News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने माग राख्दै एमाले सांसद सरोजकुमार यादवको मुख्यमन्त्री नियुक्तिको विरोध गरेका छन्।
- जनमत पार्टीभित्रको विवादले मधेश प्रदेश सरकार अस्थिर भएको र पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले अध्यक्ष राउतको निर्देशनमा भदौ २४ मा राजीनामा दिएको खुलासा भएको छ।
- जनमतले कांग्रेस र लोसपासँग सरकार गठनमा दोहोरो चरित्र देखाएको र यसले मधेश प्रदेशमा राजनीतिक संकट निम्त्याएको महासचिव चन्दन सिंहले बताएका छन्।
२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारीले एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि त्यसको विरोधमा जनमत पार्टीका अध्यक्ष सिके राउतले लेखे- ‘मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’
उनले मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने काममा प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र अदालत लगायत संलग्न रहेको भन्दै उनीहरूप्रति आक्रोश पोख्दै यस्तो लेखेका हुन् ।
प्रदेश सभामा भएका पछिल्ला घटनाक्रम र सोमबार बिहान प्रदेश प्रमुख भण्डारीले गरेका गतिविधिससम्म आइपुग्नुको एउटा कारण भने जनमत पार्टी नै हो । जनमतभित्र सिके राउतकै कार्यशैलीप्रति पार्टीभित्र चुलिएको विवादले प्रदेश सरकार अस्थिर हुने पछिल्लो बीउ रोपेको थियो ।
यदि जनमत पार्टीभित्र किचलो उत्पन्न नभएको भए मधेश अहिले नै सरकार परिवर्तनको अस्थिरतामा नपुग्न पनि सक्थ्यो ।
यो घटनाक्रम बुझ्न गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्म पुग्नुपर्ने हुन्छ ।
जनमत पार्टीबाटै बनेका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए । यो राजीनामा घोषणाका लागि अध्यक्ष राउतले नै निर्देशन दिएको पूर्वमुख्यमन्त्री सिंहको दाबी छ ।
‘मैले आत्तिएर आफैं राजीनामा दिन खोजेकै होइन । अध्यक्ष सीकेले भनेपछि राजीनामा दिएको हुँ । अहिलेको अवस्थामा आउनुको सबै देन सीके जी को छ’ सिंहले भने ।
पार्टीले बनाएको मुख्यमन्त्री भएको हुँदा निर्देशन दिँदा हट्नुपर्ने जनमतका महासचिव चन्दन सिंह बताउँछन् । सिंहले भने,‘पार्टीले भनेपछि मान्नुपर्यो । त्यतिबेलाको त्यस्तै परिस्थिति थियो । मुख्यमन्त्रीबाट राजीनामा दिन भन्यौं ।’
जेनजी विद्रोहको दोस्रो दिन जनमतबाट मुख्यमन्त्री बनेका सिंहले सामाजिक सञ्जालबाट राजीनामा दिएका थिए । ‘नागरिकको ज्यानभन्दा ठूलो कुरा अरु केही छैन’ भन्दै भदौ २४ मा सिंहले राजीनामा दिएको घोषणा गरेका थिए ।
पार्टी अध्यक्ष राउतको निर्देशनमा सिंहले पद त्याग गरेका थिए । तर जब जेनजी आन्दोलनको ताप मत्थर भयो मुख्यमन्त्री सिंहले राजीनामाको वैधानिकता नरहेकाले नहट्ने अडान राखे । तर राउत लगायतका नेताहरू जसरी पनि उनलाई हटाएरै छोड्ने अडानमा उभिए ।
मधेश सरकारमा सुविधाजनक बहुमत प्राप्त गरेर सरकार चलाइरहेको जनमतले आफ्नै दलभित्र अस्थिरताको बीउ रोप्यो । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेसहित नेपाली कांग्रेसको समर्थनमा जनमत नेतृत्वको सरकार बनेको थियो ।
जेनजी विद्रोहपछि अन्य प्रदेशका मुख्यमन्त्रीहरूले पद त्याग गरेका थिएनन् । तर, जनमतका मुख्यमन्त्रीले हठात्मा राजीनामा दिएको घोषणा गरे । सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै संसदीय दलमा समेत विवाद उत्पन्न भयो ।
जनमतका मधेशका संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री सिंह र आफ्नो दलका मन्त्री फिर्ता बोलाएको पत्र प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र नै लेखे । जनमतबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिए पनि सिंहले भने सामाजिक सञ्जालबाट दिएको राजीनामा वैध नहुने भन्दै पदमै रहिरहे । नयाँ सरकार गठन हुने अवस्था देखेपछि सिंह राजीनामा दिन बाध्य भए ।
मधेशमा नयाँ सरकार बनाउने क्रममा समेत जनमतले परिपक्व निर्णय गरेन । नयाँ सरकार निर्माणमा दोहोरो चरित्र देखायो । कांग्रेस नेतृत्वमा सरकार गठन गर्न सहमत भएको जनमत दुईदिन पछि त्यसबाट पछि हटेर लोसपाको नेतृत्वमा सरकार बनाउन सहमत भयो ।
जनमतका पूर्व नेता डा. शरदसिंह यादव पछिल्लो परिस्थिति निर्माणमा जनमतको भूमिकालाई दोषी देख्छन् । ‘पहिले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गर्नुभयो । त्यो निर्णयबाट हटेर लोसपाको नेतृत्वमा सरकार बनाउन लाग्नुभयो,’ जनमतका पूर्व प्रवक्ता समेत रहेका यादव भन्छन्,जनमत आफ्नो निर्णयमा कायम नहुँदा अहिले संघीयता माथि प्रश्न उठ्ने अवस्था बन्यो ।’
लोसपाको नेतृत्वमा जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी समाजवादीले सरकार बनाउने सहमति गरे । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमत बनेपनि उक्त सरकार २५ दिन बढी टिकेन ।
जनमतभित्रैको विवादले निवर्तमान मुख्यमन्त्री सोनलले विश्वासको मत प्राप्त गर्न नसक्ने परिस्थिति बनेको थियो । सोनलले मुख्यमन्त्रीको दाबी पेश गरेकै दिन पूर्व मुख्यमन्त्री सतिशसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह प्रदेश निर्वाचन कार्यालय पुगेर जनमत विभाजनपछि दीपक साह नेतृत्वको जनस्वराज पार्टीमा सनाखत गरेका थिए ।
उक्त मुद्दाबारे सर्वोच्च अदालतको आदेश आइसकेको छैन । सिंह र साहले पार्टीले आधिकारिकता पाएपछि मात्र सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिने बताउँदै सोनलले विश्वासको मत लिँदा सदनमा उपस्थित भएनन् ।
माओवादीका रहबर अन्सारी सहित जनमतका सिंह र साह अनुपस्थित रहँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्था बन्यो । बहुमतका लागि ५४ प्रदेश सदस्यको संख्या पुग्नुपर्ने हुन्छ ।
सोनल नेतृत्वको सरकार बनाउन र बहुमत जुटाउन हरसम्भव प्रयत्न लोसपा र जसपाले गरेका थिए । जसपाका प्रवक्ता मनिष सुमन पूर्वमुख्य मन्त्री सिंहका कारणले वर्तमान अवस्था आएको स्विकार्छन् । सुमनले अनलाइनखबरसँगले भने,‘त्यो बेला आफ्नो घर पनि जल्ने देखेपछि हतारमा सामाजिक सञ्जालमा राजीनामा दिनुभयो । पछि राजीनामा दिएकै छैन भन्नुभयो ।’
आफ्नै पूर्वमुख्यमन्त्रीले निभाएको भूमिकाबाट अहिलेको अवस्था आएको बारे जानकार जनमतका अध्यक्ष राउत पछिल्लो सम्पूर्ण दोष केन्द्र र एमालेलाई देख्छन् ।
उनी भन्छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’
पछिल्लो घटनाक्रममा जनमत दोषी नहरेको उक्त दलको दाबी छ । एमाले निकट प्रदेश प्रमुख र सभामुखका कारणले मधेशमा संकट आएको जनमतका महासचिव सिंहको दाबी छ । एमाले बाहेक अन्य दलहरु एकै ठाउँमा रहेको उल्लेख गर्दै अब अदालत जाने सिंहले जानकारी गराए ।
प्रतिक्रिया 4