News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्दा विवाद भएपछि सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङले स्पष्टीकरण दिएका छन्।
- रास्वपाले ११० उम्मेदवारको सूची तीन पक्षबाट संकलन गरी पेश गरेको र प्रारम्भिक मतदानमा शीर्ष स्थानमा रहेका केही उम्मेदवारलाई सूचीबाट हटाइएको आरोप लागेको छ।
- सभापति लामिछानेले विधिभन्दा बाहिरबाट उम्मेदवार समावेश भए फिर्ता गरिने र सूचीमा देखिएका प्राविधिक त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकको मर्म विपरीत उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको भन्दै चौतर्फी प्रश्न उठेपछि मूल नेतृत्व सहित शीर्ष तहका नेताले स्पष्टीकरण दिएका छन् ।
तीन पक्षबाट संकलन गरेर निर्वाचन आयोगमा पेश गरेका कतिपय नाममा पार्टीभित्र र बाहिरबाट रास्वपाको आलोचना भएको छ । रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट नामहरू संकलित गरेर ११० उम्मेदवारको बन्दसूची पेश गरिएको छ । तीन पक्षबाट नै पेश भएका कतिपय नाममा विरोध भइरहेको छ ।
चौतर्फी विरोध भएपछि रास्वपाका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङले स्पष्टीकरण दिएका छन् । रास्वपातर्फबाट पेश भएका नामहरूमा प्रारम्भिक मतदानबाट शीर्ष स्थानमा आएकालाई हटाएर सभापति रविले आफू निकटलाई स्थान दिएको आरोप लागेको छ ।
कुलमानले परिवारवादलाई प्रश्रय दिएको पार्टीभित्रैबाट प्रश्न उठेको छ । बालेन पक्षबाट समावेश भएका नामहरूमा ‘पहुँचवाला’लाई स्थान दिएको भन्दै विरोध भएको छ ।
पोखरामा बुधबार सञ्चारकर्मीसँग रास्वपा सभापति लामिछानेले केही समस्या भएको र हुनसक्ने भए त्यसमा पुनरावलोकन गरिने बताए । ‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्छौं । हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भनेका छन् ।
प्रारम्भिक मतदानमा पहिलो स्थानको मत ल्याएको तर सूचीको समावेश नगरेको भन्दै सूचीप्रति आपत्ति जनाइएको छ । आदिवासी जनजातिमा पहिलो स्थानको मत ल्याएका उत्तमबहादुर गुरुङ र दलिततर्फ सर्वाधिक मत प्राप्त गर्ने विजय जैरु बन्द सूचीमा अटेनन् । खसआर्य महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी रञ्जु दर्शना १० औं नम्बरमा परेकी छन् । जनजातितर्फ डा.राम लामाको नाम पहिलो नम्बरमा राखिएको छ ।
खस आर्यतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईं उक्त क्लष्टरमा पहिलो स्थानमा राखिएको छैन । खस आर्यको पहिलो स्थानमा सहमहामन्त्री विपिनकुमार आचार्यको नाम समावेश छ । खस आर्यमा महिलातर्फ सहप्रवक्ता प्रतिभा रावलको नाम छ ।
विधिभन्दा बाहिरबाट उम्मेदवार समावेश रहेको भए फिर्ता गरिने समेत रास्वपा सभापति लामिछानेले बताएका छन् । उनी भन्छन्, ‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन । कथंकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

रास्वपामा पहिलो वरीयताको उपसभापति पद लिएर उज्यालो नेपाल पार्टीलाई समायोजित गरेका कुलमानले समानुपातिकका नाममा आफन्तलाई प्रश्रय दिएको आरोप लागेको छ । आदिवासी जनजाति क्लष्टरमा पहिलो नम्बरमा रहेका डा. राम लामा कुलमानको भाञ्जा रहेको भन्दै उनको आलोचना भएको थियो । । उक्त विषयमा उज्यालो नेपालको मंगलबार राति बसेको बैठकमा समेत चर्चा भएको थियो ।
‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति (राम लामा) मेरो भान्जा होइनन्,’ कुलमानले बुधबार स्पष्ट पारेका छन् ।
उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार जनजातिको क्लष्टरमा पहिलो नम्बरमा रहेका डा. राम लामा काठमाडौं महानगरका मेयर बालेन पक्षबाट समावेश गरेको दाबी गरेका छन् । आदिवासी जनजाति क्लष्टरमा परेका अर्का व्यक्ति धर्मलाल तामाङको नाममा समेत आलोचना भएको थियो ।
कुलमानको नातामा ससुरा पर्ने भएको हुँदा बन्दसूचीमा राखेको चर्चा चलेको थियो । त्यस बारे कुलमान भन्छन्,‘समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’ सार्वजनिक सेवाम प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको कुलमानले प्रष्टीकरण दिएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुलाई बन्दसूची संशोधन गर्न सकिने व्यवस्था छ । बन्द सूची संशोधन गरी पेश गर्ने समयावधि पुस २१ देखि २७ गतेसम्मका लागि तोकिएको छ । उम्मेदवार स्वयंले नाम फिर्ता लिन इच्छुक रहे पुस २८ गतेका लागि समय उपलब्ध गराइएको छ ।
बन्दसूचीमा प्राविधिक त्रुटी रहे सच्याउने प्रतिवद्दता सभापति लामिछाने एवं ऊर्जामन्त्री कुलमानले गरेका छन् । कुलमान भन्छन्, ‘बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’ बन्दसूचीको नाम तय गर्दा समयको हतार पनि रहेको सभापति लामिछानेले बताएका छन् । उनी भन्छन्, ‘हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । हामीलाई तयारीमा समय नपुगेको जरुर हो ।’
बन्द सूची पेश गर्नका लागि निर्वाचन आयोग पुगेका रास्वपा नेता गणेश पराजुलीले पेश भएका नाममा त्रुटी भए सच्याउने बताएका छन् । तीन पक्षीय सहमतिको कार्यमा लाग्दा सूची बनाउँदा हतार भएको पराजुली बताउँछन् । पराजुली भन्छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन् । सुशासन र विधि हाम्रो जग हो ।’
रवि र कुलमानले यस्ता अभिव्यक्ति सार्वजनिक गरेसँगै रास्वपा सचिवालयले साँझ विज्ञप्ति नै जारी गरेर समानुपातिकको सूची संशोधन गर्ने बताएको छ ।
विज्ञप्ति जारी गर्दै प्रवक्ता मनिष झाले भनेका छन्, ‘राजनीतिक संवादहरू हुँदै थियो, सूची पटकपटक फेरबदल गर्नुपर्ने अवस्थामा समय अभावको कारण समानुपतिक सूची तयार गर्दा केही त्रुटिहरू भएका छन् र यसलाई सच्याउन पार्टी तयार छ ।’
तीन पक्षबाट संकलित भई पेश भएका नामहरुमा आवश्यक संशोधन गर्ने प्रतिवद्दता रवि र कुलमानले जनाएपनि अर्को पक्ष बालेन भने यस बारेमा हालसम्म मुख खोलेका छैनन् ।
प्रतिक्रिया 4