+
+
Shares

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १७:३६
फाइल तस्वीर

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको  समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो ।

लिम्बूले लेखेका छन्, ‘…उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’

नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको पनि उनले बताएका छन् ।

तर, एकता र ध्रुवीकरणको चरणमा एकताबाट आएकाहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष भएकाले आफूले नाम फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् ।

‘नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्द सूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ,’ उनले लेखेका छन् ।

यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय भएको उनको दाबी छ ।

राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र नभएर विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘म यसै यात्रामा अघि बढेको छु । यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु ।’

समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा रास्वपाले प्राइमरी इलेक्सन गरेको थियो । त्यस क्रममा अत्याधिक मत प्राप्त भएको भनेर उनले प्राइमरी इलेक्सनमा मत दिनेहरूप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा लिम्बू इलाम निर्वाचन क्षेत्रनम्बर २ मा प्रत्यक्षतर्फ भएको उम्मेदवार थिए । त्यसबेला उनी चौथो भएका थिए ।

एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा ५ हजार ५० मत पाएका लिम्बूको जमानत जफत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?