News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा युवाको अनुपात करिब ३७ प्रतिशत छ र उनीहरूको सामाजिक, राजनीतिक सहभागिता र विकासमा भूमिका महत्वपूर्ण छ।
- युवाले भ्रष्टाचार, असमानता र गैरजवाफदेही राजनीतिलाई चुनौती दिँदै स्थिर नेतृत्व र स्पष्ट नीति आवश्यक भएको बताएका छन्।
- सरकारले स्टार्टअप अनुदान, सीप प्रशिक्षण र डिजिटल प्रविधि प्रवर्द्धन गरेमा आर्थिक विकास र नवप्रवर्तनमा तीव्रता आउन सक्छ।
नेपाल आज एक ऐतिहासिक मोडमा उभिएको छ । समाज परिवर्तन, राजनीतिक पुनर्संरचना र आर्थिक उभारका निर्णायक बहसहरूका बीचमा छौं हामी । सात दशकभित्र देशले राणा शासनको अन्त्यदेखि लिएर बहुदलीय व्यवस्था, राजतन्त्रको पतन, जेनजी विद्रोहसम्मको अनुभव गरिसक्यो । तर यस्ता परिवर्तनको प्रभाव स्थायी बनाउनुपर्ने मूल भूमिकाको केन्द्र कसलाई दिनुपर्ने भन्ने प्रश्नमा राजनीतिक बहसहरू अर्को चरणमा प्रवेश गरेका छन् । यसको जवाफ स्पष्ट छ युवा पुस्तालाई । किनकि हरेक राजनीतिक आन्दोलनमा युवा नै अग्रपंक्तिमा छन् ।
समाजशास्त्रले परिवर्तनलाई एक अविराम प्रक्रिया मानेको छ, जुन पुस्तान्तरण, मूल्य परिवर्तन, राजनीतिक चेतना, आर्थिक संरचना र सांस्कृतिक रूपान्तरणसहित बहुआयामिक रूपमा अघि बढ्छ । युवाको सम्भावना र जोखिम लिने क्षमतालाई राजनीतिक स्थिरता तथा विकासको आधार मान्छ र मानव पूँजी विशेषगरी युवा शक्तिलाई आर्थिक गतिशीलताको मुख्य सूचकका रूपमा व्याख्या गर्छ ।
यसै पृष्ठभूमिमा, नेपालमा युवा पुस्ताको वर्तमान स्थिति, सामाजिक, राजनीतिक सहभागिता, तथा विकासको दिशामा उनीहरूले खेल्न सक्ने भूमिकालाई सामाजिक रूपान्तरण र युवाको बौद्धिक उभार रूपमा लिन सकिन्छ ।
समाज परिवर्तनका सिद्धान्तहरू माक्र्सदेखि आधुनिक विचारधारासम्म सबैले समाजलाई कुनै स्थिर संरचना होइन, निरन्तर परिवर्तनशील प्रक्रिया मान्छन् । परिवर्तन सामाजिक चेतनाको उभार, मूल्यहरूमा आएर हुने रूपान्तरण, राजनीतिक प्रभाव, आर्थिक अवसर र सांस्कृतिक परिर्वतनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।
विशेषगरी १६ देखि ४५ वर्ष उमेर समूहका पहिलेको पुस्ताभन्दा धेरै फरक सामाजिक मानसिक संरचनामा हुर्किएका छन् । उनीहरुमा डिजिटल सूचना, प्रविधिको तीव्र विकास, अध्ययन र विश्वबजारको अवसर, सामाजिक सञ्जालको प्रभाव यी सबै कारणहरूले उनीहरूमा नयाँ मूल्य, नयाँ दृष्टि र नयाँ आकांक्षा जन्माएको छ ।
यही कारणले, नेपालमा युवाले परम्परागत सामाजिक व्यवहार, राजनीतिक संस्कृति र विकासको ढिलाइबारे बढी प्रश्न गर्छन् र पछिल्लो जेन्जी आन्दोलन यसैको उपज हो ।
परिवर्तनका क्रममा यो पुस्ताले भ्रष्टाचार, असमानता, गैरजवाफदेही राजनीति, अवसरको असन्तुलन जस्ता समस्याहरूलाई चुनौती दिन थालेको छ ।
नेपालको राजनीतिक इतिहासमा युवा लामो समयदेखि आन्दोलन र संघर्षमा प्रमुख शक्ति थियो तर विडम्बना के हो भने युवा उर्जा आन्दोलनमा जितिए पनि संस्थागत नेतृत्वमा रूपान्तरण हुन सकेन ।
आज नेपालमा राजनीतिक विश्वासको संकट (राजनीतिक दलप्रतिको अविश्वास), नेतृत्वको संकट (पुरानो पुस्ताको एकाधिकार) र दीर्घकालीन नीति (दृष्टिकोण अस्पष्ट) फसेको छ । दीर्घकालीन विकासतर्फ जान स्थिर नेतृत्व, स्पष्ट नीति र युवाको सकारात्मक सहभागिता अपरिहार्य हुन्छ । नेपालमा यसको अभावले विकासको गतिको मार्ग अवरुद्ध भइरहेको छ ।
मात्र आन्दोलनमा सक्रिय भएर देश परिवर्तन हुँदैन । नेतृत्व, प्रशासन, नीति निर्माण, स्थानीय शासन र निजी क्षेत्रको निर्णय स्तरमा युवाको भूमिका संस्थागत हुनैपर्छ । यदि युवालाई स्थानीय तहमै योजना नेतृत्व, संघीय निकायमा नीति निर्माण, राजनीतिक दलमा जिम्मेवारी दिइयो भने परिवर्तनको गति तीव्र हुन सक्दछ । राजनीतिक पुनर्संरचना कार्यान्वयनका लागि युवा पुस्ताको ताजगी, सीप र संगठन क्षमता नै मुख्य आधार बन्न सक्छ ।
नेपालमा युवाको अनुपात करिब ३७ प्रतिशत भन्दा माथि छ । यो दुर्लभ अवसर हो । तर यसैको व्यवस्थापन नहुनु सबैभन्दा ठूलो चुनौती पनि हो ।
वर्तमान अवस्थामा युवाले सामना गरिरहेका प्रमुख समस्या बेरोजगारी, वैदेशिक रोजगारको निर्भरता, पर्याप्त सीप नहुनु, अनुसन्धान नवप्रवर्तनमा न्यून लगानी, घरेलु उद्योग र बजार विस्तारमा कमजोरी हुन् । यदि यी समस्याको समाधान गर्न सकिएन भने जनसंख्या नै बोझ बन्छ, तर समाधान निकाले विकासको इन्जिन बन्न सक्छ ।
नेपालले अब परम्परागत विकास मोडेल भन्दा अघि बढेर नवप्रवर्तन केन्द्रित, उद्यमशीलता आधारित विकासमा जाने समय आएको छ । पर्यटन, कृषि, सूचना प्रविधि, जलविद्युत, नवीकरणीय ऊर्जा, सेवा क्षेत्र, सांस्कृतिक उद्योग जस्ता क्षेत्रमा सीमाहीन सम्भावना बोकेको छ ।
सरकारले यदि स्टार्टअप अनुदान, लगानी सुरक्षा, कर–राहत, सीप प्रशिक्षण, बजार पहुँच जस्ता नीतिहरू प्रभावकारी ढंगले लागू गर्न सके देशको आर्थिक इन्जिन पुनर्जीवित हुन सक्छ ।
नेपालको शिक्षा प्रणाली अझै मूल्यांकन केन्द्रित, सिद्धान्तमूलक र रोजगार असंगत छ । यदि प्राविधिक तालिम, डिजिटल सीप, टेक आधारित अध्ययन अनुसन्धान केन्द्र स्थापना र विस्तार गरियो भने युवा पुस्ताको क्षमता अझ द्रुत गतिमा बढ्छ ।
यदि गाउँ नगरमा युवालाई योजनामा सहभागिता, बजेट अनुगमन, परियोजना नेतृत्व, सामुदायिक पहल जस्ता भूमिकामा अग्रस्थान दिइयो भने देशको विकास ‘तल्लो तहबाट माथितर्फ’ सफल ढंगले अघि बढ्छ ।
विकास र राजनीति भन्दा महत्वपूर्ण तत्व हो युवाको चरित्र निर्माण । इमानदारी, परिश्रम र उत्तरदायित्व युवाहरुको मूल्याङ्कनको आधार हो । त्यसैले युवाले असहिष्णु आलोचना होइन, समाधान खोज्ने संस्कृति विकास गर्नपर्छ । निराशा होइन, सिर्जनशीलता, भागदौड होइन, दीर्घकालीन दृष्टि अपनाउनुपर्छ ।
आज विश्व डिजिटल प्रविधिद्वारा पुनरपरिभाषित हुँदै छ । जेन्जी युवाहरू डिजिटल पिँढीका हुन् । उनीहरूलाई प्रविधि, नेटवर्किङ र विश्वव्यापी ज्ञानले सशक्त बनाएको छ ।
यदि राज्य नीतिले प्रविधिलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, प्रशासन र उद्यमितामा व्यवस्थित तरिकाले लागू ग¥यो भने नेपालले ‘डिजिटल ट्रान्सफर्मेसन’ मार्फत दिगो विकास छोटो समयमै हासिल गर्न सक्छ ।
अन्त्यमा,
नेपालमा राजनीतिक, सामाजिक र आर्थिक संक्रमण आज पनि जारी छ । स्थायित्व र विकासका लागि केवल परम्परागत नेतृत्व होइन, युवा पुस्ताको बौद्धिक ऊर्जा, व्यावहारिक क्षमता, नैतिकता र राष्ट्रिय दृष्टि आवश्यक छ । हाम्रो पुस्ताले आज निर्णय गर्नुपर्ने कुरा देश बदल्ने हो कि, निराशामा बस्ने ? अवसर सिर्जना गर्ने हो कि, गुमाउने ? राष्ट्र परिवर्तनको जिम्मेवारी अब हाम्रो काँधमा छ ।
यदि नेपाली युवाले आफ्नो एकता, सोच, सीप र नैतिकता कायम राखे नेपाल केवल सम्भावनाको देश होइन, सफलताको देश बन्नेछ । युवाको हातमा परिवर्तनको आँधी, विकासको गति र भविष्यको नक्सा सबै छ । भोग्ने होइन, बुझ्ने र बदल्ने पुस्ता बनौं ।
प्रतिक्रिया 4