१ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रावधिक कारणले मतदान सुरु हुँदा दिउँसो चार बज्न सक्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले भने मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर प्रतिस्पर्धामा रहेका छन् । ओली र पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।
मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेता/कार्यकर्ताहरू उपस्थित छन् । उम्मेदवारका पक्षधर नेता/कार्यकर्ताहरू प्रचारमा रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ ।
नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ ।
खासगरी एमालेको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूह संवादमा छ ।
नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् ।
ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।
प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएर समेत खरेलले काम गरेका थिए । उनी कानुनमन्त्री पनि बनेका थिए । उनले केपी ओलीले संसद् विघटन गरेको बेलामा महान्यायाधिवक्ताको रुपमा गलत हुने भित्रि सल्लाह दिएका थिए ।
कृष्णगोपाल श्रेष्ठ पनि ओली प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्मा रहेर काम गरेका व्यक्ति हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीको प्रशंसा गर्दै फुटबलको खेलाडी पेलेसँग तुलना गरेका थिए ।
ओली प्यानलबाट पदाधिकारीका अर्का आकांक्षी थिए- नेता लालबाबु पण्डित । तर, उनी प्यानलमा परेनन् त्यसपछि उनले सचिव पदमा उम्मेदवारी दिए ।
ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया 4