
News Summary
Generated by OK AI. Editorially reviewed.- अहिलेको उभारको एक्लो हकदार जेनजी नै हो । आन्दोलन लोकतान्त्रिक व्यवस्थाका लागि प्राणवायु हो । विचार र लक्ष्यसहितको आन्दोलनले समाजलाई उन्नत दिशामा डोर्याउँछ ।
- असंगठित र विचारविहीन आन्दोलनले हिंसाको भुमरीमा फसाउँछ । अहिलेको जेनजी आन्दोलनसँग व्यवस्था उलटफेरको एजेण्डा थिएन ।
- डाँकु जसरी सिंहदरवार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, संसद भवन, सञ्चार गृह र बिजनेस कम्प्लेक्समा घुस्ने जेनजी कुन थियो ?
- हरेक परिवर्तनपछि सम्भ्रान्त र अभिजात वर्गले शासन गर्ने युगको अन्त्यको शुरुवात अहिलेको जेनजी आन्दोलनले गर्न सकोस् ।
भदौ २३ र २४ गतेको आन्दोलन र हिंसासाउथ इन्डियन फिल्मलाई नै माथ खुवाउनेखालको थियो । सामाजिक सञ्जाल प्रतिबन्धको आक्रोशबाट शुरु भएको आन्दोलन भ्रष्टाचारीको खबरदारी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग हुँदै अराजकता, दंगा र ध्वंशबाट अन्त्य भयो । गणतान्त्रिक सरकारले निर्माण गरेका मुख्य संरचना मात्र होइन,राज्य सञ्चालनका निम्ति बनेका कानुन र संविधानका कागजहरुमा दन्दनी दन्किएको राँकोले देशको सम्प्रभुता, व्यवस्था र अस्तित्वमाथि नै साइरन बजाइरहेको थियो । अन्तत: आन्दोलनको बलमा नभएर दंगार हतियारबीचको सन्त्रासबीच नै किन नहोस्, राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्री घोषणा गरेपछि ठूलो सास फेरियो – ल अहिलेका लागि देश बाँच्यो, संविधान बच्यो ।
देश नै त्राहिमाम बनेको त्यो क्षण क्रान्ति थियो कि प्रतिक्रान्ति ? अग्रगमन थियो कि प्रतिगमन ? देश निर्माणका लागि थियो कि स्वार्थ समूहहरुको अभिष्ट ? राष्ट्रप्रेम थियो कि व्यवस्था विरोधीहरुबाट निर्दिष्ट ? अहिले नै निर्क्योल गर्न हतार हुन्छ । किनकि इमान्दार स्कुल र कलेज पोशाकको ऐतिहासिक बलिदानीलाई ढाल बनाएर अतिवादी एवं निरंकुशताका हिमायती र पहरेदारहरुले फायर खोलेको वास्तविकतालाई अब कसैले नकार्न सक्दैन ।
७१ जनाको काँचो खुन र भष्म खाकमाथि तीन दिनसम्म खेलिएको परेडले हत्या र विध्वंशको तीर यथास्थितिवादी तत्कालीन तीन पार्टीमात्र होइन, नेपाली सेना, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, नेपाल प्रहरी, दुर्गा प्रसाइँ, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ सिधा तेर्सिएको छ । असिनाजसरी गोली बर्साउने नेपाल प्रहरी, देश ध्वंश हुँदा टुलुटुलु हेरेर बस्ने नेपाली सेना, जेनजीको आन्दोलनलाई सेनासँग वार्ता गर्न तयार रहनु भन्ने बालेनको हुकुम, देशद्रोहको मुद्दामा भर्खरै कारागारबाट रिहाइ भएका दुर्गा प्रसाईले जंगी अड्डामा जमाएको खाल, राष्ट्रपतिको नजरबन्द र पृथ्वीनारायण शाहको फोटोअघि छाती तन्काएर सेनापतिले दिएको सम्बोधनलाई संयोग मात्र मान्न सकिँदैन । यसको जवाफविना निर्दोष शहीदको आत्माले शान्ति पाउने छैन । बरु भड्किरहनेछ ।
देशका संवैधानिक अंगमाथि प्रहार गर्दै राजतन्त्रको पुनर्वहाली र सैनिक शासन पदार्पणको तीव्र महत्वाकाक्षांले तत्कालका लागि हार खाए पनि त्यसका लागि मैदान भने खुकुलो पारिएको छ । संविधानको अमूर्त धारामा गठन भएको अन्तरिम सरकारले अर्को भयावहपूर्ण रक्तपात मच्चाउला या जनताको अधिकारलाई थप बलियो गराएर सबै नागरिकलाई देशप्रतिको अपनत्वको आभासदिलाउला ? यसको निर्क्योल बाँकी ६ महिनाले गर्नेछ ।
एक सातासम्म चौतर्फी विषालु दाह्राबाट निसास्सिएको देशले सुविस्ताको सास फेर्न घाँटी तन्काउँदै छ । राज्य छ भनेर भरोसा गरेका नागरिकले आश्चार्यचकित हुँदै आँखा फार्दै छन् ।
देशलाई संक्रमणकालीन शून्यताको सुरुङभित्र हुल्नका निम्ति धेरथोर तपाई–हामी सबैको योगदान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्वन्द्वग्रस्त मणिपुरमा उभिएर नेपाललाई बाँडेको प्रेम र फ्री तिब्बतका नेता दलाई लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको बधाईले अहिलेको संक्रमणको हकदार हामी मात्र होइनौं भन्ने छनक दिएको छ । तर, शीरमा कफन बाँधेर सडकमा निस्किएका युवाहरु पनि निर्मम प्रश्नको चक्रब्यूहबाट बाहिर निस्किसकेका छैनन् ।
निसन्देह अहिलेको उभारको एक्लो हकदार जेनजी नै हो । जेनजीको स्पार्कले सम्पूर्ण देशलाई नै तरंगित पारिदियो र सत्ताको म्युजिकल चेयरमा मग्न नेताहरुलाई जीवन रक्षाका निम्ति दुलो खोज्ने बनाइदियो । यो मुख्य राजनीतिक दलको नेतृत्वको स्वेच्छारिताको परिणाम थियो भन्नेमा दुई मत रहेन ।
नेतृत्वको सिण्डिकेट र जनउत्तरदायीविहीन मनोमानीले जनता मात्र होइन, दलकै कार्यकर्ता पनि वाक्क दिक्क थिए । यसका विरुद्ध आन्दोलन उठ्दै थियो र उठ्ने नै थियो ।
हरेक१०/१५ वर्षमा भिषण आन्दोलन हुने नेपाली विशेषताले म्याद नाघिसकेको थियो । मार्क्सवादले भनेजस्तैनेपाली समाज आक्रोसपछिको घृणामा रुपान्तरित भइसकेको थियो ।
तर, त्यो घृणा चेतसहितको थियो कि चेतरहित ? मन्थन हुँदै जाला । तर, शान्तिपूर्ण आन्दोलन भन्दै सडकमा निस्किएर संसद भवन कोपर्न जाने कुन जेनजी थियो ? लाखौं लाखको संख्यामा भएका प्रदर्शनकारीलाई सहजै नियन्त्रण गर्न सक्ने विरासत बोकेको प्रहरी एकाएक छाती र टाउकोमा ताकीताकी गोली बर्साउने अवस्थामा कसरी पुग्यो ? प्रधानमन्त्रीको राजीनामापछि पनि एकाएक राज्यहीनताको अवस्था खडा गरी पेट्रोल र सलाइको काँटी बोकेर डाँकु जसरी सिंहदरवार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, संसद भवन, सञ्चार गृह र बिजनेस कम्प्लेक्समा घुस्ने जेनजी कुन थियो ?
नेतृत्वविहीन भनिएका आन्दोलनकारीलाई इन्टरनेटको भर्चुअल ग्रुपबाट उत्तेजित पार्ने र लोकेशन म्याप ठेल्ने जेनजी कुन थियो ?अनि ‘डिप फेक’को वर्षा गराएर कलिलो मगजलाई अतिक्रमण गर्ने जेनजीको अभिष्ट के थियो ?यसको उत्तर अहिलेको सरकारले ‘ब्लर’मा होइन,‘क्लियर’मा दिनुपर्छ । नकावधारी भर्चुअल नेतृत्वको सरकारले मुकुट उतार्नै पर्छ । हतार–हतार आगलागी गर्ने सुकुम्बासी र कैदीहरु हुन् भन्नेजस्ता प्रहरीको पूर्वाग्रही ‘ब्रिफिङ’ले जेनजीको असली आन्दोलन र शहिदको रगतमाथि गद्दारी हुनेछ । भ्रष्टाचारविरोधी अभियान र निर्वाचन त आन्दोलनको म्यान्डेट नै हो ।
आन्दोलन लोकतान्त्रिक व्यवस्थाका लागि प्राणवायु हो । आलोचनात्मक चेत भएको ‘एक्टिभ सिटिजन’ प्रजातान्त्रिक व्यवस्थाका लागि रक्तनली हो । हरेक विकृति र अनियमिततालाई ‘स्लो पोइजन’ जसरी सहश्र ग्रहण भइरहेको समाजमा जेनजीले गौरवपूर्ण धावा बोलेकै हो ।
विचार र लक्ष्यसहितको आन्दोलनले समाजलाई उन्नत दिशामा डोर्याउँछ । असंगठित र विचारविहीन आन्दोलनले हिंसाको भुमरीमा फसाउँछ । अहिलेको जेनजी आन्दोलनसँग पनि व्यवस्था उलटफेरको कुनै एजेण्डा थिएन । उनीहरुको माग अभिव्यक्ति स्वतन्त्रता र सुधारमा केन्द्रित थियो ।
तर, तीव्र गतिमा अगाडि बढेको आन्दोलनको गाडीलाई बीचैमा कसले आएर झ्याप्प ‘रिभर्स गियर’ दबाइदियो, जेनजीहरुलाई पत्तै भएन । जसको परिणाम हाम्रो अगाडि छर्लंग छ । विषम परिस्थितिमा भर्चुअल संगठित भई सडकमा ओर्लिएका जेनजीलाई विषम परिस्थितिमा वास्तविक नेतृत्व र मुद्दाको हाहाकार हुने विश्वको दुर्लभ स्थितिले फसाद पार्यो ।
फेसबुक स्टाटसमा मात्र पदार्पण हुने सबैभन्दा ठूलो महानगरपालिकाका जननिर्वाचित ‘सीईओ’बालेन्द्र साह जेनजी आन्दोलनको भरोसाको केन्द्र बने । टुकुचामा गाडिदिने र सिंहदरबार जलाइदिने इत्यादि धम्की दिएका उनी सबै जलेपछि मात्र विवेकी देखिएका थिए– ‘अब संयमित हुनुहोला ! देशको जनधनको क्षति भनेको तपाई हाम्रै सम्पत्तिको क्षति हो । तपाई हामी अब संयमित हुनु जरुरी छ ।’
अनि उनले अटल आस्थाका साथ जेनजी आन्दोलनमा नयाँ नारा घुसाए– ‘सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला । तर, याद रहोस् वार्ता अर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’
सेनाप्रति बालेनको अचम्मको आस्था र मोह देखियो । मेयरमा निर्वाचित भएको भोलिपल्टै बुकी बोकेर सेनापतिलाई स्यालुट गर्न उनलाई हतार भएको थियो ।
नेतृत्व गर्न सडकमा आउनुपर्ने अल्टिमेटम दिएका जेनजीलाई स्टाटसबाट थामथुम पारेर नेता सावित भएका बालेन्द्र अर्को दिनभर गायव भए र साँझपख फुत्त स्टासमा झुल्किए – ‘सुशीला कार्कीलाई मेरो समर्थन छ । तर, संसद विघटन भएको हुनुपर्छ ।’
गोली दागिएका शहीदको शव अस्पतालको मर्चरीमा लस्करै थिए । उनका अभिभावक वियोगमा बेसहारा बनेर भौंतारिरहेका थिए । त्यहीबेला बालेन भनिरहेका थिए – ‘अरु थाहा छैन, पहिला संसद विघटन हुनैपर्छ ।’
उता, सेनाले आन्दोलनलाई थेग्न नसक्ने भन्दै परमाधिपति राष्ट्रपतिमार्फत् संकटकाल लगाउने तयारी गरिरहेको चर्चा पनि चलेको हो। यो लोकतन्त्र माथिको क्रुर मजाक थियो । जेनजी आन्दोलनप्रतिको घोर अपमान थियो ।
आन्दोलनका असली मुद्दाहरु एकाएक गायव बनेका थिए । देशलाई संविधानबाट च्युत गर्ने प्रयास थियो । छलफल र आन्दोलनकारीको रायको उपादेयता सकिएको स्थिति थियो । सडकपछि सत्तामा आन्दोलनको निर्मम हाइज्याक भएको स्पष्ट छनक थियो । के जेनजीको आन्दोलनले यही चाहेको थियो ? आफ्नो सहभागिताबिनै कसैको हुकुम प्रमाङ्गीका भरमा देशको सबैभन्दा सम्वेदनशील निर्णय होस् भन्ने जेनजीको चाहना हो र ?
त्यतिबेला मैले बालेन्द्रको विगतका अन्तर्वार्ताहरु सम्झिरहेको थिएँ– हिटलरलाई भेटेपछि सोध्न मन छ कसरी सबैलाई एउटै सोच्ने बनाउन सकिन्छ ? अनि सम्झिरहेको थिएँ, राजा कि राष्ट्रपति भन्ने प्रश्नमा उनले जवाफ दिन नसकेको सम्वाद ।
अब बालेनले आन्दोलनकारीको नेतृत्व गरेर सरकारमा महत्वपूर्ण भूमिका निर्वाह गरुन् । कि आफैंले घोषणा गरेको सीईओको भूमिका राम्रोसँग निर्वाह गरुन् । तर, मेयरको सुविधासम्पन्न कुर्सीबाट आकाशवाणी पठाएर अन्तरिम सरकारलाई अवरोध गर्ने काम नगरुन् । लोकतान्त्रिक चरित्रलाई आत्मसाथ गरेर जनताको विश्वास आर्जन गरुन् । परिवर्तनपछि नेपाली सेनाले बधाईको बलियो हकदार बन्ने अवसर नगुमाओस् । किनकि यो सरकारलाई सम्पूर्ण देशले विश्वास गरेको छ । अब यही सरकारको निर्णयले नेपालीको लामो भविष्यको तय गर्नेवाला छ ।
तर, ज्वाला बोकेर सडकमा निस्किएको आन्दोलनले भव्य सहभागिताको जनलहरमा युगान्तकारी परिवर्तन गर्दैदेशलाई पुनर्संरचना गर्ने स्वर्णिम अवसर धेरै हदसम्म गुमाइसकेको छ । नेपाली आन्दोलनको प्रकृतिले क्रममागत सुधार होइन, क्रमभंगता अर्थात गुणात्मक फड्कोको माग गर्छ ।
आन्दोलनकै रापतापमा वैधानिकरुपमै जोडरदार माग र सम्झौतासहित अहिलेको सरकार र संसदलाई अपदस्त गर्न सक्ने तागत आन्दोलनले ग्रहण गरिसकेको छ । तर, सेना, बालेन्द्र र उग्रपन्थीको चपेटामा राष्ट्रपतिको निर्णयले हुलमुलको उलटफेरजस्तो देखिन पुगेको छ ।
यद्यपि शून्यता र दबावबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझका साथ दह्रो गरी व्यवस्थाको पक्षमा उभिएरइतिहास कामय मात्र गरेनन्, व्यवस्थाप्रति नै गुण लगाएका छन् । के एकथान मन्त्रिमण्डल र सांसद फेर्नुले मात्रै यति ठूलो बलिदानीलाई न्याय गर्न सक्छ ? कि जनतालाई अझै बलियो बनाउने गरी शासकीय स्वरुपकै पुनर्निर्माण गरिनुपर्छ ? यही नै अबको उन्नत लोकतन्त्रको नारा हुनुपर्छ । त्यसैले अहिलेको संक्रमणलाई नै अन्तिम सत्य मानी नेपालीले आन्दोलन बिसाइहाल्ने परिस्थिति बनिसकेको छैन ।
जेनजीले स्मार्ट फोनका एपहरुबाट शुरु गरेको झट्का अब सम्पूर्ण देशको आन्दोलन बनिसकेको छ । नयाँ पुस्ता अधिक चासोका साथ राजनीतिक प्रक्रियामा प्रवेश गरिसकेको छ । हामीले यो भुल्नु हुँदैन कि जेनजी वा जेनजेड, कुनै विचारधारा नभएर एउटा युवा शक्ति हो । यसलाई अमूर्तरुपमा ‘रोमान्टिसाइज’ गरिनु हुँदैन । जेनजीभित्रका जातीय, वर्गीय र सांस्कृतिक विविधतालाई बिर्सनु र अवमूल्यन गर्नु गम्भीर गल्ती हुनेछ ।
काठमाडौं र मुख्य शहरका सुविधासम्पन्न विद्यालयमा पढ्ने जेनजी मात्र छैनन् । कर्णाली, देहात र गाउँमा धुलाम्य विद्यालयमबाट आएर भविष्य खोजिरहेका जेनजीहरु पनि छन् । अन्याय, जातीय विभेद र भाषिक तथा क्षेत्रीय विभेदबाट छटपटाएर मुक्ति खोजिरहेका जेनजीहरु पनि छन् । इन्टरनेटको किबोर्डमा मात्र होइन, खाडीको घाममा, ईंटाभट्टा,आरनको भुङ्ग्रोमा मडारिरहेका र इन्टरनेटको पहुँचमा नभएका पुस्ता पनि छन् ।
विगतका बलिदानी र अधिकारलाई स्वीकार्दै स्पष्ट विचारधारासहितको जेनजी वा नयाँ दृष्टिकोणसहितको राजनीतिक शक्ति अबको नेपालीहरुको खोजी हो । जसले देशको हरेक विविधतालाई आत्मसाथ गरेर उनीहरुलाई राज्य सञ्चालनको तहमा ल्याउन सकोस् ।
जनताको विगत ७० वर्षदेखिको निरन्तर लडाइबाट प्राप्त संविधानमाथि कसैले औंला उठाउँछ भने ऊसँग ऐतिहासिक र प्रमाणिक कारण पनि हुनुपर्छ । हरेक परिवर्तनपछि सम्भ्रान्त र अभिजात वर्गले शासन गर्ने युगको अन्त्यको शुरुवात अहिलेको जेनजी आन्दोलनले गर्न सकोस् । युगान्तकारी परिवर्तनको यात्रामा रहेका सबै नेपालीलाई शुभकामना ।
पक्कै पनि २३ भदौको रगतपच्छे सडकको बलिदानीले अर्को इतिहास लेखिनेछ । आजको मात्र होइन, हामीले हिजोका सहिदहरुलाई पनि उत्तिकै सम्मानका साथ छातीमा सजाएर अगाडि बढ्न सकौं ।
प्रतिक्रिया 4