१ पुस, बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा हुने १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ३ पुसदेखि १७ गतेसम्म चल्ने प्रदर्शनीमा करिब ५०० स्टल रहने र करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने संघका अध्यक्ष कृष्ण पराजुलीले मंगलबार पत्रकार सम्मेलनमा बताए ।
संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको चर्चा गर्दै पराजुलीले प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुने बताए ।
प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल–स्वदेशी अभियान’लाई थप प्राथमिकताका साथ अगाडि बढाइने जनाएको छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका स्टल रहने पराजुलीले बताए । प्रदर्शनीको प्रचारका लागि संघले भारतको उत्तर प्रदेशका गोरखपुर, लखनउसम्म पुगेर त्यहाँका उद्योगीलाई आमन्त्रण गरेको छ ।
मुक्तिनाथदेखि लुम्बिनीसम्मको झल्को देखिने गरी धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धनमा जोड दिएको संघको दाबी छ ।
प्रदर्शनीका मुख्य उद्देश्यहरूमा स्वेदशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण,प्राविधिक र व्यावसायिक अनुभवको आदान प्रदान,नेपाली उद्योगको लागि अवसरको खोजी,उत्पादन उपभोक्ता बिज्ञहरु र सरकारी निकायबीच अन्तरसंवाद,आन्तरिक तथा वाह्य औद्योगिक वातावरणको जानकारी, निर्यात मूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीलाई प्रोत्साहन,पर्यटक क्षेत्रका व्यवस्थाबारेमा सरोकारवालाबीच छलफल,औद्योगिक जनशक्ति निर्माण, कृषिमा प्रविधि र आधुनिकीकरण रहेका छन् ।
प्रतिक्रिया 4