+
+
Shares

मेलमिलापको सम्झनामा कांग्रेस, तर पार्टीभित्रै छैन मेल

जीवनको जोखिम मोलेर राष्ट्रिय एकता र मेलमिलापको नीति अघि सारेका बीपी कोइरालाको सम्झनामा दिवस मनाइँदै गर्दा नेपाली कांग्रेस भने गुटगत लडाइँमा रुमल्लिएको छ ।

केशव सावद केशव सावद
२०८२ पुष १६ गते १०:१८

१६ पुस, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेको छ ।

तत्कालीन सरकारले लगाएका आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा दिवस मनाउँदै गर्दा कांग्रेसमा भने एकता छैन ।

नेकपा एमालेसँगको सत्ता गठबन्धन भत्किने गरी भएको जेनजी आन्दोलनपछि कांग्रेसमा देखिने विचार समूहहरू थप ध्रुवीकृत छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको निर्देशनमा नेतृत्व परिवर्तनका लागि देशव्यापी हस्ताक्षर अभियान चलेपछि कांग्रेसको विवाद थप चुलिएको छ ।

२३ भदौको जेनजी विद्रोहपछि परिवर्तित परिवेशमा सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र उठेपछि संस्थापन पक्ष चिढिएको थियो । तथापि, सभापति देउवाले आन्दोलनको ३६ औं दिनमा केन्द्रीय कार्यसमिति बैठक डाकेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मा दिएका थिए ।

सभापति देउवाले कार्यवाहक दिएको भोलिपल्टै २९ असोजमा हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले पार्टीसमक्ष विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर बुझाएको थियो ।

कार्यवाहक सभापति खड्काको अध्यक्षतामा लामो समयसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशनको विषयमा रस्साकस्सी चलेको थियो । संस्थापन पक्षका नेताहरूमा २१ फागुनको निर्वाचनपछिमात्रै महाधिवेशन गर्नुपर्ने ढिपी देखिएको थियो । इतर समूहका नेताहरू नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जानु पार्टीका लागि प्रत्युत्पादक हुने अडानमा थिए ।

यस्तै विशेष महाधिवेशन पक्षधर नेताहरू पुस मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका थिए । संस्थापन पक्षकै २५ बढी केन्द्रीय सदस्यहरू निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने ‘लबिङ’मा लागेका थिए ।

रस्साकस्सीका बीच ४९ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अन्तत: १५ मंसिरमा सर्वसम्मत महाधिवेशनको कार्यतालिका ल्याएको थियो । कार्यतालिकाअनुसार आज (बुधबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पारेर वडा अधिवेशन गर्ने तय भएको थियो ।

तर, पार्टीमा देखिएको मतभेदका कारण क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नहुँदा कांग्रेसले बुधबारका लागि तय गरेको वडा अधिवेशन प्रभावित हुन पुगेको छ ।

कार्यतालिका प्रभावित हुने छाँटकाँट पहिले नै देखिएको भए पनि कांग्रेसको केन्द्रीय कार्यसमितिले मतहतलाई वडा अधिवेशन गर्ने–नगर्नेबारे औपचारिक रूपमा कुनै परिपत्रसमेत गर्न सकेको छैन ।

तत्कालीन सन्दर्भमा राष्ट्रियता रक्षाका लागि बीपीले चालेको यो कदम अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनेर व्याख्या गरिन्छ । तर, अरुलाई मेलमिलाप र सदभावको सन्देश दिने नेपाली कांग्रेस आफैं गुटबन्दी, विवाद र ध्रुवीकरणमा अल्झिएको छ

कांग्रेसको १५औं महाधिवेशन समयमै सम्पन्न हुन नसक्ने परिस्थिति सिर्जना हुँदै जाँदा विशेष महाधिवेशन बाध्यकारी बन्दै गएको महामन्त्री थापा पक्षको तर्क छ । थापा पार्टी नेतृत्वले आलटाल गरेर महाधिवेशन गर्न नखोजे विधानअनुसार विशेष महाधिवेशन हुने बताइरहेका छन् । गत बुधबार (९ पुस) सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले अनावश्यक विवाद गरेर समय खेर फालिएको भन्दै विषेश महाधिवेशनतर्फ लक्षित अभिव्यक्ति दिएका थिए ।

‘हामीले अनावश्यक विवाद गरेर समय खेर फालिसक्यौं । अब फेरि गर्ने कुरा हुँदैन,’ सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले भनेका थिए, ‘यसरी नै जाने, महाधिवेशन गर्न नखोज्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, विधानअनुसार विशेष महाधिवेशन हुन्छ ।’

त्यसको दुई दिनअघि (७ पुस)मा महामन्त्री थापाले धुम्बाराही ब्यांक्वेटमा  काठमाडौं–४ का कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा मूल नेतृत्वतर्फ इंगित गर्दै पार्टी अधिवेशनको प्रक्रियालाई नियतवश अवरुद्ध गराउने काम भए विशेष महाधिवेशन हुने चेतावनी दिएका थिए ।

‘अधिवेशनको प्रक्रियालाई नियतबस अवरुद्ध गराउने काम भइराख्छ भने त्यो बेलामा देशभरका साथीहरू आएर पार्टीको विशेष महाधिवेशन गराउनेतर्फ लाग्ने अवस्था बन्छ,’ उनको चेतावनी थियो, ‘त्यो विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्छ ।’

तर पार्टी सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन नहुने स्पष्ट अभिव्यक्ति दिएका छन् । मंगलबार महाराजगञ्जस्थित निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ । त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’

यसैबीच कांग्रेसमा इतर समूहको नेतृव गर्दै आएका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्नेमा जोड दिएका छन् । मेलमिलाप दिवसको अवसरमा बुधबार सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्त पारेर निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

‘जसरी बीपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगन्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धीको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन,’ कोइरालाले भनेका छन् ।

आज पाँच दशकपछि फेरि बीपीको विचारलाई एकपटक मन, वचन र कर्मले मनन गर्नुपर्ने अवस्था आएको भन्दै कोइरालाले कांग्रेसमात्र नभएर सम्पूर्ण नेपालीहरूको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको बताएका छन् ।

१६ पुस २०३३ मा कांग्रेसका संस्थापक नेतासमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरू खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेता–कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

तत्कालीन सन्दर्भमा राष्ट्रियता रक्षाका लागि बीपीले चालेको यो कदम अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनेर व्याख्या गरिन्छ । तर, अरुलाई मेलमिलाप र सदभावको सन्देश दिने नेपाली कांग्रेस आफैं गुटबन्दी, विवाद र ध्रुवीकरणमा अल्झिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?