+
+
Shares

 के सबै आमाहरू झुट बोल्छन् ?

श्रीमान् र आफन्तले बच्चा त सबैले जन्माइ नै रहेका छन् के ठूलो कुरा भयो र भन्ने जस्तो व्यवहार गर्दा धेरै आमाहरूले मानसिक समस्या भोग्ने गरेका छन् ।

वसन्ती बास्तोला वसन्ती बास्तोला
२०८२ पुष १३ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भवती र सुत्केरी महिलाले मानसिक स्वास्थ्य र सामाजिक व्यवहारसम्बन्धी समस्या भोगिरहेका छन् भन्ने कुरा धेरैले खुलेर बताएका छन्।
  • नेपालमा गर्भवती महिलालाई आवश्यक पोषण, सकारात्मक वातावरण र परिवारको समर्थन नपाउने समस्या व्यापक छ।
  • श्रीमान् र आफन्तले गर्भवती र सुत्केरी महिलाप्रति देखाउने व्यवहारले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ।

‘वसन्ती सबै आमाहरू झुट बोल्छन् क्या हो ?’ एकदिन मेरो म्यासेन्जरमा साथीको म्यासेज आयो । यो अनपेक्षित थियो ।  मैले सोधेँ के भयो र ?  ‘हैन आमा बनेपछि सब दु:ख भुलिन्छ, खुसी भइन्छ भन्थे, मलाई त त्यस्तो लागेन । के आमा हुनु सबथोक हो ?’ यस कुराले मलाई अलि बढि नै सोच्न बाध्य बनायो ।

यो म्यासेज मेरी साथी सुत्केरी भएको एक महिना भित्रको हो । यस्तो खालको समस्या भएको पहिलो म्यासेज थिएन यो । यो भन्दा पहिला पनि यस्ता म्यासेज आउँथे ।

तर फरक तरिकाले सोधिएको थियो । तर मैले पनि यसलाई यसरी सोचेकी थिइनँ । तर अहिले यो चिन्ताको विषय नै किन लाग्यो भने हामी आमा बन्न पहिला र पछिको अँध्यारो पक्षको त कुरै गरेका रहेनछौं ।

एक जना भाइ छ । उ जर्मनीमा बस्छ । बुहारी सुत्केरी भएपछि कहिलेकाहिँ यस विषयमा कुरा हुन्छ । उसले भन्यो ‘अलिकतिले बुहारी बचेको दिदी, धन्न यहाँ त अस्पताले सबै हेर्दोरहेछ । बच्चा गर्भमा हुँ हुने ब्लड प्रेसर, सुगर र थाइराइड त भए । बच्चा जन्मेपछि पनि ब्लड प्रेसर बढेर या उच्च रक्तश्राव भएर कति महिलाको ज्यान जान सक्छ भनेर हामीलाई न डाक्टरले काउन्सिलिङ गर्छन् न त हामी अनुभवी नै सचेत बनाउँछौ ।

हामी यस विषयलाई छलफल गर्न आवश्यक ठान्दैनौँ भने अझ परिवर्तन हुने हर्मोनको र मानसिक स्वास्थ्यको त कुरै गर्दैनौं ।

अझ बच्चा पाएर पनि चिन्ता भएको, दु:ख लागेको कुरा किन पनि गर्दारहेनछौं भने, आमा हुनु संसारको सबैभन्दा खुसीको कुरा हो भनेर स्थापित गरिएको रहेछ ।

गर्भवती महिलाले कुनै घरमा गएर केहि खान मन लागेको छ भन्यो भने सोधि सोधि दिने र नभए पछि पनि लगेर खुवाएको त मैले गाउँभर देखेकै थिएँ ।

तर, चिन्ता र पिरको अनुभव साटेको सुनिनँ । खाना नरुचेर, वान्ता भएर, खानेकुरा गन्हाएर गाह्रो भएको छ । यस्ता मात्र कुरा धेरै सुनिन्थ्यो । गर्भवती हुँदा देखिने लक्षण दिक्क लाग्ने, खाना नरुच्ने कारण आउने समस्या, परिवारका सदस्यले गर्नपर्ने ख्यालको कुरामा त हाम्रो बहस नै भएको रहेनछ ।

अझ आजभोलि नेपालमै होस् या विदेशमा श्रीमानश्रीमती मात्र भएको अवस्थामा अझ बढी हुने गरेको छ ।

यस्तै एउटा म्यासेज थियो श्रीमान-श्रीमती मात्र बस्ने मेरो अर्को साथीको । ‘वसन्ती, मलाई रुन मात्र मन लाग्छ । जसले जे भने पनि चित्त दुख्छ । तिमीलाई पनि यस्तै भएको थियो ?’ मैले उनलाई यस्तो हुन्छ विस्तारै ठिक हुन्छ भने । मलाई पनि यस्तो भएको थियो ।

गर्भवती हुँदाका समस्या, खानपान र घरमा गरिने व्यवहार त छँदैछन् । एक साथीले त दिनभरी बाटा लिएर वान्ता मात्र गरिरहने कुरा पनि सुनाएकी थिइन् ।

खाना नरुच्ने र पकाउन मन नलाग्ने, जे पनि गन्हाउने कुराले उनी तनावमा थिइन् । यस्तोबेला उनी कसरी र कस्तो खाना मन पराउँछिन् भनेर परिवारले जान्न आवश्यक थियो ।

हामीले यस्ता व्यवहारिक कक्षा दिने र अनुभव साट्ने काम कतिले गर्दै आएका छौं त ?

उनलाई मन लागेको बेला खाओस् भनेर उनकी सासुले टेबलमा खानेकुरा बनाएर राख्दिने र दिक्क लाग्छ भन्ने बुझेर खा नभन्ने गरेको समेत उनले सुनाइन् । उनलाई त खा भन्दा समेत रिस उठ्थ्यो । सबैका सासु यसरी नै बुझ्ने र सबै काम गर्न सक्ने पनि हुँदैनन् ।

धेरै जनाले यी समस्या एकलरुपमा सुनाउँछन् । तर आमा बन्नु भनेको भाग्य हो । आफूलाई भुल्नु हो । स्वर्गको खुसी प्राप्त हुनु हो भन्ने कुरा सार्वजनिकरुपमा भनिन्छ ।

यी र यस्तै भनाइले आमा बन्न प्रेरित गरेको हुन्छ । विवाह गर्नु भनेको नै बच्चा जन्माउनु हो जसरी व्याख्या गरिन्छ । हामी विवाह गरौं तर बच्चा जन्माउँदैनौ भनेका कति दम्पत्ति होलान् ?

मलाई पेटमा बच्चा हुँदा यति गाह्रो भएको थियो कि, एकपटक त गएर गर्भपतन गरौं कि भन्नेसम्म सोचेकी थिएँ । बच्चा जन्माउनु केबल बच्चा जन्माउनु मात्र हुँदैन ।

जागिर गर्ने कार्यालयको वातावरणको कारण धेरैले जागिर छोडेका छन् भने कतिलाई निकालिएको छ।

बच्चा जन्माउन वातावरण सकरात्मक हुनुपर्छ, समयमा खानेकुरा र पोषण मिल्नुपर्छ । तर, हामीले काम गर्ने कार्यालय कति महिलामैत्री छन् ?  गर्भाअवस्थामा चाहिने खाना र वातावरण त जहाँसुकै जाओस् काम नै दिन्छन् कि दिँदैनन् ? अब मेरो जागिर जान सक्छ भन्ने मानसिकताबाट गुज्रेर कसरी बच्चा जन्माएका होलान् ?

१८ वर्ष पहिला म जागिर गर्ने स्थानमा एक जना दिदी थिइन् । उनी र म ओल्लो र पल्लो घरमा बस्ने गर्थ्यौं । उनी सुत्केरी भएकोबेला म उनकोमा गइरहन्थे । एक दिन भनिन्, ‘सुत्केरी भएर बसेकी छु, बुढाले उल्टो उनलाई पो सिरक ओढाइदे भन्छन् ।’ उनी एकदम चित्त दुखाएर बसेकी थिइन् ।

यसरी श्रीमानले गर्भवती र सुत्केरीको समयमा ख्याल नगरेको कारण चित्त दुखाउनेको संख्या धेरै छ । आठ वर्ष पहिले एक जना साथीले सुनाइन्- ‘अप्रेसन गरेको ट्वाइलेट प्यानवाला छ, बस्न पनि सक्दिनँ झन् न्वारनको दिन तातोपानी राख्देउ न भनेर श्रीमानलाई भनेको सबैको अगाडि लाज हुन्छ भनेर पानी नै हाल्दिएनन् ।’

उनलाई अहिले पनि लाग्छ,’बच्चा अप्रेसन गरेर निकालिएपछि श्रीमतीलाई नुहाउन पानी हालिदिँदा लाज लाग्ने कस्तो श्रीमानसँग बसिरहेछु म ? बच्चा जन्मिइहाल्यो नत्र यस्तो थाहा पाएको भए पहिला नै छोडिदिन्थेँ ।’

यो भयो घरको कुरा । अब जागिर गर्ने ठाँउको कुरा गरौं ।  केहि महिना पहिला एक बहिनीको जागिर गयो । उनको मुद्धा के भैरहेछ भनेर सूचना विभाग गएँ । एक कर्मचारीले भनिन्,’गर्भवती  र सुत्केरी भएपछि मोटी र नराम्री भइस् भनेर टिभीमा समाचार कतिको जागिर गएको छ । यहाँ रजिष्टारसँग कति रुन् आउँछन हामी केहि गर्न सक्दैनौ  ।’

सूचना विभागले श्रम कार्यालयमा मद्दा पठाउँछ । ‘यहाँ जागिर गएको त सुनुवाइ हुन्न उसलाई हिंसा भएको, स्वाभिमानमा चोट पुगेको सुन्ने संयन्त्र नै बनेको छैन ।’

तिनको उत्तरले मलाई निराश त बनायो नै । यी समस्या दैनिक सुन्दा उनी पनि निराश थिइन् ।  बच्चा जन्मेपछि त शरीर पहिला जस्तो हुन्न । अझ केहि समस्या सुनायो कि आमा/हजुरआमाहरू भन्छन् सुत्केरी स्याहार राम्रो भएन होला ।

अप्रेसनपछिको दुखाई, आफैं जन्माउँदा पनि हुने जोखिमकाबीच कति आमाले म बच्चा सुरक्षित जन्माउन सक्छु भनेर ढुक्क छन् ? हामीले यसको छलफल गरेका छौं ? असुरक्षित हुँदा पनि महिला किन बच्चा जन्माउन चाहन्छन् ?  म गर्भवती हुँदा अप्रेसन गर्ने समय लिएको डाक्टरले मलाई भनिन्, ‘तपाईंले लिनुभएको समय अर्कोलाई दिनु ल ।’ मैले किन भनेपछि उनले कहानी सुनाइन् । एकजना महिला छन् । धेरै रोग छ । हामीले उनलाई बच्चा नजन्माउ तिम्रो मृत्यु हुनसक्छ भनेका थियौं तर उनी मानिनन् । अहिले सुत्केरी हुनको लागि उनी एक हप्तादेखि अस्पताल छिन् काउन्सिलिङ गर्दा गर्दै बल्ल अहिले अप्रेसन गर्न मानिन । फेरि उनको लागि ५/६ जना विभिन्न रोगको डाक्टरसँगै राखेर अप्रेसन गर्नुपर्छ सबै जना भएकको बेला छ त्यसैले ।

मैले सोचेँ सुत्केरी हुँदा म मर्नसक्छु भन्ने धेरैलाई लाग्दैन । तर, उनलाई डाक्टरले तोकेर भन्दा पनि किन बच्चा जन्माउन तयार भइन ?

यसको पछाडि बच्चा नहुनुको कुरा उनले कति सुन्नु पर्ला ? बच्चा नभएर बाँच्नुभन्दा बच्चा जन्माएर मर्नुमा उनलाई सजिलो लाग्यो भन्ने डाक्टरको बुझाई थियो ।

अब हामीले एक जना मानव पहिला बाँच्ने समाज निर्माण गर्न बहस गर्नुपर्छ । सन्तान त्यसपछिको आफ्नो आफ्नो रहर हो तर बाध्यता होइन ।

रहरले जन्माएको सन्तान पनि स्वस्थ रहोस् भनेर गर्भवतीले खाने खाना, उ बस्ने घर गर्भवतीमैत्री त हुनैपर्छ । आफन्तले उसका समस्या र रुचिमा ध्यान दिनुपर्छ । तर कति श्रीमान् र आफन्तले बच्चा त सबैले जन्माइ नै रहेका छन् के ठूलो कुरा भयो र भन्ने जस्तो व्यवहार गर्दा धेरै आमाहरू मानसिक समस्या भोग्ने गरेका छन् ।

अर्की साथीले भनिन्, ‘गर्भवती र सुत्केरीबेलामा गरेको व्यवहार त झन् सधैँ याद हुने रहेछ । त्यो बेला गरिएका दुर्व्यवहारका कारण अहिले पनि रिस उठ्ने र चित्त दुख्ने हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?