
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
- आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समयसीमा तोक्ने र त्यसपछि दर्ता हुने दललाई निर्वाचनमा भाग लिन नदिने तयारी गरेको छ।
- उम्मेद्वारहरुले भौतिक रुपमा करिब १५ दिन मात्रै प्रचारप्रसार गर्न पाउने गरी निर्वाचन आयोगले कार्यक्रम तालिका बनाएको छ।
२० असोज, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रम तालिकाको खाका बनिसकेको छ ।
निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोतले भन्यो, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।’
आयोगसम्वद्ध स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् ।
आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।
आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्नेगरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ ।
विगतका निर्वाचनमा मनोनयन दर्ता गर्नासाथ उम्मेद्वारहरु प्रचारप्रसारमा जान पाउँथे । यसपटक निर्वाचन आयोगलाई त्यसलाई साँघुरो बनाउने तयारी गरेको छ ।
उम्मेद्वारहरुले भौतिक रुपमा निर्वाचन प्रचारप्रसारका लागि करिव १५ दिनको समय मात्रै पाउनेगरी अवधि तोक्नेबारे आयोगमा छलफल चलेको छ ।
त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् ।
‘खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढ्यो भनेर विगतमा व्यापक गुनासो आएको थियो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन प्रचारप्रसारका लागि दुई साताभन्दा बढी समय राख्नुहुँदैन भन्ने कुरा आएको छ । त्यसै अनुसार नै कार्यक्रम तालिकाको खाका बनेको हो ।’
आयोगको बैठकले निर्वाचन कार्यक्रम तालिका तयार गरेपछि मंगलबार बृहत छलफल गर्ने तयारी छ ।
प्रधानमन्त्रीको उपस्थितीमा आयोगका पदाधिकारीहरुसहित सबै मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, मुख्यसचिवसहित सबै सचिवहरुको बैठकमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनेको हो ।
प्रतिक्रिया 4