News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन्।
- जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ विद्यार्थीको मृत्यु भएपछि कडरियाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका थिए।
- एमालेले ‘घर फर्क अभियान’ चलाएपछि राजीनामा दिएका ४२ जना केन्द्रीय सदस्यहरू पनि नियमित काममा फर्किएका छन्।
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ जना विद्यार्थीहरूको मृत्यु भएपछि उनले नैतिकताका आधारमा भन्दै सामाजिक सञ्जाल मार्फत् राजीनामा घोषणा गरेका थिए । उनीसँगै ठूलो संख्यामा केन्द्रीय नेताहरू, क्याम्पस कमिटीका पदाधिकारी लगायतले राजीनामा घोषणा गरेका थिए ।
तर, उनीहरूको राजीनामाबारे कुनै निर्णय भएको छैन । यस्तो अवस्थामा एमालेले ‘घर फर्क अभियान’ चलाएपछि कडरिया सहित राजीनामा दिएर निष्कृय रहेका अनेरास्ववियुका नेताहरू नियमित काममा फर्किएका छन् ।
अध्यक्ष कडरियाले सामाजिक सञ्जाल मार्फत् राजीनामा दिएर बसेका सबैलाई संगठनको काममा फर्कन आग्रह गरेका थिए । ‘नेकपा एमाले र अखिलबाट बाहिर रहनु हुने सम्पूर्ण कमरेडहरूलाई पार्टीको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्छु,’ कडरियाले लेखेका थिए ।

अध्यक्ष कडरिया आफै पनि आजबाट केन्द्रीय कार्यालयमा फर्किएका हुन् । उनको स्वागतमा अनेरास्ववियुका पदाधिकारीहरू सहितले जुलुस नै निकालेका थिए । ‘हाम्रो कार्यालयमा पनि तोडफोड भएको थियो । त्यसलाई हटाएर सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
अब नियमित काममा फर्किएको जानकारी दिएका अध्यक्ष कडरियाले राजीनामा दिएर बसेका र निष्क्रिय रहेका सबैलाई आ–आफ्नो भूमिकामा फर्कन आह्वान गरेका छन् ।
सचिव आकाश घर्तीका अनुसार राजीनामा दिएका ४२ जना केन्द्रीय सदस्यहरू पनि आजैबाट नियमित काममा फर्किएका छन् । जेनजी आन्दोलनमा विद्यार्थीहरूमाथि राज्यबाट चरम दमन भएपछि अनेरास्ववियुमा राजीनामा दिनेको लहर नै थियो ।

प्रतिक्रिया 4