+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
32/1 (3.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

चेपाङ विद्यार्थीले बनाएको नेपाली स्याटेलाइट बुधबार प्रक्षेपण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तरिक्ष प्रतिष्ठान नेपालले विकास गरेको नानो स्याटेलाइट 'स्लिपर्स टु स्याट' बुधबार बिहान चीनबाट प्रक्षेपण गरिनेछ।
  • स्याटेलाइटले नेपालको वनस्पति आवरण र जलस्रोतको वास्तविक समयको तस्वीर तथा डेटा सङ्कलन गर्नेछ र भूकम्प पूर्वसूचना प्रणाली समावेश छ।
  • स्याटेलाइटको तौल एक किलो २० ग्राम छ र कम्तीमा डेढ वर्षसम्म सञ्चालनमा रहने प्रक्षेपण टोलीले अनुमान गरेको छ।

२३ मंसिर, काठमाडौं । अन्तरिक्ष प्रतिष्ठान नेपालले विकास गरेको नानो स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ बुधबार बिहान चीनबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको छ ।

नेपाली समयअनुसार बुधबार बिहान ८:४५ बजेदेखि ११:०० बजेभित्र यो स्याटेलाइट चिनियाँ रकेट ‘काइनेटिका–१’ मार्फत् प्रक्षेपण गरिनेछ । यो स्याटलाइटको प्रक्षेपण तयारी पूरा भइसकेको परियोजनाका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले जानकारी दिए ।

गत असोजमा अधिकारीसहित चार सदस्यीय टोली बेइजिङ पुगेर स्याटेलाइटको अन्तिम गुणस्तर परीक्षण, रकेटसँग एकीकरण र वातावरणीय अनुकूलता जाँचको काम सम्पन्न गरेको थियो । आइतबार नै स्याटेलाइटलाई रकेटमा पूर्ण रूपमा एकीकृत (इन्टिग्रेट) गरिसकिएको छ ।

एक किलो २० ग्राम तौलको यो ट्युब आकारको नानो स्याटेलाइटमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएको छ । यी क्यामेराले नेपालको वनस्पति आवरण र जलस्रोतको वास्तविक समयको तस्वीर तथा डेटा सङ्कलन गर्नेछन् । स्याटेलाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको भूकम्पको पूर्वसूचना प्रणाली हो ।

भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्वसूचना दिने प्रविधि यसमा समावेश गरिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए । साथै, स्याटेलाइटमा विद्युतीय चुम्बकीय प्रणाली (इलेक्ट्रोम्याग्नेट) जडान गरिएको छ, जसले पृथ्वीबाटै स्याटेलाइटको गति रोक्न र कक्ष परिवर्तन गर्न सम्भव बनाउँछ ।

मूल योजना अनुसार यो स्याटेलाइट कम्तीमा ५ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो। तर, हाल सूर्यको २५औँ सौर्य चक्र (सोलार साइकल) आफ्नो उच्चतम बिन्दु (सोलार म्याक्सिमम) मा पुगेकाले सौर्य विकिरणको तीव्रता अत्यधिक रहने अनुमान छ ।

यसले स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउने जोखिम रहेकोले अब कम्तीमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने प्रक्षेपण टोलीको अनुमान छ । यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई पनि संलग्न गराइएको थियो ।

स्याटेलाइटबाट प्रसारित सबै डेटा विश्वभरका वैध एमेच्योर रेडियो फ्रिक्वेन्सी लाइसेन्सधारी व्यक्ति तथा संस्थाले निःशुल्क प्राप्त गर्न र उपयोग गर्न सक्नेछन् । ‘स्लिपर्स टु स्याट’ नेपालबाट निजी क्षेत्रको समन्वयमा बनाइएको तेस्रो स्याटेलाइट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?