खगराज बरालको ‘प्रतिरूप’ उपन्यास साङ्ग्रिला मिडिया ग्रुप प्रालिले २०८१ सालमा बजारमा ल्याएको छ। २३८ पृष्ठ र ११ भागमा संरचित यस उपन्यासमा औसत नेपालीको जीवन भोगाइको सजीव चित्रण छ।
यसमा पोखरामा अध्ययन गरी जागिरको सिलसिलामा पोखरा छोडेका नवीनको जीवनसङ्घर्ष र कालीको मार्मिक जीवनगाथाको वर्णन छ। नवीनको माध्यमबाट कालीको जीवन चित्रण गरिएको भए तापनि काली नै उपन्यासकी वास्तविक केन्द्रीय पात्र हुन्।
उपन्यासको कथावस्तु रुड्की (भारत) मा अध्ययनरत निर्मलले लेखानी, उदयपुरका नवीन दाहाललाई पठाएको पत्रबाट सुरु हुन्छ। निर्मलले नवीनलाई पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा पढ्दा सहयोग गरेका थिए। नवीनले उदयपुरको चन्द्रावती प्राथमिक विद्यालय र जनता कालिका निम्न माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिए।
त्रिवेणी माध्यमिक विद्यालय, कटारीबाट एसएलसी उत्तीर्ण गरेपछि उनले गाईघाटमा नागरिकता बनाई पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर अध्ययन पूरा गरे। त्यसपछि हेडसर र नरेश सरको सहयोगमा सिँचाइ विभाग, पुल्चोकबाट करार नियुक्ति लिई भैरहवास्थित मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्टमा जागिरे जीवन सुरु गरे।
भैरहवामा एक दिन घुम्ने क्रममा उनले लुम्बिनी चोकमा रिक्सा दुर्घटनामा घाइते भएकी एक महिलालाई साथी परमानन्दको सहयोगमा भीम अस्पताल पुर्याउँछन्। होस आएपछि ती महिला—काली बस्नेतले—नवीनलाई ‘प्रबिन’ भनेर बोलाउँछिन्, जसले कथावस्तुलाई थप रहस्यमय बनाउँछ। नवीनले मानवीय भावनासहित गरेको यो निःस्वार्थ सहयोग नै नवीन र ‘जयकाली भोजनालय’ चलाउने कालीको सम्बन्ध गाँस्ने कडी बन्छ।
दुर्घटनामा परेकी कालीको जीवन कथा नवीन र पाठक दुवैका लागि अकल्पनीय हुन्छ। किनकि कालीका जीवनसाथी बन्ने प्रबिन, भित्ताकोरे, ड्राइभर र शङ्करले उनको यात्रालाई आधा बाटोमै वा अधुरै छोडेका थिए। उपन्यासमा कालीलाई गहिरोसँग चिन्नु नै नवीनको जीवनको नयाँ मोड बनेको छ। नवीन कालीका लागि मात्र होइन, पाठकहरूका लागि पनि एक प्रेरणादायी पात्र बनेका छन्।
कालीको मानसिकता एक विधवा महिलाले समाजमा टिक्नका लागि भोग्ने मानसिक तनावको प्रतिबिम्ब हो। उनका निर्णय, सङ्घर्ष र अपेक्षाले समाजमा महिलाहरूको मानसिक अवस्थालाई उजागर गर्छ। यसको विपरीत, नवीनको मानसिकताले परम्परागत मूल्यहरूसँग जुँध्दै परिवर्तन खोज्ने शिक्षित युवा पुस्ताको प्रतिनिधित्व गर्छ।
नवीन परमानन्दसँग फिल्ड जाँदा गैरकट्टी निमाविका विद्यार्थी मैदान गर्न विद्यालयबाहिर गएको प्रसङ्गले विद्यालयको भौतिक अवस्था र शिक्षाको सामाजिक प्रभाव दयनीय देखाएको छ। मैदान (पृष्ठ ७४) शब्दले त्यहाँको स्वास्थ्य, पूर्वाधार, शिक्षा तथा सरसफाइको दयनीय अवस्थालाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ। उपन्यासको कथालाई वास्तविक, स्थानिक र आञ्चलिक बनाउन निम्न प्रसङ्गहरू उपयोगी छन्:
बिरालोले बाटो काट्दा हुने अपसकुन,
मोटरसाइकलले हानेर गाई भुइँमा पछारिँदा परमानन्दले गाईवालालाई गरेको गाली,
नौला मानिसले विद्यालयतिर हेर्दा जिशिकाबाटै आएका हुन् कि भन्ने हेडसरको डर,
गाउँमा सामाजिक कार्य हुँदा विद्यालय बन्द हुने अवस्था,
पानीसँगै सक्खर वा चिनी दिने चलन र ताडी खाने चलन,
होटल नपाएर जमिन्दार वा हेडसरकहाँ बस्नुपर्ने अवस्था,
फिल्ड भ्रमण र डेराबाट साइकल चोरिएको वर्णन।
यस्तै, ताडी लागेकै अवस्थामा परमानन्दले गैरकट्टीकी मिस वा कालीकी छोरी अस्मितासँग बिहे गर्नु भनेको र नवीनले खाना खान थालेपछि कालीको अनुहारमा खुसी देखिएको प्रसङ्ग वर्णनले कथावस्तुलाई कुतूहलमय बनाएको छ। उपन्यासमा महिलाको प्रेमलाई पुरुषले धोकाका रूपमा हेरेको देखाइएको भए पनि उपन्यासकारले परमानन्द पात्रमार्फत साँचो प्रेम त अनुभूति हो, अझ भन्नुपर्दा त्याग पनि हो (पृष्ठ ६८) भन्ने दर्शन प्रस्तुत गरेका छन्।
उपन्यासकारले पाँचौँ परिच्छेदमा परमानन्दको नेतृत्वमा पहिलोपटक रेल चढेर काली, अस्मिता र नवीन गोरखपुर गएको, विदेशमा चनाखो हुनुपर्ने तथा अस्मिताले नवीन दाइ भनेर सम्बोधन गर्दा आत्मीयता प्रकट भएको कुरालाई वर्णन गरेका छन्। यस खण्डसम्म सानातिना घटनाहरूको वर्णन गरिए पनि कथावस्तु मूलतः नवीनको जागिरे जीवन र घुमघाममा केन्द्रित रहन्छ। यसपछि नवीनको बी.ई. मा नाम निस्कनु, काठमाडौँबाट भैरहवा आउँदा यात्रामा भोगेका दुःख, जागिरबाट राजीनामा दिनु, बिदाइको समयमा काली र अस्मितालाई उपहार दिनु जस्ता प्रसङ्गहरू आउँछन्, जससँगै कालीको विवाहलाई पूर्वदीप्ति (फ्ल्यासब्याक) गरिएको छ।
कालीको बिहे मेघालयमा कोइला खानीमा काम गर्ने प्रबिनसँग भएको थियो। बिहेपछि उनी नयाँ दुलही लिएर दराकबाट पोखराको यात्रामा निस्किए। बाटामा काली माया प्रेमका कुरा गर्न खोज्थी, प्रबिन टार्न खोज्थ्यो। केही दिन ससुराली बसेर प्रबिन कालीलाई माइतीमा छाडेर मेघालयतिर लाग्यो। तिजको बेला रामघाट, पोखरामा बसिरहेको बेला दराकका केही मानिस आए र ससुरा खसेकाले घर जानुपर्ने बताए। काली घर गइन् तर मेघालयमा कोइलाखानीमा प्रबिनको निधन भएर उतै अन्त्येष्टि गरी यहाँ काजकिरिया गरिएको रहेछ। यसरी कालीमा वैधव्यको चोट पर्न गयो। काम सकेर उनी माइतमा बस्ने गरी फर्किन्।
केही समयपछि मलेरियाको खोप लाउन आउने भित्ताकोरेले कालीलाई गर्भवती बनाएर छोड्छ। पेटको बच्चा फाल्न अनेक प्रयत्न गरिए तर डाक्टरले नमिल्ने भनेपछि एक ड्राइभरसँग टीका लाएर पठाइयो। ड्राइभर बच्चा स्विकारेर कालीलाई पत्नी मान्न तयार भयो तर पछि ऊ पनि जेल परेपछि कालीमा वैधव्य, सन्तान हुर्काउने चिन्ता र पेट पाल्ने समस्या आइलाग्यो। उनले माइतीमा बाससम्म पाइन्।
अस्मिताको जन्मदर्ता, नागरिकता केही भएन। माइतीमा पनि राम्रो व्यवहार नभएपछि कालीले सरिता दिदीको सल्लाहमा शङ्करसँग बिहे गरिन्। शङ्कर पनि घरमा राम्रो नभएर क्याम्पमा बसेर काम गर्थे। बिहेपछि दुवैले क्याम्प छाडेर भैरहवातिर लागे। शङ्कर भैरहवाको हिमाल राइस मिलमा काम गर्न थाले। शङ्करसँगका तीन-चार गर्भ खेर गए, कालीले शङ्करलाई सन्तान दिन सकिनन्। बाबु र दाजुका डरले शङ्करले पनि विवाह दर्ता र जन्मदर्ता गर्न मानेनन्। यहाँ महिलाको जीवनमा पुरुषको निर्भरता रहने कुरालाई जीवनको यथार्थ भोगाइका रूपमा प्रस्तुत गर्न उपन्यासकारले महिलाकै माध्यमबाट ‘कस्तो रहेछ छोरीको जुनी, अरूको छोरा आफ्नो हुनी’ (पृष्ठ १३७) भनाएका छन्।
अस्मिताले स्कुलमा खुब हेपाइ सही। अन्त्यमा कक्षा ९ मा एसएलसी फाराम भर्दा बाबुको नामका ठाउँमा ‘रामबहादुर बस्नेत’ लेखेर भरी, जुन उसकै आमाले कक्षा ५ मा भर्ना गरिदिँदा लेखिदिएको काल्पनिक नाम थियो। यसै दिनदेखि अस्मिताले विवाह नगरी आमासँगै बस्ने दृढ निर्णय गर्छिन्। आमाको अवस्था बोध भएपछि अस्मिताले पनि ‘भो, मलाई केही चाहिँदैन। कुनै आशा पनि छैन जीवनमा। आशा पूरा भएन भने निराश होइन्छ’ (पृष्ठ २१३) भनेबाट युवतीमा समेत गहिरो निराशा आएको देखाइएको छ। यस खण्डमा एक महिला समाजको अगाडि कसरी विवश हुन्छिन् र समाजले के-के दोष लगाउँछ भन्ने देखाउन खोजिएको छ।
नवीन घर फर्केर आमालाई कालीको कथा सुनाउँछन्। आमाले सुनाएको कथाबाट नवीनले थाहा पाउँछन् कि प्रबिनको गर्भ आमाको पेटमा रहँदा नै उनको मृत्यु भएको थियो र शम्भुले आमासँग विवाह गरेर उनलाई अपनाएका थिए। यही कारणले कालीले रिक्सा दुर्घटनामा ‘प्रबिन’ को नाम लिएको सत्यता खुल्छ। यो सबै सुनेपछि प्रबिन, काली, अस्मिता, बाबु र आफूलाई सम्झेर नवीन असमन्जसमा पर्छन्।
उपन्यासमा महिलाले नेपाली समाजमा भोग्नुपर्ने वास्तविकताको चित्रण छ। अझ एकल महिला र कसैको प्रलोभनमा परी गर्भवती बनेर बच्चा जन्माएका र बच्चाको बाबु पहिचान नभएका आमा र बच्चा दुवैका लागि हाम्रो समाज प्रतिगामी छ। उपन्यासकारले काली पात्रका माध्यमले समाजको यस पक्षलाई उजागर गरेका छन्। उपन्यासमा महिलाले पुरुषमा आश्रित भएर बाँच्नुपर्ने र आफ्नो स्वाभिमान बचाएर जीवनयापन गर्न निकै ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्थाको मिहीन विश्लेषण गरिएको छ।
कालीका मुखबाट ‘मेरो जीवनमा धेरै लोग्नेमान्छे आए, तर कुनै पनि लोग्ने भएनन्’ भन्ने निस्कनु, समाजको नजरबाट बच्न लोग्ने नहुँदा पनि सिन्दूर, चुरा, पोते लगाएर हिँड्नु, बाबु नभएकै कारण छोरी अस्मिताले नागरिकता नपाउनु, पढाइ रोकिनु र जागिर खान नसक्नु, छोरीको भविष्यका लागि धेरै प्रयत्न गर्दा पनि स्थायी समाधान ननिस्कनु, तीन पटक बिहे गर्दा पनि नागरिकता, विवाह दर्ता र छोरीको जन्मदर्ता समेत गराउन नसक्नु समाजले कालीमाथि गरेका अत्याचार हुन्। उपन्यासकारले यसलाई सहज र मर्मस्पर्शी विश्लेषण गरेका छन्। उपन्यासकारले गौना परम्परा, विधवा विवाह, सौतेनी व्यवहार र अन्धविश्वास जस्ता विविध सामाजिक पक्षको चर्चा गरे पनि ती सन्दर्भमा महिलाले न्याय पाएको देखिँदैन।
उपन्यासले नेपाली समाजका लैङ्गिक भेदभाव, गरिबी, परदेशी जीवन, पुनर्विवाह, जातीय विविधता, क्षेत्रीय विभेद, आर्थिक असमानता, शिक्षा र अवसरहरूमा असमान पहुँच जस्ता पक्षलाई समाजका प्रतिरूपका दृष्टिले हेरेका छन्। नवीनले जन्म दिने बाबु प्रबिनको मृत्यु हुँदा पनि कर्म दिने बाबु शम्भुबाट शिक्षादीक्षा पाएको देखाइएको छ। आमाले ‘तिम्रा बाबा त शम्भु नै हुन् तर बाचाहिँ प्रबिन’ (पृष्ठ २३२) भनी बाबुको कर्तव्य र भूमिका बोध गराएकी छन्। तर अस्मिताको जन्मदिने बाबु (भित्ताकोरे) ले कालीलाई छोडेपछि डाइभर वा शङ्कर कसैबाट पनि छोरीले बाबुको नाम नपाएको वर्णन गरेर उपन्यासकारले पुरुषसत्ता समाजमा हाबी रहेको देखाएका छन्।
उपन्यासमा हेडसर र नरेश सरलाई शिक्षाप्रेमी र सहयोगी पात्रका रूपमा देखाइएको छ भने नवीनको सहकर्मी परमानन्दको माध्यमबाट तराईको भौगोलिक, सामाजिक, सांस्कृतिक र मानवीय धरातलको समीक्षा गरिएको छ। नवीनको जीवनमा हेड सर र नरेश सरको मार्गदर्शन महत्त्वपूर्ण छ। यसबाट युवावस्थामा सही मार्गदर्शनका लागि अभिभावक वा शिक्षक रूपी असल गुरुको आवश्यकता हुने कुरा औँल्याइएको छ।
प्रतिरूप ग्रामीण जनजीवनका सङ्घर्ष, नारी जीवनका यथार्थ, आर्थिक विषमता, शिक्षाको पहुँच, विधवा जीवनका चुनौती, सन्तानका लागि आमाले गर्ने त्याग, समाजका परम्परागत मान्यता र चुनौतीको आख्यान हो।
प्रतिरूप उपन्यासको कथा प्रमुख पात्र नवीन र काली वरिपरि केन्द्रित छ। पोखरामा अध्ययन गरी जागिरका क्रममा भैरहवासम्म पुगेका नवीनको जीवनयात्रा र उसले भेटेकी काली बस्नेतको विषमता उपन्यासको मेरुदण्ड हो। यसमा नेपाली युवाको सामाजिक गतिशीलताको प्रतिनिधित्व छ। नवीनको करार सेवाबाट भैरहवा पुगेपछि रिक्सा दुर्घटनामा परेकी कालीलाई सहयोग गर्दै सुरु भएको सम्बन्ध कालीको जीवनयात्रा बुझ्ने माध्यम बन्छ। यहाँ नायक पात्र (नवीन) मार्फत केन्द्रीय पात्र (काली) को कथानायकत्व उजागर गर्ने आधुनिक कथन प्रविधि प्रयोग भएको देखिन्छ। यसमा नारी जीवन र लैङ्गिक असमानताको विमर्श छ। काली उपन्यासकी वास्तविक केन्द्रीय पात्र हुन्। उनको जीवन विघ्न र समाजले थोपेको पीडा दुवैको प्रतिनिधि हो। प्रबिन, भित्ताकोरे, ड्राइभर र शङ्कर गरी चार पुरुषको आगमन र बिदाइ उनीभित्रको सङ्घर्षको प्रतिरूप हो।
नारीवादी अध्ययनअनुसार यसमा पितृसत्ताको नियन्त्रण, स्त्री शरीरमाथिको प्रभुत्व र निर्णय अधिकारको अभाव, समाजद्वारा वैधता र पहिचान नदिँदा उत्पन्न मनोसामाजिक द्वन्द्वको प्रस्तुति स्पष्ट देखिन्छ। कालीका मुखबाट निस्केको ‘धेरै लोग्ने आए तर कुनै पनि लोग्ने भएनन्’ भन्ने वाक्य नारीको परिचय, पहिचान र अस्तित्व सङ्घर्षको गहिरो मनोवैज्ञानिक अभिव्यक्ति हो।
उपन्यासमा संरचनात्मक कार्यवादको पनि प्रभाव देखिन्छ। यसमा समाजको संरचना, परिवार, विवाह, जन्मदर्ता, शैक्षिक संस्था सुदृढ नभए व्यक्तिको विकास अवरुद्ध हुने देखाइएको छ। काली र अस्मिताको अवस्था सामाजिक बहिष्करण सिद्धान्तमा आधारित छ। बाबुको पहिचान नभएकाले नागरिकता नपाउने, शैक्षिक र रोजगारी अवसर गुमाउने, विधवा वा एकल महिलाप्रति सामाजिक पूर्वाग्रह, अन्धविश्वास, रुढिवाद र जातीय असमानताको चित्रण बोज्र्यूँको सामाजिक पुँजी सिद्धान्तसँग पनि मेल खान्छ।
नवीनको फिल्ड भिजिटका प्रसङ्ग, विद्यालयको अभावग्रस्त अवस्था, शिक्षकको सामाजिक दबाब, बिरालोले बाटो काट्दा हुने अपशकुन जस्ता अन्धविश्वासले ग्रामीण सामाजिक संरचना, सांस्कृतिक मार्गदर्शिता र विकासमा असमानताको चित्रणले ग्रामीण जीवनको मान्यतागत संसार, संसाधन अभाव र सामाजिक-सांस्कृतिक चुनौती प्रस्तुत गरेको छ। यो ह्याबरमासको जीवनविश्व (Life-world) सिद्धान्तसँग सापेक्ष देखिन्छ।
यसमा पितृप्रधानता र मातृत्वको शक्ति वर्णन छ। उपन्यासमा बाबुको पहिचानभन्दा आमाको अस्तित्व र त्याग महत्त्वपूर्ण देखिन्छ। नवीनले जन्मदिने होइन, कर्म दिने बाबुबाट सिकेको शिक्षाले मातृत्व र पालनपोषण शक्तिको सामाजिक नैतिक मूल्य पुष्टि गर्छ। यता अस्मिताको ‘बाबुको नाम आफ्नै आमाले राखिदिएको’ अवस्था राजनीतिक नागरिक असमानता र लैङ्गिक नागरिकता समस्याको यथार्थ हो।
निष्कर्ष
समग्रमा, ‘प्रतिरूप’ लैङ्गिक अन्याय र नारी अस्मिता, पितृसत्तात्मक संरचना, मातृत्व र जिम्मेवारी, शैक्षिक र आर्थिक असमानता, ग्रामीण समाजको विकास चुनौती, प्रेम, त्याग र मानवीयताको गहिरो मनोसामाजिक प्रतिबिम्ब हो। यो नेपाली समाजको यथार्थवादी दर्पण हो।
कालीको जीवन कथामार्फत नारी अस्तित्व, पहिचान, अधिकार, सामाजिक न्याय, संरचनात्मक असमानता र आधुनिक चेतनाको उदय प्रस्तुत गरिएको यो उपन्यास नारीको जीवन केवल भावनाको इतिहास होइन, प्रतिरोधको इतिहास पनि हो भन्ने भनाइको पुष्टि हो।
प्रतिक्रिया 4