+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
६० बलमा ८१ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
63/2 (9.6)
Shares

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : नक्कली कार्यतालिका स्वीकार्दैनौं 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:३६
फाइल तस्वीर

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि महाधिवेशन नगर्ने नियतले कार्यतालिका ल्याउन लागिएको जनाउँदै त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

विशेष महाधिवेशनको मागलाई निस्तेज पार्ने गरी संस्थापन पक्षबाट कार्यतालिका आएमा त्यसलाई स्विकार्न नसकिने केन्द्रीय सदस्य मधु आचार्यले बताए । चुनावअघि वा पछि र विशेष महाधिवेशनका विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन । ६ असोजदेखि रोकिएको केन्द्रीय समिति बैठकमा हालसम्म महाधिवेशनको एजेन्डामा सहमति हुन सकेको छैन ।

केन्द्रीय समितिबाट बहुमतको बलमा संस्थापन पक्षले कार्यतालिका प्रस्तुत गर्न लागेको आशंका विशेष महाधिवेशन पक्षधरले गरेका छन् । महाधिवेशनको कार्यतालिका ल्याइसकेपछि विशेष महाधिवेशन किन ? भनेर अल्मल्याउने प्रयास गरिएको केन्द्रीय सदस्य आचार्य बताउँछन् ।

आचार्यले अनलाइनखबरसँग भने,‘ नक्कली कार्यतालिका ल्याएर पास गर्ने तयारी भएको देखिन्छ । हामीले महाधिवेशन खोजेका हौं । कार्यान्वयन नहुने कार्यतालिका ल्याएर हामीलाई अलमल पार्ने प्रयास सफल हुन दिँदैनौं ।’

संस्थापन पक्षले महाधिवशेन गर्ने चाहना राखे नियमित महाधिवेशन गर्न अझै पनि संस्थापनइतरका नेताहरु बताउँछन् । विशेष पक्षधरले नियमित महाधिवेशनलाई  नै पहिलो प्राथमिकतामा राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित माग गरेका थिए । नियमित महाधिवेशन हुन नसकेको हकमा भने विशेषमा जानैपर्ने उक्त पक्षधरको भनाइ छ । व्यावहारिक कार्यतालिका र महाधिवेशन गर्ने नियत भए अझै पनि पुसभित्र नियमित महाधिवेशन गर्न सकिने केन्द्रीय सदस्य आचार्य बताउँछन् । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गरी अन्य संरचनामा चुनावपछि महाधिवेशन गर्न सकिने विकल्प आचार्यले देखाए ।

२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । प्रस्ताव गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । विशेष महाधिवेशनका मागकर्ताहरूलाई अलमल पार्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गरिएको अवस्थामा विशेष महाधिवेशनको मागलाई निष्कर्षमा पुर्‍याउने आचार्यले बताए ।

कांग्रेसमा दुई थरी विचार प्रवाह हुँदै आएको छ । वर्तमान समितिलाई यथावत् राखेर सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव जानुपर्ने संस्थापनका बहुसंख्यक नेताहरू छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान नेतृत्व लिएर चुनावमा जान नसकिने बताइरहेका छन् । नियमित महाधिवेशन गर्न नेताहरू तयार नभएको र समयको पनि चाप भएको हुँदा विशेष महाधिवेशनको विकल्प अब नभएको महामन्त्री थापा बताउँछन् । महामन्त्री थापाले अनलाइनखबरसँग भने, ‘नियमित महाधिवेशन गराउन नेताहरू सकिँदै सकिन्न भन्नुहुन्छ । नियमित गर्न सकिँदै सकिन्न् भन्ने हो भने विशेष महाधिवेशनको विकल्प छैन । विधान अनुसार माग भएको विशेष महाधिवेनलाई सम्बोधन गर्नैपर्दछ ।’

२८ असोजदेखि जारी केन्द्रीय समितिमा महाधिवेशनको एजेण्डामा सहमति जुट्न सकेको छैन । महाधिवेशनको विषयमा शीर्ष तहमा सहमति नहुँदा आजका लागि तोकिएको केन्द्रीय समितिको बैठक भोलि (१२ मंसिर) का लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?