+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares
ब्लग :

एक गुमनाम करदाताको कथा

दुर्गम गाउँको एउटा अनपढ गरीब युवाले आफ्नो परिवार पाल्ने जागिरलाई माया मारेर देश हितको लागि करछलीको सूचना दिन आएका थिए।

राममणि दुवाडी राममणि दुवाडी
२०८२ मंसिर १० गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै उत्कृष्ट करदाता छनोट गरी पुरस्कृत गर्ने गरेको छ।
  • २०६२ सालमा एक गरीब युवाले आफ्नो जागिर गुमाउने जोखिम लिएर कर छलीको सूचना दिएर राज्यको राजस्व सङ्कलनमा ठूलो योगदान पुर्‍याएका थिए।
  • उक्त युवाले आफ्नो जागिर र मोटरसाइकल छोडेर नैतिकता र कर्तव्यपालन गर्दै कर प्रशासनलाई सहयोग गरेका थिए।

आन्तरिक राजस्व विभागले विगत केही दशकदेखि मङ्सिर १ गते विभिन्न कार्यक्रमका साथ वर्षेनि राष्ट्रिय कर दिवस र एक हप्तासम्म कर सप्ताह मनाउने गरेको छ। ‘कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनुपर्छ’ भन्ने मान्यता अनुरूप उक्त अवसरमा विभागले वर्षभरिका उत्कृष्ट करदाता छनोट गरी पुरस्कृत र सम्मानित गर्ने गरेको छ।

यसपालि पनि मङ्सिर १ गते विभिन्न क्षेत्रमा बढी कर तिर्ने करदाता छनोट गरी उत्कृष्ट करदाताको रूपमा पुरस्कृत गरिएको समाचार प्रकाशित भएका छन्। उत्कृष्ट करदाताको छनोट निष्पक्ष र पारदर्शी होस् भन्ने अभिप्रायले विभिन्न मापदण्ड पनि निर्धारित हुन्छन्।

आफ्नो आय, सम्पत्ति तथा उपभोगको आधारमा राज्यलाई कर तिर्नु प्रत्येक करदाताको दायित्व हो भने करदातालाई कर तिर्न अभिप्रेरित गराउनु प्रत्येक नागरिकको पनि कर्तव्य हो।

हरेक वर्ष जब राष्ट्रिय कर दिवस आउँछ, तब मेरो मानसपटलमा २० वर्ष अगाडिको त्यस्तै एउटा घटना र त्यस घटनासँग सम्बन्धित युवाको सम्झना आउँछ, जसको एउटा सूचनाले गर्दा राज्यको ढुकुटीमा झन्डै तीस लाख रुपैयाँ जम्मा भएको थियो। तर, त्यही सूचनाकै कारण उनको परिवार पाल्ने सहारारूपी जागिर र आफ्नो वर्षौंदेखिको कार्यस्थल काठमाडौं छोडेर बाहिरिनुपरेको थियो। तिनै राष्ट्रप्रेमी युवाको बारेमा यो लेख केन्द्रित रहेको छ।

जागिर र कर्तव्यको द्वन्द्व

२०६२ सालतिरको घटना हो। म पनि त्यसबेला कर प्रशासनमा काम गर्दैथिएँ। सामान्य पहिरनमा एक जना अधबैंसे मानिस मेरो कार्यालयको कोठामा पसे, नमस्कार गरे र केही गोप्य कुरा राख्ने अनुमति मागे। मैले उनको नाम, ठेगाना र व्यवसाय वा रोजगारीको बारेमा सोधें।

उनले आफू कुनै व्यवसायीको कम्पनीमा विगत ४-५ वर्षदेखि काम गरिरहेको बताए। उक्त कामबाट भएको आम्दानीले आफ्नो पेट पाल्न र गाउँमा रहेका बूढा बा-आमा, श्रीमती र दुई छोराछोरीको पालनपोषणमा राम्रै भरथेग भएको कुरा सुनाए।

यति हुँदा पनि कम्पनीले केही महिनादेखि भ्याटको बिल–भर्पाई र महत्त्वपूर्ण कागजपत्र नष्ट गरी कारोबार लुकाउने गरेको र मासिक लाखौं रुपैयाँ कर छल्ने गरेको थाहा पाएर उनलाई छटपटी हुँदोरहेछ। कहिलेकाहीं उनको मनमा आफ्नो परिवार पाल्ने जागिर ठूलो कि राज्यप्रतिको कर्तव्य ठूलो भन्ने द्वन्द्वको भुमरी चल्दो रहेछ।

उनले आफू गरीब परिवारका बा-आमाको एकमात्र छोरो भएको र आफ्नो परिवार पाल्ने एकमात्र आधार त्यही जागिर भएको बताए। तैपनि आफ्नै अगाडि व्यापारीले राजस्व छलेको टुलुटुलु हेरेर बस्न अन्तर्मनले नमानेको र नैतिकताले नदिएको उल्लेख गरे। छलिएको राजस्व असुली हुन्छ भने जागिर माया मारेर भए पनि सूचना दिन आएको कुरा बताए।

उक्त व्यापारीमाथि कारबाही गरेपछि उनको आफ्नो पनि जागिर जाने र एकमात्र आम्दानीको बाटो टुङ्गिने कुरा निश्चित थियो। जागिर मात्र टुङ्गिने नभई जीउ-ज्यानको सुरक्षाको लागि काठमाडौं नै छोडेर निस्कनुपर्ने बाध्यता निश्चित थियो। उनको यो निर्णयले उनको र परिवारको जीवनमा के कस्ता प्रभाव पार्ने होला र उनको त्यसपछिको योजना के होला भनेर मैले जिज्ञासा राखें।

त्यसको जवाफमा उनले आफ्नो सुरक्षाको कारणले जागिर मात्र होइन, काठमाडौं नै छोड्ने, आफ्नै गाउँ फर्कने र ज्याला-निमेक गरेर केही वर्ष उतै बिताउने योजना बताए। उक्त अवस्था उनी जस्तो दिनभरि कमाएर बेलुका हातमुख जोड्ने परिवारको लागि कष्टकर भए तापनि देशको हितको लागि उक्त अवस्था सामना गर्न तयार रहेको बताए।

नैतिकता र आदर्शको अनुपम उदाहरण

दुर्गम गाउँको एउटा अनपढ गरीब युवाले आफ्नो परिवार पाल्ने जागिरलाई माया मारेर देशहितको लागि करछलीको सूचना दिन आएका थिए। परिवारभन्दा देशलाई धेरै माथि राखेर हेर्ने तिनको महान् चिन्तन देखेर म तिनको अगाडि नतमस्तक भएँ र ती व्यक्तिलाई साथमा लिएर सम्बन्धित अधिकारीकहाँ पुर्‍याएँ। त्यहाँ उनले आफ्ना कुरा राखे।

ती अधिकारीले पनि उनको नाजुक आर्थिक अवस्था र सुदृढ नैतिक धरातल देखेर छक्क परे र उनको सूचनाको आधारमा सम्बन्धित व्यवसायस्थलमा छापा मार्ने आश्वासन दिए। साथै, छापा मार्न जाने टोलीको सजिलोको लागि र नष्ट गर्न लागिएको कागजपत्र कब्जामा लिनका लागि उक्त व्यक्तिलाई कारोबारस्थलसम्म टोलीसँगै जान अनुरोध गरे। ती युवाले पनि कुनै आनाकानी नगरी अधिकारीले गरेको अनुरोधलाई उनले सहजै स्वीकारे।

केही समयमा उनलाई अघि लगाएर अनुसन्धानको लागि टोली गाडीमा प्रस्थान गर्‍यो। ती मानिस अनुसन्धानको टोलीलाई बाटो देखाउँदै व्यवसायस्थलतिर मोटरसाइकलमा अघि बढे। केहीबेर हिंडेपछि उनको मोटरसाइकल टक्क रोकियो र उनले अनुसन्धानको टोलीलाई पनि गाडी रोक्ने सङ्केत गरे।

उनी टोलीको नजिकै आए र सानो स्वरमा भने: ‘तपाईंहरू केहीबेर यहीं अडिनुस्। मैले चढेको मोटरसाइकल त्यही कम्पनीको हो। आजसम्म मैले कम्पनीको कामका लागि यो मोटरसाइकल चढेको थिएँ। आजबाट कम्पनीको काम पनि छोड्दैछु र यो मोटरसाइकल पनि छोड्दैछु। गाउँ फर्केपछि पनि मलाई एउटा मोटरसाइकल त चाहिन्छ। मैले चाहने हो भने अहिले पनि यसलाई आफूसँगै गाउँमा लैजान सक्थें, तर आजबाट मैले कम्पनीको काम गर्न छाड्ने भएकोले कम्पनीको मोटरसाइकल चढ्नु मेरो नैतिकता विपरीत हुन्छ। तसर्थ, पहिले म यो मोटरसाइकल कम्पनीमा छोडेर फर्कन्छु, अनि तपाईंहरू आफ्नो कामका लागि अघि बढ्नुस्।’

कुनै सिनेमामा आदर्श पात्रले स्क्रिप्ट तयार गरेर बोले जस्तो उनको संवाद र विचारले टोलीलाई एकसाथ अचम्मित र पुलकित बनाइरहेको थियो। केहीबेरमै मोटरसाइकल छोडेर उनी पैदल फर्किए, टोलीको नजिक आए र नष्ट गर्न तयार राखिएको बिल–भर्पाइबारे टोलीलाई जानकारी दिए। कागजपत्र कब्जाका लागि अघि बढ्न सङ्केत गरे।

आफ्नो कम्पनीले कर छलेकाले उनले आफ्नै कम्पनी विरुद्ध राजस्व कार्यालयमा उजुरी गरी छापा मार्न लगाए। कम्पनीले दिएको मोटरसाइकल एकछिन पनि चढ्न चाहेनन् र जागिरसँगै मोटरसाइकल पनि त्यहीं छोडेर फर्किए। शायद, त्यही दिन उनले काठमाडौं पनि छाडे।

खाइरहेको जागिर र बसिरहेको काठमाडौं छोडेर हिंड्नुपर्दा उनको अनुहारमा विषादका रेखाहरू प्रशस्तै देखिन्थे, तापनि त्योभन्दा बढी राज्यको हितका लागि आफूले निर्वाह गरेको कर्तव्यले उनको त्यो विषादका रेखाहरूलाई माथ गरिरहेको देखिन्थ्यो। उनले कर्तव्यपालनको भीष्म प्रतिज्ञा त पूरा गरे, तर भोलिका दिनमा त्यसको परिणामका रूपमा आउने अभाव र दुःखका बीचमा बाँच्नका लागि ठूलै सङ्घर्ष गर्नुपर्ने कुरा निश्चित थियो।

यिनै कुराहरूको परिकल्पना गर्दै अनुसन्धान टोलीका आँखाहरू उनैको अनुहारमा एकटक पोखिएका थिए। उनी भने दृढ विश्वासका साथ टोलीलाई बाँकी कामको जिम्मेवारी सुम्पिएर सरासर आफ्नो बाटो लागे।

उनको त्यस्तो भीष्म निर्णय देखेर अनुसन्धान टोली उत्साह र प्रतिबद्धतासाथ काममा अघि बढ्यो। केही समयमै ती युवाको इमानदारिता पुष्टि भयो। भनिएअनुसार नै तोकिएको ठाउँमा नष्ट गर्न राखिएका बिल-भर्पाईका कार्टुनहरू भेटिए।

टोलीले कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित कागजपत्रहरू कब्जामा लियो र कार्यालयतिर लाग्यो। केही दिनको अनुसन्धानपछि करदाताले ठूलै परिमाणमा कर छलेको पुष्टि भयो र ठूलै रकम कर निर्धारण भयो र राज्यको ढुकुटीमा उक्त रकम दाखिला गराइयो।

सर्वोत्कृष्ट करदाता

यस वर्ष पनि मङ्सिर १ गते कर दिवस मनाइयो। आम करदाताको कर सहभागिता कसरी बढाउने, असल करदाताको सङ्ख्या र आत्मबल कसरी बढाउने, करछलीलाई कसरी निरुत्साहित गर्ने, कर प्रशासनलाई कसरी प्रभावकारी बनाउने तथा राजस्व सङ्कलन कसरी बढाउने आदि विषयमा छलफल तथा अन्तरक्रिया गरिए। उत्कृष्ट करदाताको खोजी तथा छनोट गरियो र असल करदाताको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत गरियो भन्ने खबर छापियो।

त्यो दिन मेरा मनमा भने आफ्नो परिवारको पालनपोषण गर्ने जागिरलाई तिलाञ्जली दिई राज्यको राजस्व सङ्कलनका लागि मरिमेट्ने ती निःस्वार्थ, कर्तव्यनिष्ठ तथा आदर्श व्यक्तिको झझल्को आइरहन्छ।

जुनबेला यो घटना घट्यो, त्यसबेला न उनले यो काम गरेबापत सुराकी भत्ता दाबी गरे, न त उत्कृष्ट करदाताको रूपमा नाम लेखाए। न कर प्रशासनले तिनको नाम-ठेगाना टिप्यो, न त उनलाई कर दिवसका दिन बोलाएर सम्मान गर्‍यो। कर प्रशासनले हरेक वर्ष कर दिवसका दिन उत्कृष्ट करदाताको घोषणा र सम्मान गरेको समाचार सुनिरहँदा र पढिरहँदा मलाई ती आदर्श युवाको आदर्श अनुहार र व्यवहार स्मृतिपटलमा बारम्बार देखा परिरहन्छ।

उनलाई पुरस्कृत गर्न नपाएर न्याय दिन नसकिएको आभास मात्र भइरहन्छ। उनको त्यो आदर्श सोच र अनुकरणीय व्यवहारलाई म श्रद्धाभावले सम्झिरहन्छु।त्यसबेला उनको आर्थिक अवस्था हेर्दा राज्यलाई प्रत्यक्ष रूपमा कर तिर्नुपर्ने न उनको कुनै आम्दानी थियो, न त दायित्व नै।

न त उनी कर प्रशासनका कुनै पदाधिकारी थिए, न त कुनै राजनैतिक व्यक्तित्व नै। उनी आफैं करदाता थिएनन्, तर पनि आफ्नो खाइरहेको जागिरलाई तिलाञ्जली दिएर उनको इमानदारिता र अठोटले राज्यको ढुकुटीमा ठूलो रकम प्राप्त भएको थियो।

उनले एउटा सामान्य मजदुर भएर पनि, ‘कर तिर्नु करदाताको दायित्व हो भने कर तिर्न उत्प्रेरित गर्नु हरेक नागरिकको दायित्व हो’ भन्ने कुरा पुष्टि गरेर देखाएका छन्। त्यसैले उनलाई मैले उत्कृष्ट मात्र होइन, सर्वोत्कृष्ट करदाताको रूपमा मान्यता दिएको छु।

धन्य तिनको महानता! धन्य तिनको कर्तव्यशीलता! धन्य तिनको देशप्रेम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?