+
+
Shares

मेलम्ची खानेपानीको अवरोध हटाउन कुलमानले गरे हेलम्बु गाउँपालिका अध्यक्षलाई आग्रह

प्रधामन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीले मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ र मन्त्रालयको जिम्मेवारी आफैं लिएकी छिन्।
  • हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र विभिन्न माग पूरा गर्नुपर्ने बताउनुभएको छ।

२४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।

विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौं उपत्यकाकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन् ।

प्रधामन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् । हाल खानेपानी मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिएकी छिन् ।

विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानी समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरे । उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताए ।

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडले बिक्री गरेबापत २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने बताए ।

तत्कालीन खानेपानीमन्त्रीसँग २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?