरुवात मन्त्री कुलमान घिसिङले गरे । उनले क्षतिग्रस्त ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानको यो सुरुवात भएको बताए । यस्ता कार्यक्रम अन्य स्थानहरुमा पनि गरिने उनले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले विनासबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन पनि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान आवश्यक रहेको बताए ।
यस अभियान अन्तर्गत सामान्य आगलागी मात्र भएका भवनका बाहिरी भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गरी सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमार्फत् पुनर्निर्माण अभियान सुरु गरिने बताए ।
आगलागी भएका सिंहदरबार परिसरका मन्त्रालयहरुमा रङरोगनको काम सुरु भइसकेको छ ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाका सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका छन् । तीन वटै मन्त्रालयहरूको कामकारबाहीको शुक्रबार जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।
लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने उनले बताए ।
प्रतिक्रिया 4