+
+
Shares

भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेको भन्दै सर्लाही कांग्रेसले जनायो विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ९:०७

१७ पुस, काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ ।

कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् ।

उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् ।

केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ ।

पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा यस्ता निर्णयले पार्टी संगठनलाई थप क्षति पुग्ने चेतावनी दिइएको छ । पार्टीका लागि दिन–रात खटिएका, पार्टीकै नाममा जीवन समर्पण गरेका कार्यकर्ताको भावना कुल्चिएको तथा पहुँच, पावर र पैसाको भरमा नाम सिफारिस भएको आरोप पनि लगाइएको छ ।

सर्लाही कांग्रेसले यस्ता नामहरू तुरुन्त सच्याउन र आगामी दिनमा अवसरवादी व्यक्तिहरूलाई पहिचान गरी सिफारिस नगर्न आग्रह गरेको छ । साथै, जिल्लामा बसेर लामो समयदेखि संगठनमा योगदान दिएका कार्यकर्तालाई प्राथमिकताका साथ सिफारिस गर्न समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?