+

स्लिप डिस्क के हो ? यो किन हुन्छ ? कसरी बच्ने ?

२०८२ असोज  २२ गते १२:५१ २०८२ असोज २२ गते १२:५१
Shares
स्लिप डिस्क के हो ? यो किन हुन्छ ? कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभरमा लगभग १.५ प्रतिशत मानिसलाई जीवनमा कुनै न कुनै समयमा स्लिप डिस्कको समस्या हुन्छ भने भारतमा हरेक वर्ष २ प्रतिशतलाई हुन्छ।
  • स्लिप डिस्कमा कमर वा घाँटी नजिक दुखाइ, खुट्टा वा औँलाहरू झमझमाउने, र मांसपेशीमा कमजोरी देखिन्छ।

कम्मरमा दुखाइ हुन्छ ? अचानक खुट्टा झमझमाउँछ ? घाँटी दुख्ने र झमझम गर्ने हुन्छ ? यी स्लिप डिस्कका लक्षणहरू हुन सक्छन् ।

‘साइन्स डायरेक्ट’मा प्रकाशित एक अध्ययनका अनुसार, विश्वभरमा लगभग १.५ प्रतिशत मानिसहरूलाई जीवनमा कुनै न कुनै समयमा स्लिप डिस्कको समस्या हुन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अर्को अध्ययनका अनुसार, हाम्रो छिमेकी मुलुक भारतमा हरेक वर्ष लगभग २ प्रतिशत मानिसहरूलाई स्लिप डिस्कको समस्या हुन्छ ।

हाम्रो मेरुदण्ड धेरै साना हड्डीहरू मिलेर बनेको हुन्छ ।  यी हड्डीहरू टाउकोदेखि कमरसम्म एक कडीमा जोडिएका हुन्छन् ।  यी हड्डीहरूको बीचमा नरम कुसनजस्ता डिस्कहरू हुन्छन् ।

गाडीमा शक एब्जर्बर राखिएको हुन्छ यसले गाडी गुडाउँदा खाल्डाखुल्डीमा परेर झट्का लाग्दा पनि सन्तुलनमा राख्न मद्दत गर्छ र गाडी सहज रूपमा चल्छ ।

त्यसैगरी हाम्रो मेरुदण्डका यी डिस्कहरूले झट्का सोस्छन् र हड्डीहरूलाई लचिलो बनाउँछन् । जब यी डिस्कहरू आफ्नो ठाउँबाट सर्छन् वा फाट्छन्, त्यसलाई स्लिप डिस्क भनिन्छ । कहिलेकाहीँ यी लक्षणहरू यति खराब हुन सक्छन् कि हिँडडुल गर्न पनि गाह्रो हुन्छ ।

स्लिप डिस्क के हो ?

यदि कुनै ठूलो झट्का लाग्यो भने डिस्क आफ्नो ठाउँबाट सर्न सक्छ वा फाट्न सक्छ । डिस्कबाट जेलजस्तो पदार्थ बाहिर निस्किएको पनि हुनसक्छ, जसलाई स्लिप डिस्क वा हर्निएटेड डिस्क भनिन्छ ।

स्लिप डिस्कका प्रकार

प्रोट्रूजन : जब डिस्कको बाहिरी भाग आफ्नो ठाउँबाट सर्छ तर पूर्णरूपमा फाट्दैन ।

एक्सट्रूजन : जब डिस्कको जेलजस्तो पदार्थ सतहबाट बाहिर निस्किन्छ, तर डिस्कभित्रै रहन्छ ।

सीक्वेस्ट्रेशन : जब डिस्कको भित्री जेलजस्तो पदार्थ पूर्णरूपमा बाहिर निस्केर मेरुदण्डमा दबाब सिर्जना गर्छ ।

बल्जिङ डिस्क : जब सम्पूर्ण डिस्क हल्का फुल्छ, तर फाट्दैन ।

कम्मर नजिक स्लिप डिस्क भएको अवस्थामा

-कमरमा दुखाइ

-खुट्टा झमझम हुने वा लाटो हुने

-मांसपेशीमा कमजोरी

-एउटा खुट्टामा तलतिर तीव्र दुखाइ

घाँटी नजिक स्लिप डिस्क भएको अवस्थामा

-घाँटीमा दुखाइ

-काँध र हातमा दुखाइ

-औँलाहरू झमझमाउने

-टाउको घुमाउँदा दुखाइ बढ्नु

स्लिप डिस्कका कारणहरू

स्लिप डिस्कको समस्या सामान्यता ३० देखि ५० वर्षको उमेरपछि बढी देखिन्छ । उमेर बढ्दै जाँदा मेरुदण्डका डिस्कहरू कमजोर हुन्छन् । यसले गर्दा तिनीहरू फाट्ने वा कडा हुने जोखिम बढ्छ । तर, गलत जीवनशैली र धेरै भारी वजन उठाउँदा यो समस्या कम उमेरमा पनि हुन सक्छ ।

मुख्य कारणहरू

-उमेर बढ्दै जाँदा डिस्क कमजोर र कडा हुन्छ ।

-भारी वजन उठाउँदा पिठ्यूँको सट्टा कमरमा जोर पर्न सक्छ ।

-अचानक झट्का लाग्दा, चोट लाग्दा डिस्क फाट्न सक्छ ।

-गलत तरिकाले बस्दा मेरुदण्डमा दबाब पर्छ ।

तौल बढेर अधिक तौल भए डिस्कमा दबाब बढ्छ ।

धूम्रपान गर्ने व्यक्तिलाई शरीरमा अक्सिजनको कमीले डिस्क कमजोर हुन सक्छ ।

उपचार के ?

औषधि : हल्का दुखाइका लागि पेनकिलर दिइन्छ, र यदि दुखाइ नसामा महसुस भइरहेको छ भने गाबापेन्टिनजस्ता औषधिहरू दिइन सक्छ ।

फिजियोथेरापी : व्यायाम र मसाजले दुखाइ कम गर्न सकिन्छ ।

इन्जेक्सन थेरापी : गम्भीर अवस्थामा स्टेरोईड इन्जेक्सन दिइन्छ ।

शल्यक्रिया : यदि ६ हप्तासम्म उपचार गर्दा पनि दुखाइ धेरै छ भने शल्यक्रिया गर्न सकिन्छ ।

स्लिप डिस्कबाट कसरी बच्ने ?

डिस्कको विशेषतामा यो मेरुदण्डका हड्डीहरूको बीचमा रहँदा तिनलाई कुसन प्रदान गर्छ र सम्पूर्ण शरीरलाई लचिलोपन दिन्छ । हामी जति हिँडडुल गर्छौं र व्यायाम गर्छौं, डिस्कहरू स्वस्थ रहन्छन् । यदि बिलासी जीवनशैली अपनाउँछौँ वा लामो समयसम्म एउटै पोजिसनमा बस्छौँ भने स्लिप डिस्कको समस्या हुन सक्छ ।

-यसबाट बच्न नियमित हल्का व्यायाम गर्नुपर्छ ।

-सही पोजिसनमा बस्नु र हिँड्नुपर्छ, सधैँ सिधा बस्नुपर्छ, झुकेर हिँड्नु हुँदैन ।

-स्वस्थ आहार लिने र तौल नियन्त्रणमा राख्ने ।

-लामो समयसम्म एकै ठाउँमा बस्नबाट जोगिनुपर्छ ।  बीच–बीचमा ब्रेक लिएर उठेर हिँडडुल गर्नुपर्छ ।

-धेरै भारी तौल उठाउँदा घुँडाको सहारा लिनुपर्छ,  पिठ्यूँमा दबाब दिनु हुँदैन ।

स्लिप डिस्कबारे केही प्रश्न र उत्तर

के स्लिप डिस्क आफैँ ठिक हुन सक्छ ?

हल्का स्लिप डिस्क आफैँ ठिक हुन सक्छ । यसमा केही हप्ता वा महिना लाग्न सक्छ । आवश्यक परे औषधि र फिजियोथेरापी लिनुपर्ने हुन्छ । गम्भीर अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ ।

स्लिप डिस्कबाट पूर्णरूपमा बच्न सकिन्छ ?

यदि सही पोजिसन अपनाइयो, नियमित व्यायाम गरियो, भारी वजन उठाउनबाट जोगियो र स्वस्थ आहार लिइयो भने स्लिप डिस्कबाट बच्न सकिन्छ ।

स्लिप डिस्कमा हिँडडुल गर्दा समस्या बढ्छ ?

हल्का गतिविधि र हिँडाइले दुखाइ कम हुन सक्छ ।  तर, यस समयमा धेरै झुक्ने वा भारी काम गर्नबाट जोगिनुपर्छ ।

स्लिप डिस्कको समस्या पूर्णरूपमा ठिक हुन सक्छ ?

सही उपचार, व्यायाम र स्वस्थ जीवनशैली अपनाएर यो समस्या नियन्त्रणमा आउन सक्छ । तर, केही अवस्थामा यो बारम्बार हुन सक्छ, त्यसैले सावधानी आवश्यक छ ।

स्लिप डिस्कमा कस्ता खानाहरू फाइदाजनक छन् ?

हड्डीहरूलाई बलियो राख्न दूध, दही, बदाम, हरियो सागसब्जी र भिटामिन डी युक्त खानाहरू फाइदाजनक हुन सक्छन् ।

स्लिप डिस्कमा कस्ता व्यायाम गर्नुपर्छ ?

डाक्टरको सल्लाहमा स्ट्रेचिङ, कोर स्ट्रेन्थ व्यायाम, योग र हल्का फिजियोथेरापी गर्न सकिन्छ । तर डाक्टरको सल्लाहबिना कुनै पनि व्यायाम गर्नुहुँदैन ।

स्लिप डिस्क
डा. सरोजकुमार सुवाल
लेखक
डा. सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय