
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलिया सरकारको स्क्रिन अस्ट्रेलियाले नेपाली फिल्म 'होम बिफोर नाइट'को पटकथा लेखनमा अनुदान दिने निर्णय गरेको छ।
- फिल्मलाई सविन ज्ञवाली र आना तिवारीले निर्माण गर्नेछन् भने कलानी गेकनले निर्देशन गर्नेछन्।
- फिल्म नेपाल र सिड्नी नजिकको कटुम्बामा छायांकन हुनेछ र नेपाली र अस्ट्रेलियाली कलाकारले अभिनय गर्नेछन्।
सिड्नी । अस्ट्रेलिया सरकार अन्तर्गतको ‘स्क्रिन अष्ट्रेलिया’ले नेपाली फिल्मको पटकथा लेखनमा अनुदान दिने भएको छ । ‘स्क्रिन अस्ट्रेलिया’ले यसको जानकारी वेबसाइटमार्फत दिएको छ ।
अनुदान पाउन लागेको नेपाली भाषाको फिल्मको नाम हो- ‘होम बिफोर नाइट ।’ अनुदानको राशी भने खुलाइएको छैन । फिल्मलाई सविन ज्ञवाली र आना तिवारीले निर्माण गर्न लागेका हुन् ।
यो फिल्मलाई कलानी गेकनले निर्देशन गर्नेछन् । गेकन लामो समयदेखि नेपालमा छोटा फिल्म निर्माणमा सक्रिय छन् ।
फिल्मलाई सोसल ड्रामा र साइन्स फिक्सन जनरामा निर्माण गर्न लागिएको हो । नेपाली कथा, नेपाली भाषा तथा नेपाली र अस्ट्रेलियाली कलाकारलाई लिएर यो फिल्म नेपालमा छायांकन गरिने जनाइएको छ ।
फिल्मको कथासार यस्तो छ- आप्रवासीको रुपमा अस्ट्रेलियामा पुगेकी मुख्य पात्र चन्दाले ओराना पात्रमार्फत स्मृति प्राप्त गर्छिन् । उनी अलग भएका नेपाली बुबालाई खोज्न नेपालको यात्रामा जान्छिन् । समय र दूरीमा उनीहरूको जीवन एकअर्कासँग गाँसिन थाल्दा, चन्दाले ओरानाको सम्झनामार्फत आफ्नो विगतको सामना गर्न बाध्य हुन्छिन् ।
‘स्क्रिन अस्ट्रेलिया’ले पहिलोपटक नेपाली फिल्मको निर्माणमा अनुदान दिन लागेको हो । ‘हाम्रो कथासार र प्रोजेक्ट पास भएपछि पहिलो चरणमा हामीलाई स्क्रिप्ट लेखनका लागि अनुदान दिने निर्णय भएको हो’ ज्ञवालीले भने ।
छायांकन सिड्नी नजिकको कटुम्बा र नेपाली राजधानीमा हुनेछ । ‘नेपाली फिल्मकर्मीको लागि यो सफलता हो । नेपाली फिल्मकर्मीको क्षमतामाथि विश्वास गरेर लगानी गर्नु भनेको प्रवासमा रहेका नेपालीको लागि गौरवको कुरा हो’ इभेन्ट अर्गनाइजर राजेश केसीले बताए ।
प्रतिक्रिया 4