८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । पार्टीका शीर्ष नेताहरू सहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन् ।
पार्टीमा आफूले उठाएका मुद्धाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले अनलाइनखबरसँग बताए ।
पार्टीमा पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराएको तर सम्बोधन नभएको भन्दै विष्टले पदबाट राजीनामा दिएका थिए ।
मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर विष्टले पदबाट राजीनामा दिएका थिए । जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र, पालिका र वडाको कार्यकर्ता र मतदातालाई निरन्तर आश्वासन, भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई ‘गुमराह’ मा राखिरहनु आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा दिएका थिए ।
६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक एवं अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको तर उपल्लो निकायले तदरुकता नदेखाएको उनको भनाइ थियो ।
पार्टी शीर्ष नेताहरूले आफ्ना मागहरू सम्बोधन गर्ने र आन्तरिक समस्याका विषयहरू समाधान गर्न तत्परता दिने प्रतिबद्धता गरेपछि राजीनामा फिर्ता लिएको विष्टले बताए । उनले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको थिएन ।
विष्ट गत निर्वाचनमा प्रतिनिधि सभाका लागि काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया 4