२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत आगामी निर्वाचनका लागि काठमाडौं-५ बाट उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय कार्यसमितिले उनको नाम २१ फागुनमा हुन गइरहेको निर्वाचनमा प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति श्यामबहादुर खड्काका अनुसार काठमाडौं-५ बाट प्रत्यक्षतर्फ प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा र सरीन घिमिरे शर्माको नाम पनि सिफारिस भएको छ ।
नेता पौडेल अघिल्लो निर्वाचनमा काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (विघटित) हुन् । नेतृ थापा नेपाल जेसिसकी राष्ट्रिय अध्यक्ष हुन् । उनी स्थानीय तह निर्वाचन २०७९ मा टोखा नगरपालिकामा मेयरको उम्मेदवार थिइन् ।
सापकोटा यस अघि प्रदेशसभा सदस्यका उम्मेदवार थिए । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविंघ) बाट उनले राजनीति सुरू गरेका थिए । सिफारिसमा परेका युवा नेता घिमिरे नेपाल तरूण दलका केन्द्रीय सदस्य हुन् । उनी पार्टीका महासमिति सदस्य पनि हुन् ।
क्षेत्रीय सभापति खड्काले काठमाडौं-५ बाट समानुपातिकतर्फ श्रीविनोद भट्टराई, रमा गरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरूङ, कृष्ण थापामगर, राजेन्द्रमान जोशी र नीरविक्रम शाहको नाम सिफारिस गरिएको जानकारी दिए ।
प्रतिक्रिया 4