News Summary
Generated by OK AI. Editorially reviewed.- जेनिया मोनेट पहिलो एआई गायिका हुन् जसले बिलबोर्ड रेडियो चार्टमा डेब्यू गरेकी छन्।
- मोनेटले सन् २०२५ को गर्मीयाममा गीत रिलिज गरेपछि धेरै बिलबोर्ड चार्टमा देखिएकी छन्।
- उनको प्रबन्धक रोमेल मर्फीले भने, 'एआईले कलाकारलाई प्रतिस्थापन गर्दैन' र यो नयाँ चुनौती हो।
कृत्रिम बौद्धिकता (एआई) जताततै फैलिएको छ । संगीत चार्ट पनि यसबाट अब अलग रहेन । बिलबोर्डका अनुसार, जेनिया मोनेट नामक एआई गायिका ‘बिलबोर्ड रेडियो चार्ट’ मा डेब्यू गर्ने पहिलो एआई गायिका बनेकी छन् ।
मोनेटले सन् २०२५ को गर्मीयाममा पहिलो पटक गीत रिलिज गरेदेखि अहिलेसम्म धेरै बिलबोर्ड चार्टमा देखिएकी छन् ।
जसमा हट गोस्पेल सङ्स (उनको गीत “लेट गो, लेट गडको लागि) र हट आर एन्ड बी सङ्स चार्ट (उनको गीत ‘हाउ वाज आइ सपस्प्ड टु नो’ को लागि) समावेश छन् ।
यतिबेला उनले, हलवुड मिडियासँग बहु-मिलियन डलरको रेकर्ड सम्झौतामा हस्ताक्षर गरेकी छन् जसलाई बिलबोर्डले ‘अ बिडिङ वार’ भनेको छ ।
हलिउड लामो समयदेखि एआई कलाकारले मानिसबाट काम खोसेकोमा पर्ने असरको बारेमा चिन्तित छ । (एआई अभिनेत्री टिली नोरवुडमाथि हालै भएको विवाद हेर्नुहोस्) तर चिन्ता जतिसुकै चर्को भए पनि, कलामा एआईको प्रयोग बढ्दै गइरहेको छ ।
इन्स्टाग्राममा मात्र १ लाख ४६,००० भन्दा बढी फलोअर्स भएकी मोनेटले उद्योग सशंकित भएपनि उपभोक्ता यस विचारप्रति खुला छन् भन्ने पुष्टि पनि गर्छ ।
मोनेटको एप्पल म्युजिक प्रोफाइलमा उनीबारे यस्तो लेखिएको छ, ‘केसिया कोल, के मिसेल र मुनी लङको उच्च अभिव्यक्तिपूर्ण, यथार्थवादी समकालीन आरएन्डबी गायिकको रूपमा प्रस्तुत गरिएको समग्र व्यक्तित्व हो’ भनेर व्याख्या गर्छ ।
मोनेटलाई मिसिसिपीकी कवि तेलिशा निक्की जोन्सले डिजाइन गरेकी थिइन् जसले गीत लेख्छिन् । मोनेटले सुनोको सहयोगमा प्रस्तुति दिइरहेको देखिन्छ ।
‘एक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स संगीत सिर्जना कार्यक्रम’ उनको बायोमा थप लेखिएको छ । मोनेटले अगस्टमा एल्बम “अनफोल्डेड“ रिलिज गरिन्, जसमा २४ गीतहरू थिए ।
मोनेटका प्रतिनिधिबाट जारी गरिएको प्रेस विज्ञप्तिमा एआई गायकको “सहज, भावपूर्ण आवाज“ र “मानवजस्तै प्रस्तुति“ को चर्चा गरिएको छ ।
तर आफू मोनेटको प्रबन्धक भएको र सीएनएनका भिक्टर ब्ल्याकवेलसँग कुरा गरेको बताउने रोमेल मर्फीले एआईका गीतले मानव गायक र गीतकारलाई प्रतिस्थापन गर्ने कुनै उद्देश्य नभएकोमा जोड दिए ।
‘एआईले कलाकारलाई प्रतिस्थापन गर्दैन । त्यो हाम्रो लक्ष्य होइन । यसले रचनात्मकतालाई घटाउँदैन र मानव अनुभवबाट टाढा लैजाँदैन’ उनले भने, ‘यो एउटा नयाँ चुनौती हो । कोहीले यसलाई अवसरको रुपमा लिएर आत्मसात गर्छन् भने कोही यसप्रति सशंकित हुन्छन् ।’
बिलबोर्डले हालै सार्वजनिक गरेको विवरणअनुसार, पछिल्ला केही महिनाहरूमा, कम्तिमा ६ जना एआई वा एआई-सहायता प्राप्त कलाकारले विभिन्न बिलबोर्डको श्रेणीमा डेब्यू गरेका छन् । बिलबोर्डले उक्त संख्यामा अझै बढी हुनसक्ने बताएको छ ।
प्रतिक्रिया 4