काठमाडौं । मानवअधिकारवादी संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) ले इरानमा जारी प्रदर्शनका दौरान ३६ जनाको मृत्यु भइसकेको जनाएको छ ।
एचआरएएनएले इरानमा विगत १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा पनि ३६ जनाको मृत्यु भइसकेको जनाएको हो ।
इरानभन्दा बाहिर रहेको संगठन एचआरएएनएका अनुसार मृत्यु हुनेमा ३४ प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी रहेका छन् ।
इरानी अधिकारीले भने अहिलेसम्म मृत्युको कुनै आधिकारिक आंकडा जारी नगरेको बीबीसीले जनाएको छ ।
यद्यपि, उनीहरूले सुरक्षा बलका तीन जवान मारिएको प्रतिक्रिया भने दिएका छन् ।
बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र उनीहरूको सनाखत भएको पुष्टि गरिसकेको छ ।
एचआरएएनएका अनुसार हिंसाका दौरान ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । दुई हजार ७६ जनालाई गिरफतार गरिएको छ ।
आर्थिक संकट चुलिन थालेपछि सुरू भएको विरोध प्रदर्शन इरानका ३१ मध्ये २७ प्रान्तहरूमा फैलिसकेको छ ।
प्रतिक्रिया 4