
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्मको ६० औं वर्षगाँठमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज र द स्टोरी-टेलर्सले भर्चुअलरुपमा राष्ट्रिय चलचित्र दिवस मनाएका छन्।
- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्मको प्रि-प्रोडक्सन सुधार र कान्स फिल्म फेस्टिभलमा बुथ राख्ने योजना खुलाएका छन्।
- मन्त्रिपरिषद्ले २०२२ साल असोज १५ गते पहिलो नेपाली फिल्म 'आमा' रिलिज मितिलाई राष्ट्रिय चलचित्र दिवस घोषणा गरेको छ।
मेरिल्याण्ड (अमेरिका) । राष्ट्रिय चलचित्र दिवस भर्चुअलरुपमा बुधबार मनाइएको छ ।
नेपाली फिल्म सुरुवात भएको ६० औं वर्षगाँठको अवसरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास अमेरिका) र द स्टोरी-टेलर्सले भर्चुअलरुपमा छलफलको आयोजना गरे ।
पहिलोपटक डायस्पोरामा यसरी राष्ट्रिय चलचित्र दिवस मनाइएको हो । उक्त भर्चुअल कार्यक्रममा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पूर्वसांसद तथा निर्देशक असिम शाह लगायतका फिल्म सम्बद्ध व्यक्तित्व जोडिएका थिए ।
ईनास ग्लोबल प्रवक्ता प्रकाश तिवारी, ईनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष तथा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने, अभिनेता राजवल्लभ कोइराला, निर्देशक सुमन दाहाल, बाबुराम ढकाल, वितरक तथा निर्माता रमेश ढकाल, निर्देशक राजु केसी, ईनास अमेरिकाका निवर्तमान अध्यक्ष तथा अभिनेता राहुल केसी, नेपाल अमेरिका फिल्म फेस्टिभलका निर्देशक युवाकर राजकर्णीकार सहभागी थिए ।
सहजीकरण पत्रकार विष्णु शर्माले गरेका थिए । सहभागी अतिथिले नेपाली फिल्मको ६० वर्षको इतिहासको चर्चा गर्दै आगामी दिनको लागि शुभकामना व्यक्त गरे । यसबाहेक, घरेलु फिल्मको कलात्मक, बजारीकरण र अन्य चुनौतीबारे पनि छलफल भएको थियो ।
प्रमुख अतिथिको रुपमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कथा, मेकअप, भीएफएक्ससहितका प्रि-प्रोडक्सनको विधामा नेपाली फिल्मको कमीकमजोरी औंल्याउँदै यसलाई सुधारेर अघि बढाउन आफूले क्षमता अभिवृद्धिको कार्यक्रम चलाएको बताए ।
मुलुकमा उत्पन्न विषम परिस्थितीले बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बुथ राखेर अघि बढाउने कार्य अवरुद्ध भएपनि आगामी कान्स फिल्म फेस्टिभलमा बुथ राख्ने अध्यक्ष डीसीले बताए । यसको औपचारिक घोषणा चाँडै हुने उनको भनाइ छ ।
‘हामी अन्तर्राष्ट्रियरुपमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्न तयार छौं’ अध्यक्ष डीसीले भने, ‘पछिल्ला १६ वर्षमा चलचित्र क्षेत्र इनडिस्प्लिन भयो । अब अनुशासित भएर अघि बढ्न जरुरी छ ।’
उनले प्रतिनिधिसभा विघटनले राष्ट्रियसभामा प्रस्तावित विधेयकमा असर नपर्ने बताए । ‘हामीले राष्ट्रियसभामा विधेयक प्रस्तुत गरेका थियौं । राष्ट्रियसभा अहिले पनि जीवित छ । अबको चुनावपछि आउने नयाँ संसदले विधेयकलाई अघि बढाउँछ’ उनले भने ।
आफ्नो कार्यकालमा ३३ सेवा अनलाइनबाट प्रदान गर्दै आएको बताउँदै अध्यक्ष डीसीले रियल टाइम बक्सअफिस संचालनमा आएको बताए । उनले डायस्पोराको आवाज सुन्न आफू तयार रहेको बताए ।
उनले सिनेमा हलको संख्या २०० भन्दा धेरै पुर्याउने लक्ष्यको साथ अघि बढ्ने बताउँदै यो एजेन्डासहित आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताए ।
ईनास अमेरिकाका अध्यक्ष ताम्राकारले आफ्नो संस्थाले अमेरिकामा कलासंस्कृति संरक्षणमा कार्य गरिरहेको बताए । फिल्म निर्देशक तथा ईनास अमेरिकाका उपाध्यक्ष लामिछानेले डायस्पोरामा पनि नेपाली फिल्मको लागि लगानीको वातावरण बनाउनुपर्ने बताए । उनको आग्रहमा जवाफ दिँदै अध्यक्ष डीसीले यसको लागि बोर्ड गम्भीर रहेको बताए ।
अभिनेता कोइरालाले फिल्म क्षेत्रको नाम उचित र मर्यादित ढंगले राखिनुपर्नेतर्फ ध्यानाकर्षण गराए । फिल्म निर्देशक तथा पूर्वसांसद शाहले स्क्रिप्ट लेखन फिल्म निर्माणमा महत्वपूर्ण कुरा हुने बताए । उनले वर्षेनी सयभन्दा धेरै फिल्म बोर्डमा दर्ता हुने गरेको बताउँदै उक्त संख्यामा कमी ल्याउनुपर्ने र गुणस्तर खोज्नुपर्ने बताए ।
ईनास ग्लोबल प्रवक्ता र फिल्म निर्देशक ढकालले नेपाली फिल्म ६० वर्ष पुगेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरे । ईनास ग्लोबल प्रवक्ता तिवारीले आफ्नो संस्था नेपाली फिल्मको प्रवर्धनमा सदैव सक्रिय हुने बताए ।
वितरक ढकालले गुणस्तरीय फिल्म निर्माणमा लाग्नुपर्ने बताए । फिल्म निर्देशक सुमन दाहालले डायस्पोरामा फिल्म निर्माणको लागि सरकारले प्रेरित गर्नुपर्ने बताए ।
ईनास अमेरिकाका निवर्तमान अध्यक्ष केसीले आफ्नो कार्यकालमा भएका संरक्षण र संवद्र्धन प्रयासबारे चर्चा गरे । निर्देशक राजु केसीले स्क्रिप्ट फिल्म निर्माणको मेरुदण्ड हुनुपर्ने बताए ।
पहिलोपटक १५ असोजमा राष्ट्रिय चलचित्र दिवस मनाइएको हो । २०२२ सालको असोज १५ गते पहिलो नेपाली फिल्म ‘आमा’ रिलिज भएको मितिलाई आधार मान्दै गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय चलचित्र दिवस मनाउने घोषणा गरेको थियो ।
प्रतिक्रिया 4