News Summary
Generated by OK AI. Editorially reviewed.- सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सिंहदरबारमा २६ कात्तिकमा वार्ता भएको छ।
- प्रसाईं समूहले ७ मंसिरबाट शान्तिपूर्ण आन्दोलन गर्ने र २७ बुँदे माग गृह मन्त्रालयलाई ज्ञापनपत्रमार्फत् बुझाएको छ।
- मन्त्रालयले संवैधानिक परिधिभित्र माग पूरा गर्ने सकारात्मक जवाफ दिएको र प्रसाईं समूहले दल दर्ता गरी चुनावमा जाने तयारी गरेको बताएको छ।
२६ कात्तिक, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भयो । गृह मन्त्रालयमा बुधबार भएको वार्तामा प्रसाईंका प्रतिनिधिले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
छलफलका क्रममा प्रसाईं समूहले ७ मंसिरबाट हुने आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने बताएको गृह मत्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । ‘उहाँहरूले आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने ।
यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको छलफलपछि प्रसाईं समूहले औपचारिक पत्र लेख्दै आफ्ना मागहरूबारे ज्ञापनपत्र बुझाउन मन्त्रालयसँग माग गरेको थियो । सोही अनुसार आजको समय तोकिएकाले ज्ञापनपत्र बुझाउन आएको मन्त्रालयका प्रवक्ता काफ्लेले बताए ।
प्रसाईंको तर्फबाट २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । जहाँ संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको माग राखेका छन् । पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।
त्यस्तै संविधान खारेज गरी बौद्ध किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।
त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाएर बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।
प्रसाईं समूहको तर्फबाट माधवप्रसाद खतिवडा नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापा मगर, तिजेन्द्रप्रसाद रायमाझी, मकबुल साह गरी ६ जना छलफलमा बसेका थिए । गृहमन्त्री अर्याललगायत मन्त्रालयका कर्मचारीसँग करिब २ घण्टा छलफल भएको बताइएको छ ।
उनीहरूले राखेका कतिपय माग राज्यले यसअघि नै पूरा गरिसकेको र केही मागहरूमा भने काम भइरहेको जवाफ मन्त्रालयले दिएको छ ।
‘संवैधानिक परिधिभित्र रहेर पूरा गर्ने मागमा गृह मन्त्रालय सकारात्मक छ भन्ने जवाफ दिएका छौं,’ मन्त्रालयका प्रवक्ता काफ्लेले भने ।
छलफलमा बसेका प्रसाईं समूहका व्यक्तिहरू भने वर्तमान सरकारले आफ्ना माग पूरा गर्ने आशा र अपेक्षा राखेका छौं भन्दै छलफलबाट निस्केका थिए । उनीहरूले संविधान विपरीतका मागहरू पनि राखेका छन् ।
छलफलकै क्रममा प्रसाईं समूहले दल दर्ता गरेर आफूहरू चुनावमा जाने तयारीमा रहेको पनि बताएको मन्त्रालय स्रोतले बतायो । ‘हामीसँग छलफल गर्दा उहाँहरूले दल दर्ताको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ । चुनावमा जाने इच्छा उहाँहरूले देखाउनु भएको छ,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ।
यता, छलफलबाट बाहिर निस्केपछि पत्रकारहरूसँग कुरा गर्दै महाअभियानका माधवप्रसाद खतिवडाले माग पूरा नभए आन्दोलन हुने बताएका छन् ।
‘हाम्रा मागप्रति संवेदनशील छौं भनेर मन्त्रीज्यूले भन्नुभएको छ । वार्ता र आन्दोलन दुवैको ढोका खुला छ । माग पूरा भए आन्दोलन रोकिन्छ । नत्र आन्दोलन जारी रहन्छ,’ उनले भने ।
आन्दोलन भने शान्तिपूर्ण हुने प्रसाईं समूहले बताएको छ । ‘यो मुलुकमा थुप्रै रक्तहीन क्रान्ति पनि भएका छन् । हामी कुनै हिंसात्मक प्रदर्शन गर्दैनौं । रगत नबगाइ व्यवस्था परिवर्तनका लागि आन्दोलनमा उत्रन्छौं,’ खतिवडाले भने ।
ढुंगामुडा नगर्ने, सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने, आगजनी नगर्ने दाबी प्रसाईं समूहले गरेको छ । तर सुरक्षा निकायले भने प्रसाईं समूहको आन्दोलन हिंसात्मक हुने विश्लेषण गरेका छन् । यो समूहले आन्दोलन गरेमा सुरक्षा चुनौती बढ्ने आकलन सुरक्षा निकायको छ ।
सोहीअनुसार सुरक्षा निकायले मन्त्रालयलाई ब्रिफिङ समेत गराएका छन् । गत शुक्रबार दिल्लीबाट फर्केपछि मात्रै प्रसाईं आफैं काठमाडौंका सुकुम्वासी बस्तीमा गएर भाषण गरेका थिए । काठमाडौं महानरपालिकाले ७ दिने अल्टिमेटम दिँदै सार्वजनिक जग्गा मिचेर बनाइएका संचरनाहरू भत्काउने बताएपछि त्यसको विरोधमा बोल्दै अराजक रूपमा प्रसाईंले भाषण गरेका थिए ।
७ मंसिरको आन्दोलनमा सुकुम्वासी बस्तीका मान्छेहरूलाई सडकमा उतार्न सक्ने सुरक्षा निकायको बुझाइ छ ।
यस्तै कवाड व्यवसायीहरू पनि अहिले महानगरविरुद्ध आन्दोलित छन् । उनीहरूलाई पनि समेटेर प्रसाईं समूहले अराजक आन्दोलन गर्नसक्ने बताइएको छ । यसैका लागि प्रसाईंले सुकुम्बासी बस्तीमा केही सहयोग गरेको ब्रिफिङसमेत गृहमा पुगेको छ ।
प्रतिक्रिया 4