News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसभित्रको विवादमा विशेष महाधिवेशन अपरिहार्य भएको बताएकी छन्।
- उनले नियमित महाधिवेशन रोज्नेहरूले जेनजी आन्दोलनलाई अस्वीकार गरिरहेको र यथास्थितिवादले देशलाई मास डिप्रेसनमा पुर्याउने खतरा देखाएको उल्लेख गरिन्।
- रक्षा बमले भदौ २३ को घटनालाई परिवर्तनको माग भएको र अहिलेको चुनाव दैलोमा मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताएकी छन्।
२२ पुस, काठमाडौं । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसभित्रको अहिलेको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् । केहीदिनअघि मात्रै कांग्रेस महामन्त्री गगनकुमार थापासँग भेटेकी उनले कांग्रेसको नियमित महाधिवेशन रोज्नेहरूले जेनजी आन्दोलनलाई अस्वीकार गरिरहेको बताएकी हुन् ।
‘नियमिततामा ब्रेक त भदौ २३ मै लागेको थियो, जब तपाईंहरूका पार्टीका गृहमन्त्री सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको थियो। त्यसपछि नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ। र अहिले हामी चुनावको संघारमा छौँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘भदौ २३ यत्तिकै आएको थिएन। लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम थियो भदौ २३ । जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली कांग्रेस पनि भएकै हो । हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौँ/छौँ।’
उनले पार्टीभित्र नियमित कि विशेष महाधिवेशन भन्ने विषयमा नेताहरू भाँडिएकोबारे भनेकी छन्, ‘यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै जेनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।उहाँहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ ।’
उनले नियमित महाधिवेशन भन्ने कांग्रेसी नेताहरूले देशलाई मास डिप्रेसनमा पुर्याउने खतरा देखिरहेको भनेकी छन् ।
‘परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका छन्। देशको युवापुस्ता घाइते भएको छ।निराशाको लामो औँसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्याउने खतरा हामी देखिरहेका छौँ,’ उनले भनेकी भन्, ‘नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ । आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ।अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ।हामी त्यो हेर्न पर्खिरहेका छौँ।’
उनले आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक भएको र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य भएको पनि बताएकी छन् ।
‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ,’ उनले अगाडि भनेकी छन्, ‘तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ, र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्।’
प्रतिक्रिया 4